काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् ।
बुधबार (आज) निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफूहरुको अभियानमा सामेल हुन चाहेनेहरुको लागि ढोका खुलै रहेको बताइन् ।
उनले भनिन्,‘हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो । हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका ओपन नै राख्नुपर्छ ।’
नेतृ झाँक्रीले निर्वाचन आयोगले दिल्लीमा उपचाररत नेता झलनाथ खनाललाई पनि सनाखतको अवसर दिने आशा राखेकी छन् । नयाँ दल गठन गर्दा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था भए पनि विगतको अभ्यास अनुसार कानुन व्यवसायी मार्फत सनाखत गर्न दिनुपर्ने उनको भनाइ रहेको छ ।