तिलोत्तमाका किसानलाई कृषि उपकरण सहयोग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तिलोत्तमाका किसानलाई कृषि उपकरण सहयोग


४ भाद्र २०७८, शुक्रबार


रुपन्देही । तिलोत्तमा नगरपालिकामा सञ्चालित व्यावसायिक आलु उत्पादन, बीज वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजनाले किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेको छ । नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकार्यमा यो परियोजना सञ्चालनमा छ ।

परियोजनाले यसअघि नै किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरेकामा पछिल्लोपटक धान काट्ने, आलु लगाउने, च्याउ बनाउने मेसिन सहयोग गरेको हो । किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गराउन विभिन्न कृषि उपकरण सहयोग गरिएको परियोजनाले जनाएको छ ।

पछिल्लोपटक परियोजनाले वडा नं ११ स्थित लालीगुराँस च्याउ उत्पादक कृषक समूह, वडा नं १२ स्थित बुद्धभूमि तरकारी उत्पादक कृषक समूह र वडा नं १० स्थित सेमराबजार आलु उत्पादक कृषक समूहलाई विभिन्न कृषि उपकरण सहयोग गरेको हो । लालीगुराँसलाई च्याउ बनाउने स्टिमर र बलमेकर मेसिन, बुद्धभूमिलाई धान काट्ने मेसिन र सेमराबजारलाई आलु लगाउने डिगर मेसिन सहयोग गरिएको परियोजनाले जनाएको छ ।

किसान समूहलाई कृषि सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणका लागि यान्त्रिकीकरण अपरिहार्य रहेकाले परियोजनाअन्तर्गत किसानलाई विभिन्न कृषि उपकरण सहयोग गरिएको बताए ।

कोरोना महामारीले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सो नगरपालिकामा गत वर्षदेखि व्यावसायिक आलु उत्पादन, बीउ वृद्धि तथा व्यावसायिक तरकारी खेती परियोजना सुरु गरिएको हो । परियोजनाअन्तर्गत गत वर्ष झण्डै ६५ बिघामा बीउ वृद्धिका लागि आलुखेती गरिएको थियो । उत्पादित आलु यस वर्ष बीउका रूपमा प्रयोग गर्ने गरी शीतभण्डारमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस