त्रिविका परीक्षा नियमित सञ्चालन हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

त्रिविका परीक्षा नियमित सञ्चालन हुने


२५ श्रावण २०७८, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित सञ्चालन हुने भएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै भदौ ५ गते सम्मका परीक्षा सुचारु रूपले सञ्चालन गरिने र त्यसपछिका परीक्षा परिस्थिति हेरेर निर्णय गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

हाल त्रिभुवन विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । साउन २८ गतेसम्म स्नातक तहको परीक्षा सकिँदै छ । करिब २० महिनापछि स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालन गरिएको हो ।

स्नातकोत्तर तहका विभिन्न संकायका सेमेस्टर प्रणाली अन्तर्गतका परीक्षा पनि सञ्चालनमा छन् ।

शिक्षा र विज्ञान संकायका परीक्षा भने सकिएका छन् । व्यवस्थापन संकायको स्नातक तह प्रथम वर्षको परीक्षा साउन २२ गते सकिएको छ । अब केही विषयको परीक्षा मात्रै बाँकी रहेकोले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ परीक्षा सञ्चालन गर्न विश्वविद्यालयलाई अनुमति दिइएको बताइएको छ ।

भदौ ५ गतेपछि सञ्चालन गरिने परीक्षाका लागि भने कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी निर्णय गरिने छ ।

भदौ ११ गतेदेखि एलएलबी प्रथम वर्षको परीक्षा कार्यक्रम राखिएको छ । भदौ २७ देखि एलएलबी दोस्रो वर्षको परीक्षा कार्यक्रम राखिएको छ ।

त्यसैगरी भदौ २५ गतेदेखि स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा सञ्चालन गर्ने तयारी रहेको बताइएको छ । यसबारे अवस्था हेरेर तालिका सार्वजनिक गर्ने तयारी विश्वविद्यालयको छ ।

राष्ट्रिय परीक्षा बोर्डले भने साउन ३१ गतेदेखि सञ्चालन गरिने पूर्व घोषित कक्षा १२ को परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरिसकेको छ । कक्षा १२ को परीक्षा सञ्चालन गर्न पुनः सूचना प्रकाशित गरी जानकारी दिइन बोर्डले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस