प्रधानमन्त्रीसँग परिसङ्घ पदाधिकारीको भेट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीसँग परिसङ्घ पदाधिकारीको भेट


२१ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री शरबहादुर देउवासँग भेट गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री देउवाले परिसङ्घका धारणालाई सकारात्मकरूपमा लिनुहुँदै निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताए ।

भेटमा परिसङ्घका अध्यक्ष अग्रवालले जनजीवन सामान्य बनाउन र अर्थतन्त्रमा गतिशीलता दिन सबैलाई खोपको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले कोभिडको भ्याक्सिन वितरणमा उद्योगी व्यवसायी र उद्योग व्यवसायमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राख्न आग्रह पनि गरे ।

कोभिड– १९ को तेस्रो लहरको जोखिम बढ्दै जाँदा अस्पताल, अक्सिजनलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनमा जटिलता बढ्न सक्ने भएकाले अहिलेदेखै नै अक्सिजन प्लान्ट, सिलिन्डर र अस्पतालको चुस्त व्यवस्थापनका लागि पनि उनले आग्रह गरे ।

उत्पादनमुखी अर्थतन्त्र अहिलेको अपरिहार्य आवश्यकता हो भन्दै अध्यक्ष अग्रवालले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल– स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी गराए ।

यसैगरी अग्रवालले नेपाल विद्युत् प्राधिकरणले छुट बिलका नाममा उद्योगी व्यवसायीलाई त्रसित बनाउने गरी बक्यौता भुक्तानीका लागि पत्राचार गरेको र हाल आएर सो को बक्यौता उठाउन ताकेता गरिरहेको भन्दै डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

अग्रवालले गत वर्ष मौद्रिक नीतिले तरलता व्यवस्थापन र एकल दरको ब्याजदर कायम राख्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै यस वर्ष पनि अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रका लागि आवश्यक तरलता व्यवस्थापन र ब्याजदर वृद्धि रोक्ने गरी मौद्रिक नीति आउनेमा आफूहरू विश्वस्त रहेको उल्लेख गरे।

उनले पर्यटन, हवाई उड्डयन, साना तथा मझौला व्यवसायलगायतका क्षेत्रमा कोभिडको ठूलो असर परेको बताउँदै ती व्यवसायलाई पुनःजिवित गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ठूलो सहयोग आवश्यक पर्ने उल्लेख गरे ।

परिसङ्घले ह्विलिङ चार्ज तिरेर विद्युत् आपूर्ति गर्न पाउने विषय नीतिगतरूपमा सम्बोधन भए पनि त्यसको कार्यान्वयनका लागि कानूनी व्यवस्था गर्न पनि जोड दिएको छ ।

भेटमा परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, महानिर्देशक यादवप्रसाद पौड्याल र निर्देशक सविन मिश्रको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस