गण्डकी । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुई जना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ ।
महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहु प्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई निःशुल्क पढाउने भएको हो ।
महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत दुई जना छात्रालाई निःशुल्क पढाइने व्यवस्था मिलाइएको बहु प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार अध्ययनका लागि आवेदन दिएपछि एसइई र कक्षा ८ को नतिजाको आधारमा छात्रा छनोट गरिने व्यवस्था छ ।
महानगरपालिकाले गत वर्षदेखि पोखरा २९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहु प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको पढाइ हुँदै आएको छ । त्यसैगरि पोखरा महानगरपालिका–१९ ले यो वर्ष एसइई उत्तीर्णमध्ये एक जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । वडाध्यक्ष शोभामोहन पौडेलका अनुसार वडाभित्र एसइई उत्तीर्णमध्ये गरिब तथा जेहेन्दार एक जनालाई बहु प्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको हो ।
पोखरा महानगरपालिका–३० ले पनि थप एक जना छात्रालाई वडाको खर्चमा अध्ययन गराउने भएको वडा नं ३० का अध्यक्ष श्रीराम पोखरेलले बताए । शिक्षालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करिब २२० जना सहभागी भइसकेका छन् ।