काठमाडौँ । दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ ।
नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जित्नुभएका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो ।
राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उनले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जितेका थिए। उनका श्रीमती र एक छोरा छन् ।