बैतडी । बैतडीमा नेपाली काँग्रेसको वडा तहको अधिवेशन आज हुँदै छ ।
देशका अधिकांश जिल्लामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु भएको भए पनि आवश्यक तयारी नपुगेको भन्दै बैतडीमा भने निर्धारित मितिभन्दा हुन लागेको हो ।
आज भदौ २१ गते वडा अधिवेशन गर्ने यसअघिको निर्णय अनुसार जिल्लाका ८४ वटै वडामा अधिवेशन हुन लागेको बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए । उनले भने,’सबै वडामा आज अधिवेशन हुन्छ, धेरैमा सर्वसम्मत हुन्छन् ।’
वडादेखि जिल्ला स्तरसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास जारी रहेको नेपाली काँग्रेस बैतडीका सचिव वीरवहादुर विष्टले बताए ।
काँग्रेस बैतडीको पहिलो प्राथमिकता सर्वसम्मत रुपमा नेतृत्व चयन हुनपर्छ भन्ने हो,सोहीअनुसारको कसरत जारी रहेको विष्टको भनाई छ । उनले भने,’सबै तहमा सर्वसम्मत चयनका लागि प्रयास हुनेछ, त्यसो हुन नसेके लोकतान्त्रिक विधि प्रक्रियाअनुसार चुनावमा जानेछौँ ।’
निर्वाचन अधिकृत पुष्पराज जोशी जिल्ला आइसेकेपछि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त भइसकेका छन् । मतदान अधिकृत नियुक्त गरी उनीहरुलाई आवश्यक प्रशिक्षण तथा मतदान सामग्रीहरु दिएर सम्बन्धित केन्द्र खटाइसकिएको छ ।
यसका साथै उनीहरुलाई मतदान सामग्रीहरु समेत उपलब्ध गराइने छ । यस्तै क्रियाशील सदस्यतामा कुनै त्रुटि भएमा सच्याउन पाउने अधिकार वडाका मतदान अधिकृतलाई दिइएको छ । बैतडीका ६ हजार ६ सय क्रियाशील सदस्य रहेका छन् ।