सत्यको विनिर्माण « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

सत्यको विनिर्माण


१० श्रावण २०७८, आइतबार


सत्य के हो ? यसलाई कसरी प्राप्त गर्ने ? मानव जाती सुरुवात देखि मानिस यसैको खोजीमा छ तर पनि जान्न बाँकी यही प्रश्न छ । युवल नोहा हरारीको सेपियन्सले पनि यही सोच्थ्यो होला । २१ ‍औँ शताब्दीको मानिसले पनि यसैलाई खोजिरहेछ । भौतिक र प्रविधि विकासले संसारमा बाहिरी विकास त भयो तर सत्यका बारेमा एकमत देखिएन । योगी एवम् ऋर्षिहरुको प्रवचन सत्य र यसैको खोजीमा केन्द्रित छन् । समग्र मानव इतिहास नै यही प्रश्नको सेरोफेरोमा केन्द्रित छ भन्दा हुन्छ । तर पनि मानिस सत्यको बारेमा जानकार छैन । अथक प्रयासपछि मानिसलाई केही त प्राप्त हुन्छ,अनि पुन नयाँ अनुत्तरित प्रश्न मानिसका अगाडि तेर्सिन आइपुग्छ । मानव जीवन रहेसम्म शायद सत्य खोज्ने कार्य रहिरहन्छ । सत्य खोज्ने यात्रामा बिराम लाग्दैन जस्तो छ ।

सत्य के हो ?
साँचो बोल्नु सत्य हो । त्यसो भए साँचो केलाइ मान्ने ? नेपाली बृहत् शब्दकोशले सत्यलाई जस्तो हुनुपर्छ त्यस्तै, सन्देह नभएको, साँचो, सच्चा, वास्तविक, यथार्थ, पत्याउन सकिने, विश्वस्त, इमानदार, सद्गुण सम्पन्न, धर्मात्मा, वास्तविकता वा प्रमाणिक सिद्धान्त भनेर अर्थ्याएको छ । यसैसँग जोडिएको वास्तविक शब्दलाई वास्तविक हुने, अस्तित्व वा तथ्यपूर्ण, जस्ताको तस्तो, सत्य, साँचो भनेर उल्लेख गरेको छ । अंग्रजी शब्दकोशमा ट्रयूथलाइ गुड, सिनसिअर, अनेस्टजस्ता शब्दबाट जनाइएको छ । अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले द ट्रयू फ्याक्ट्स एबाउट समथिङ् र्यादर देन द्याट ह्याभ बीन इनभेन्टेड अर गेस्ड, द क्वालिटि अर स्टेट अफ बीइङ् बेस्ड अन फ्याक्टस् भनेर अर्थ्याएको छ ।

अध्यात्मवादीहरुले सत्यलाई रिलिजनसँग होइन धर्मसँग जोडे । पूर्वीय सनातन पद्धतिमा धर्म शब्दले रिलिजनभन्दा धेरै व्यापक अर्थ दिन्छ । यही धर्म र सत्यलाई जोडेर मानिसका लागि आचारसंहिता तयार गरियो । सत्यवादी हुनु र धार्मिक हुनु एक अर्काका पर्यायवाची जस्तै बने । यहाँ सत्य र धर्मले इमानदारिता माग्छ, अनुशासन माग्छ, त्याग र निष्ठा माग्छ, स्वअनुशासनमा रहनुपर्छ भन्छ ।

२०७८ असार १२ शनिवार हरेकपल भन्ने अनलाइनमा सत्यका बारेमा वाल्मीकिको भनाइलाई सो दिनको नीति बचनकोरूपमा स्वीकार गरेको देखिन्छ । वाल्मीकिले सत्यलाई यसरी भनेः ‘सत्यमेवेश्वरो लोके सत्ये धर्मः सदाश्रितः ।सत्यमूलनि सर्वाणि सत्यान्नास्ति परं पदम् ।।’ अर्थात् सत्य नै ईश्वर हुन् । धर्म पनि सत्यमै आश्रित छ । सत्य नै समस्त भव विभवको मूल हो । सत्यभन्दा माथि अरू केही छैन ।

बुद्धले सापेक्षित वा परम्परा सत्य र अन्तिम सत्य भनेर यसलाई दुई भागमा बाँडे । व्यक्तिले बुझ्ने र व्यवहारिक अभ्यास गर्ने कार्यलाई सापेक्षित सत्य भनेका छन् भने अन्तिम सत्य भनेको दिव्य ज्ञान प्राप्त गर्नु हो भनेर बताएका छन् ।

मानव समाज सुरुमा रिलिजनबाट गभर्न थियो । कतिपय सन्दर्भमा अहिले पनि छ । पश्चिमा समाज पनि इपूको छैठौँ शताब्दीसम्म रिलिजनबाट नै गभर्न थियो । निर्देशित थियो । यसपश्चात् उनीहरूले रिलिजन र विज्ञानलाई अलग अलगरूपमा लिई अगाडि बढे । उनीहरूले रिलिजनका मत तथा मान्यताहरुलाइ जीवन पद्धतिमा राख्दै विज्ञानसम्मत मान्यताहरुलाइ पनि सत्य मानेर अगाडि बढे । उनीहरूले धेरै मात्रामा विज्ञान सम्मत ज्ञान र तथ्यलाई सत्य मान्दै गए । ओशोले विज्ञानलाई शक्ति र धर्मलाई शान्तिसँग जोडेर अर्थ लगाएका छन् । उनका अनुसार विज्ञानले सत्यको खोजी गर्छ भने धर्मले सत्यको अनुभव गराउँछ ।

समाजशास्त्रीहरु समाजमा निर्माण गरेको ज्ञानलाई सत्य मान्नुपर्ने तर्क गर्छन् । उनीहरूका अनुसार सत्य निरपेक्ष नभई परिवेश, समाज र समयसापेक्ष हुन्छ । यो बनाइएको हुन्छ । समयसँगै यसको निर्माण र विनिर्माण हुँदै जान्छ ।

फेरी प्रश्न उठ्छ कि साँचो र झुट भन्ने विषय निरपेक्ष हुन्छन् कि सापेक्ष त ? सत्यको नजिक पुग्नका लागि यसका बारेमा थप बहस आवश्यक पर्छ नै ।

महाभारतमा युधिष्ठिरलाई सत्यको बिम्बको रूपमा उभ्याइएको छ । एउटा मात्र झुठ बोल्दा महाभारत युद्ध जित्ने सम्भावना छ भन्दा पनि उनी उक्त झुठ बोल्न सहमत भएनन् । अन्तमा द्वैध अर्थ लाग्ने वाक्य बोल्न बाध्य बनाइए । झुठ नबोल्ने र सधैँ सत्यको पक्षमा रहने भएकोले हुनसक्छ उनलाई धर्मराज नामले पुकारिन्थ्यो र अहिले पनि सोही नामबाट पुकार्ने गरिन्छ । यसैगरी राजा हरिश्चन्द्रका नामको अगाडि पनि सत्यवादी उपनाम दिइयो । यिनीहरू कहिल्यै पनि जूठको सहारा लिएनन् भनिन्छ । यस मतका अनुसार साँचो बोल्नु वा सतमा रहनु नै सत्य हो ।

शुकराततर्कमा विश्वास गर्थे । उनका अनुसार सत्य पनि यही तर्कको सहायताबाट पत्ता लाग्छ । तर यस्ता तर्कमा सङ्गति चाहिन्छ । तर्कमा प्रयोग गरिएका वा ल्याएका सबै तर्क सङ्गतिपूर्ण नहुन पनि सक्छन् । यीनलाइसत्य मान्न पनि नसकिने हुनसक्छ । उनका अनुसार आम सर्वसाधारण माथि थोपरिएको सूचना (अ)सत्य हुनसक्छ ।

मिसेल फुकोले सत्ताले सत्य निर्माण गर्छ भन्थे,उनले भनेको सत्ता राजनैतिक सत्ता मात्र होइन होला। समाजका हरेक कोणमा संस्थापन पक्ष छ त। आखिर त्यही संस्थापन पक्षले उपलब्ध गराएको सत्य स्वीकार गर्न बाध्य हुने हुन सर्वसाधारणआमनागरिक । यो अवस्था भनेको शायद बलियाको मतलाइ मान्न बाध्य पार्ने अवस्था होला ।

खगेन्द्र सङ्ग्रौलाले अनुवाद गरेको ‘सत्ता र सत्य’ पुस्तकमा समावेश गरेका १३ ओटा लेखमध्ये एउटा लेख ब्रतोल्ट ब्रेख्तको ‘सत्य कुरा लेख्दा आइलाग्ने पाँच कठिनाइ’ भन्ने शीर्षकमा छ । उनको यस लेखबाट सत्य के हो भन्ने विषयमा फरक ढङ्गबाट सोच्न बाध्य बनाउँछ । ब्रेख्त लेख्छन् ‘ज्ञान वा शिक्षा बिनाको मानिस अध्ययन गरेको मानिसभन्दा उत्तम हो भनेर प्रत्येक रेडियो स्टेशनले चिच्याइरहेको बेला कसका लागि उत्तम ? भनेर सोध्न साहस चाहिन्छ’ । उनका अनुसार सत्य निरपेक्ष ढङ्गबाट व्याख्या गर्न सकिदैन् ।

सत्य र साँचोलाई जोडेर सत्यको अर्थ खोजेजस्तै सत्य र असत्यलाई जोडेर सत्यको अर्थ खोज्ने उपाय पनि हुनसक्छ । त्यसो भए असत्य के हो ? निश्चित मानकभन्दा फरक वा तलको अवस्था असत्य हो । मानक कसले बनाउँछ ?उत्तर सरल छ, जो शक्तिमा छ उसैले बनाउँछ । त्यसो भए सत्य र असत्य भन्ने विषय अझ सापेक्षित हुने देखियो । जहाँ सुकैको समाजमा पनि जे असत्य छ त्यसलाई हटाउने हो भने सत्य प्राप्त हुन्छ भन्न सकिन्छ । असत्य के हो ?भन्नेमा स्थान र परिवेश अनुसार फरक फरक हुनसक्छ ।

१८ जून २०२१ मा द न्यूयोर्क टाइम्समा स्पेन्सर बोकाट लिन्डेलको ‘स्टप सेइङ पोष्ट प्यान्डेमिक’ भन्ने शीर्षकमा बलियाले कसरी सत्यलाई तोडमोड गर्छ भन्ने दृष्टान्त पाइन्छ । उनले विकसित मुलुकमा खोपको मात्रा पुग्यो, उनीहरूका लक्षित समूहले खोप लगाइसके । अहिले उनीहरू यस संसारलाई पोष्ट प्यान्डेमिक भनेर लेख्न थालेका छन् । यसको ठिक विपरीत गरिब मुलुकमा कोभिड १९ को महामारी छ, मानिसहरू मरिरहेका छन् । तर विकसित मुलुकले भने भन्दैमा यिनीहरूले पनि पोष्टपेन्डेमिक भनेर लेख्न थाली सके । जतासुकै यसैको बिगबिगी छ । शायद मिशेल फुकोले भनेको सत्ताले सत्य निर्माण गर्छ भनेको पनि यही होला ।

यसैगरी जुलाई ३-४, २०२१ को द न्युयोर्क टाइम्समा डेभिड व्रुक्सले ‘दिस इज हाउ ट्रुथ डाइज इन द युएस’शीर्षकमा ‘सत्य’को बारेमा सान्दर्भिक भनाइ राखेका छन् । उनका अनुसार सत्य खोतल्न दुई खालका ज्ञान उपयोगी हुन्छन् । पहिलो खालको ज्ञान हामी आफैले भन्दै आएको भाष्य, कथा वा उपकथाको माध्यमबाट प्रवाहित हुन्छ । यस्तो ज्ञान तथ्यमा आधारित नहुन पनि सक्छ । हाम्रो आफ्नै ‘मोरल फ्रेम वर्क’ले यसलाई ग्रहण गर्ने, बुझ्ने र व्याख्या गर्ने गर्छ । दोस्रो सत्य खोतल्नका लागि तर्क, प्रमाण र विश्लेषण चाहिन्छ । व्रुक्सको शब्दमा भन्दा ज्ञानको खोजी ‘रिजन,लजिकल प्रुफ र टाइट एनालाइसिस’बाट हुनसक्छ ।

पहिलो खालको तरिकाबाट खोजिने सत्य व्यक्तिअनुसार आ-आफ्नै खालको हुनसक्छ । यसबाट व्यक्ति, समाज हुँदै मुलुकसम्म साझा पहिचान, मूल्य मान्यता र साझा गन्तव्य तय हुन सक्छ । शायद विविधतामा एकता भनेको पनि यही नै होला । दोस्रो खालको तरिका पनि उस्तै छ त । यसबाट सधैँ सत्य उजागर हुन्छ भन्ने पनि छैन । तथ्यलाई तोडमोड गर्दा अर्कै नतिजा आउन पनि सक्छ । दुवै खालका तरिका एकलका साथसाथै संयुक्त प्रक्रिया पनि हुन । यसलाई व्रुक्सले कलेक्टिभ प्रोसेस भनेका छन् ।पहिलो तरिकाबाट खोजिएको सत्यमा निरन्तरता हुन सक्छ भने दोस्रो अलि चलायमान देखिन्छ । तर दुवै तरिका उपयोगी हुन सक्छन् । पहिलो तरिकाबाट खोजिएको वा बताइएको सत्यले भावनात्मक रूपमा राष्ट्रिय भाष्य स्थापना गर्छ, सृजना गर्छ जसले सबैलाई एक स्थानमा बाँधेर राख्छ ।(“This is how truth dies in US” by David Brooks, in The New York Times International Edition 3-4 July 2021)

सत्यको खोजी गर्न वा यसलाई अर्थ लगाउन त्यति सजिलो छैन । साँचो बोल्नु सत्य हो । असत्य नगर्नु नै सत्य हो । यसलाई मानिसका सोच र दर्शनले प्रभाव पार्ने रहेछन् । मानव इतिहासको विभिन्न कालखण्ड र समय परिवेशले मानिसका विश्वास एवम् मान्यता बनाउने, भत्काउने र पुन बनाउने भएकोले सत्यको खोजी गर्ने कार्य सजिलो छैन। समय बित्दै जाँदा यसको भाष्यमा पनि परिवर्तन आउन सक्ने देखियो त ।

के सत्य पत्ता लगाउन सकिँदैन त ?
सत्य पत्ता लगाउने भन्दा पनि यसको नजिक पुग्ने मात्र हो । यसका लागि निरन्तरको यात्रा आवश्यक हुन्छ । ओशोले मानिसको अनुभवसँग सत्यलाई जोडन खोजे । अनुभवको अनुपस्थितिमा सत्यको कल्पना गर्न सकिँदैन । उनका अनुसार सत्य मानिसको अनुभवमा आधारित हुन्छ । उनले अझ अगाडि भन्छन् ‘सत्यको बारेमा शास्त्रमा लेख्न सकिँदैन, जसले शास्त्रको बारेमा बोलेका छन् सो सत्य छैन,असत्य हो । मान्यताले सत्यलाई गलत तरिकाले बुझायो, सम्प्रदायले सत्यलाई थप भड्कायो’ । उनका अनुसार सत्यको परिभाषा अनुभव सापेक्षित छ । यसको पूर्ण रूपलाई धारणा गर्न सकिँदैन । सत्य अपरिभाष्य र अर्निवचनिय हुन्छ ।

पूर्वीय दर्शनमा सत्य र मानिसको सोचको बीचमा अन्योन्याश्रित सम्बन्ध छ । जीवनमा सत्य छ भने त्यहाँ शान्ति हुन्छ,सृजनशीलता हुन्छ,स्थायित्व हुन्छ । सत्यबाट स्थायी सुख प्राप्त हुन्छ । सत्यको खोजी शरीर बाहिर खोज्ने नभई शरीर भित्र खोज्नुपर्छ । मानिसकोमस्तिष्क भित्र खोज्नुपर्छ । यसैगरी सत्यलाई बजारबाट खरिद गर्न सकिँदैन । बाहिर खोजी गर्नु भनेको सत्यको पर पुग्नु हो । अझ धेरै पर पुग्नु जस्तै हो । म को हुँ, म के हुँ, मेरो जीवनको उद्देश्य के हो ? आदि प्रश्नबाट सत्यको खोजी हुन्छ । आफू भित्रको निष्ठा, इमानदारिता सत्य हो । मानवीयता अर्थात् ह्यूमानिटी सत्य हो । मानिसमा शक्ति र सामर्थ्य बढ्दै जाँदा यस्तो मानवीयता अझ बढ्नु पर्ने हो तर व्यवहारमा ठिक उल्टो हुन पनि सक्छ ।

यही भएर ऋषिहरूले बह्म सत्य जगत् मिथ्या भने । यहाँ जगत् भनेको बाहिर देखिने संसार हो भने बह्म भनेको अन्तिम सत्य हो । यो बह्म बाहिर खोज्न भन्दा पनि हरेक व्यक्तिको मन मस्तिष्कमा खोज्नु पर्छ भन्ने हो ।

मानिस वर्तमानमा बाच्छ । यस वर्तमानमा पनि मानिससँग तीन ओटा कालखण्ड अर्थात् समय हुन्छन् । यो हिजो पनि थियो, आज पनि छ र भोलिका दिनमा पनि रहनेछ । मानिसले बितेको समयबाट सिक्ने हो । अहिले अर्थात् वर्तमानमा नयाँ नयाँ ज्ञान र अनुभव हासिल गर्ने हो । मिले पनि नमिले पनि भोलिको दिनलाई अनुमान गर्ने हो ।

विगतको अनुभव र अहिले हासिल गरेको ज्ञानबाट मानिसले यस संसारप्रति आफ्नो धारणा बनाउने हो । यसैका आधारमा हालका कार्यमा सुधार गर्दै नयाँ खोजी गर्नु मानव जातीको विशेषता नै हो । मानिसको यही धारणा समय र स्थान सापेक्षित हुन्छ । यसैका आधारमा मान्यता एवम् विश्वास बन्छ । यही अनुभव, ज्ञान र मान्यताका आधारमा मानिसले समग्र जीवन र जगतप्रति धारणा बनाउने गर्छ । मानिसले यसैलाई सत्य मान्छ । कतिले यसलाई बदलिन सक्छ भनेर स्वीकार गर्छन् भने कतिले अकाट्य मान्छन् ।

यही अनुभव, ज्ञान र विश्वासका आधारमा मानिसले ब्रह्माण्डमा रहेको भौतिक (फिजिकल) र अभौतिक (नन फिजिकल) पदार्थलाई आफ्नो आँखाबाट हेर्छ, बुझ्छ, ग्रहण गर्छ र व्याख्या गर्छ। अर्थात् आफ्ना इन्द्रियका आधारमा ग्रहण गर्दै त्यसतर्फ आफ्नो धारणा बनाउने गर्छ । सत्यको खोजी गर्छ ।

सामान्य दृष्टिकोणबाट हेर्दा भौतिक वस्तु वा पदार्थ सत्य हुन्जसलाइ फरक फरक व्यक्तिले पनि एउटै ढङ्गबाट ग्रहण र व्याख्या गर्न सक्छन्। तर यस ब्रह्माण्डमा भौतिक मात्र नभएर अभौतिक अवस्था पनि छ, जसलाई सतहमा देख्न सकिदैन् । तर महसुस भने गर्न सकिन्छ । यसरी महसुस गर्ने विषय व्यक्तिको अनुभव, ज्ञान र विश्वास आदिबाट प्रभावित नभई रहन सक्दैन।

माथि नै भनियो अभौतिक अवस्था सामान्य मानव आँखाबाट देख्न सकिँदैन,महसुस गर्न सकिन्छ, अनुभव गर्न सकिन्छ । उदाहरणका लागि ध्वनि वा आवाज । यसलाई महसुस गर्न सकिन्छ । यसैगरी कसैको दुःख दर्द देखेर पनि महसुस गर्न सक्छ, सुनेर पनि महसुस गर्न सक्छ । यस्ता अभौतिक अवस्थालाई सबैले एकै किसिमबाट महसुस गर्छन् भन्ने भएन । व्यक्तिअनुसार महसुस फरक हुनसक्छ ।

यसरी सामान्य आँखाबाट नदेखिने तर इन्द्रियजन्यपक्षबाट महसुस गर्न सकिने अभौतिक अवस्था पनि सत्य हुन सक्छन्। मानिसले महसुस गर्ने पक्ष नितान्त वैयक्तिक हुनसक्छ । यो आफैमा स्थान,समय र व्यक्ति वा समूह विशेषमा भर पर्न सक्छ । भन्नुको अर्थ एउटै घटनालाई फरक फरक ढङ्गबाट व्याख्या र विवेचना हुन सक्ने भए । यहाँनेर सत्य नितान्त सापेक्षित बन्न पुग्छ ।

भौतिक वस्तु वा पदार्थ एक खालको सत्य हो, जसलाई सबैले एउटै देख्छन् । तर अभौतिक सत्य जसलाई आँखाले देख्न सकिँदैन । यस्तो सत्य बहु सत्य हुनसक्छ । किनकि हरेक घटनालाई व्यक्तिले आफ्नै ढङ्गबाट ग्रहण गर्न र व्याख्या गर्न सक्छ ।

यी दुई अवस्थाले त सत्य र यसको खोजीका बारेमा झन् जटिलता थपे । के सबै व्यक्तिका अनुभव र धारणालाई सत्य हुन्छन् भनेर मान्नु पर्ने हो ? सबैको सबै धारणा सत्य होइनन् । शुकरातले भनेझैँ तर्कमा सङ्गति चाहिन्छ अनि मात्र त्यसलाई सत्य मान्न सकिन्छ ।

मानिसले चाहे पनि नचाहे पनि आफ्नो जीवनमा यी नै एकल र बहु सत्यसँग ठोकिइरहनुपर्छ । यसैसँग जिउनु पर्छ । यसैमा विश्वास गर्नुपर्छ । एकल सत्यमा त खासै समस्या नहोला । तर बहु सत्यमा केही विधि वा पद्धति अवलम्बन गरेर निर्माण गरिएको सत्यलाई मात्र स्विकार्नुपर्छ ।

बहुल सत्यमा पनि समस्या छन् । के फरक मत राख्नासाथ सो पनि सत्य हुन्छ भन्ने हो ?सबै फरक मत सत्यको रूपमा लिन हुँदैन् । लिइन्छ भन्ने पनि होइन । एकल वा बहु सत्यको नजिक पुग्नका लागि के कस्ता प्रयास गरिएको थियो भन्ने विषयले महत्त्व राख्छ । बहु सत्यका लागि पनि विधि प्रक्रिया र पद्धतिको महत्त्व रहन्छ । फरक हुनासाथ सत्य हुन्छ वा मान्नुपर्छ भन्ने होइन । यसरी सत्यका दुई ओटा मत अर्थात् स्कुलिङ स्वीकार गरिएकै छ ।

मानिसको जीवनमा यी दुवै स्कुलिङ चाहिन्छ । तर कुन चाहिँ एकल सत्य हो र कुन चाहिँ बहु सत्य हो वा कुन कुन विषय वा अवस्थाहरू सत्य होइनन् भन्ने विषयको निरूपण गर्नमा व्यक्तिको क्षमता चाहिन्छ । तर कतिपय मानिस आफ्नो सोचलाई जसरी पनि सत्य देखाउनु पर्ने अहममा हुन्छन् । नगरेको प्रयास गरेँ भन्न सक्छन् । यस अवस्थामा सत्यको खोजी अझ जटिल बन्दै छ भन्नेमा पनि उत्तिकै मात्रामा सचेत हुनु आवश्यक हुन्छ ।

इतिहासको कसीमा सत्य
माथि नै भनियो कि मान्छेको सोच एवम् चिन्तनले सत्यको उजागर गर्छ । सत्यको नजिकसम्म लैजान्छ । असत्य पहिल्याउने काम गर्छ । असत्यको निदानका उपायहरू पनि खोजी गर्छ । माथि नै भनियो जसको भौतिक अस्तित्व छ सो वास्तविक सत्य हो। मानिसको चिन्तनसँग जोडिएका सबै मान्यता चिन्तन,विश्वास आदि सापेक्षित सत्य हुन । वास्तविकता यही हो । सत्यको व्याख्या वस्तुगत वा ठोस एवम् अमूर्त सोच वा चिन्तन दुवैबाट हुनसक्छ ।

मानव इतिहास हेर्ने हो भने मानव सभ्यताको विकास प्रोपोगाण्डा र अफवाह फैलाउनेखालका सूचना प्रवाहबाट भइआएको देखिन्छ । गहिरिएर अध्ययन गर्ने हो भने अफवाहले भरिपूर्ण छ । युद्धमा सबै जायज हुन्छ भन्ने मान्यता नै छ । हुन पनि हो जब प्रतिस्पर्धा हुन्छ सो एक प्रकारको युद्ध जस्तै हो । बिना हतियार र सेनाको युद्ध । जहाँ विवाद हुन्छ,हरेक विवादमा आफूले जित्न खोजिन्छ,अर्कालाई हराउन खोजिन्छ । जित्नका लागि सबै उपाय ठिक मानिन सक्छ । जित्ने उपाय खोजी सोको कार्यान्वयनमा ल्याइन्छ । इतिहास जित्नेको मात्र लेखिन्छ । मूल्य मान्यता उसैको लागू गरिन्छ । अझ विस्तार गरिन्छ । बलियाको भाष्य मात्र वैध र सत्य हुन्छ । यसैमा इतिहास लेखिन्छ । मानव इतिहास यही नै हो । यसैमा निरन्तरता छ ।

एक हजार वर्ष अघिको एउटा अवस्थाको अनुमान गरौँ । वि सं १००० तीर मानिससँग अहिलेको जस्तो सूचना थिएन । आफ्नो टेरिटोरीभन्दा बाहिर के भइरहेको छ भन्ने बारेमा आमजनलाइ थाहा हुने अवस्था नै थिएन । सत्ताले छनौट गरेर मात्र सूचना दिन्थ्यो होला । सो समयमा सत्ताले सूचना थाहा पाउन पनि समय लाग्न सक्थ्यो, धेरै मेहनत गर्नु पर्थ्यो होला । आमजन आफ्नो मुलुकका शासक र समुदायले बनाएका नियम, मापदण्ड,मानक,विश्वास आदिका आधारमा चल्नै पर्थ्यो । सो समयको अवस्था सबैलाई शायद राम्रै लाग्थ्यो होला । किनकि उक्त समयमा अरूसँग तुलना गर्न सकिने अवस्था नै थिएन । अरूले के गरेका छन् भन्ने थाहा नपाएपछि आफूले गरेको अभ्यास राम्रै हुन्छ होला । यहाँ सत्ताले जे दियो त्यही नै सत्य मानिँदै आयो । दिने विषय के कस्ता थिए भन्ने कुरा सत्ताको इमानदारितामा भर पर्थ्यो होला । यसरी बलियाको भाष्य स्थापित हुँदै गयो । कमजोर लुप्त हुँदै गए । युवल नोहा हजारीको सेपियन्स अध्ययन गर्दा पनि यस्तै लाग्छ ।

समय समयमा आएका ठुला महामारी (प्राकृतिक र मानवसृजित)ले यस्ता भाष्यमा विराम लगाउने काम गर्‍यो । यसबाट नयाँ भाष्य सृजना हुने अवसर पनि आयो । फरीद जकरियाले ‘टेन लेसन्स फर अ पोष्ट पेन्डेमिक वल्ड्र’ पुस्तकमा प्लेगजस्ता महामारीले युरोपको भूराजनीति, अर्थ व्यवस्था र मानवीय जीवनशैलीमा अभूतपूर्व परिवर्तन ल्यायो भन्छन् । उनका अनुसार ब्यूबोनिक प्लेग एवम् स्पेनिस फ्ल्यूजस्ता महामारीले युरोपको अर्थ व्यवस्थामा आमूल परिवर्तन ल्यायो । बलियाको भाष्य परिवर्तन हुनका लागि यस्ता महामारी पनि कारक बने । यस्ता घटनाबाट पात्र बदलिने रहेछ । अनि भाष्य त जो बलियो छ त्यसैको लेखिने रहेछ त ।

सत्य निरपेक्ष छ भनेर भन्ने आधार मानव इतिहासले दिदैन् । बलियाले निर्माण गरेको भाष्यमा हामी सबै अभ्यस्त हुँदै आएका रहेछौँ ।

वर्तमानमा सत्यको नियति
युवल नोहा हरारीको अनुभव सापट लिने भने २१ औ शताब्दीका मानिसले व्यहोर्न परेको सबैभन्दा ठूलो समस्या भनेको (अ)सूचनाको फ्लड अर्थात् बाढी हो । यतिका (अ)सूचना प्रोसेसिङ गर्ने क्षमता सबै व्यक्तिसँग नहुन सक्छ । हुँदैन पनि । यस अवस्थामा कुन सूचना वास्तविक र कुन सूचना प्रोपोगान्डा हो भनेर कसरी छुट्याउने ? कुन सूचना सत्य हो र कुन चाहिँ असत्य हो भनेर कसरी छुट्याउने ? माथि भनिएजस्तै कतै बलियाले आफ्नो पकड कायम राख्नभएका सूचनालाई तोडमोड वा बढाइ चढाइ गरेर प्रस्तुत त गरेका छैनन् ? बलियाको भाष्य स्थापित गर्न सबै खालका प्रोपोगान्डा प्रयोग भएका पनि हुनसक्छ । तर यस्ता विषय कसरी थाहा पाउने ? शायद मानिस रहेसम्म यस्तो अवस्था रहन पनि सक्छ ?

मानिसको मानसिक विकास उच्च विन्दुमा पुगेपछि यसमा कमी आउला तर शून्य नै नहुन पनि सक्छ । कुन सत्य र कुन असत्य भन्ने छुट्याउन हरेक मानिससँग क्षमता चाहिन्छ भनिन्छ । अन्यथा आमजन भ्रममा पर्न सक्छन् । असत्य सूचनालाई सत्य मानेर बहकिन सक्छन् । प्रविधिका फाइदा मात्र छैनन् । कतै प्रविधिले असत्य सूचनालाई नै मलजल त गरिरहेको छैन ?

अबका दिनमा सत्यको खोजी गर्न मानिसमा उच्च स्तरको सचेतना आवश्यक पर्छ । अन्यथा मानिस सूचनाबाट बहकिन पनि सक्छन् । किनकीसबै सूचना सही नियतबाट प्रवाह नभएका पनि हुन सक्छन् । तोडमोड वा बढाइचढाइ गरिएका पनि हुनसक्छन । एउटै घटनामा पनि फरक फरक खालका सूचना आउने गर्छ होला । अब कुन चाहिँ सूचनालाई विश्वास गर्ने त ?यसलाई छुट्याउनका लागि मानिसको क्षमता चाहिन्छ । सबैसँग यस्तो क्षमता होला ?

कुनै घटना वा अवस्थालाई बुझ्न र बुझाउनका लागि अनुसन्धानमा इनसाइडर एवम् आउट साइड भन्ने अवधारणाको प्रयोग हुन्छ । घटनामा आफू जोडिएर व्याख्या गर्दा अवस्था एउटा हुनसक्छ । आफू नजोडिएको घटनामा व्याख्या अर्कै हुनसक्छ । व्यक्तिको पोजिसनको आधारमाधारणा तय हुन्छ । हरेक मानिसको सामाजिक जीवनमा यो अवस्था उत्तिकै मात्रामा लागु हुन सक्छ। यहाँ पनि प्राप्त सूचना कुन ढङ्गबाट प्रवाहित भएको छ भनेर छुट्याउने क्षमता चाहिन्छ ।सूचना प्रवाह गर्नेले पोजिशन स्पष्ट गरे त पहिचान गर्न सजिलो होला । तर पोजिशन यकिन नगरेमा त्यसलाई कसरी पहिचान गर्ने त ? यहाँ पनि भ्रममा पर्ने सम्भावना उत्तिकै मात्रामा छ ।

सबै घटना वा अवस्था व्यक्तिको अनुभव सापेक्षितमात्र हुन्छन् त ? हुदैनन पनि । केही निरपेक्ष पनि हुन्छन् । के एकै व्यक्तिले दुवै भूमिका एकै पटक निर्वाह गर्न सक्छ त ? के वस्तुगत तथ्य वा सूचनामा व्यक्ति आफू निरपेक्ष हुनसक्छ ? बढाउन वा घटाउन सक्छ ? यसमा पनि व्यक्तिले द्वैध अर्थ लाग्ने गरी सूचना दिन सक्छ । तर वस्तुगत तथ्यमा आधारित हुँदा केही मात्रामा भए पनि सत्यको नजिक हुने खालका सूचना दिन सकिन्छ । जसले बताए पनि एउटै हुने र देखिने ।

उदाहरणस्वरुप मुलुकमा कति ओटा विश्व विद्यालय छन् ? यसको उत्तर जसले दिए पनि एउटै उत्तर आउँछ । कुन चाहिँ राम्रो छ भन्यो भने उत्तर फरक फरक हुन सक्छन् । यसरी सबै घटना र अवस्थालाई तथ्य र तथ्याङ्कले मात्र व्याख्या गर्न सकिदैंन। व्याख्या विषयगत वा आत्मापरक हुनसक्छ । फरक यँहिबाट सुरु हुन्छ । बुझ्ने क्षमता यहाँ नै चाहिन्छ ।

शैक्षिक संस्थाले सूचना प्रदान गर्ने भन्दा पनि कुन सूचना वस्तुगत,सान्दर्भिक र सत्य छ भनेर छुट्याउन सक्ने क्षमता विकास गर्नु पर्ने हो । तर यस्ता संस्थानै भ्रममा पो छन् कि । हाँसले दूध र पानीबाट दूधलाई छुट्याएर लिन सक्ने जस्तै क्षमता विद्यार्थीलाई हासिल गराउनु पर्नेमा कतै शैक्षिक संस्थाले (अ)सत्य सूचना बाँडेका त छैनन् ? कतै बालबालिकाको जीवनको सुरुवाती यात्रा यस्तै (अ)सूचनाको बाढीबाट त सुरु भएको छैन ?

सत्य के हो भन्नेमा विविधता रहेछ । एउटै मात्र सत्य नहुन सक्ने रहेछ । हरेकले आफ्ना धारणा राख्न पाउने रहेछन् । तर यसो भनेर जसले जे भने पनि सत्य हुन्छ भन्ने पनि होइन । तर्क सत्यको नजिक हुनसक्छ । तर कुतर्क हुनुहुदैन् । जसलाई वस्तुगत ढङ्गबाट व्याख्या गर्न सकिन्छ त्यहाँ एकल सत्यको प्रयोग गर्ने र जहाँ यसको उपलब्धता छैन सो अवस्थामा सापेक्षित सत्य खोजी गर्नुपर्ने हुन्छ । दुवै सत्यको उजागर गर्नका लागि निश्चित विधि र प्रक्रिया अवलम्बन गर्नुपर्छ । मुख्य कुरा त व्यक्तिको इमानदारिता नै हो ।

सत्यको नजिक कसरी पुग्ने त ?
यस प्रश्नको उत्तर खोज्नका लागि व्यक्तिको विश्वास तथा धारणा के ले बन्छ?खोजी गर्नुपर्छ । सामान्य अर्थमा व्यक्तिको विश्वास एवम् धारणा निर्माणमा तीन पक्षले भूमिका हुन्छ । ती हुन जैविक गुण,सामाजिक मूल्य मान्यता र जीवनमा हासिल गरेको सिकाइ । यी तीनमध्ये जैविक गुण र सामाजिक मूल्य मान्यताले पूर्व सिकाइको काम गर्छन् । पूर्व सिकाइलाई परिमार्जन गर्ने, सुधार गर्ने र यसमा थप गर्ने काम सिकाइबाट मात्र सम्भव हुन्छ ।

माथि दिइएका तीन पक्षहरूमा सिकाइ सबैभन्दा महत्त्वपूर्ण हुन्छ भन्ने गरिन्छ । तर कहिलेकाहीँ सामाजिक मूल्य मान्यताले दह्रोसँग मस्तिष्कमा डेरा जमाएको हुन्छ । यसले अन्य बाँकी दुईलाई छायामा पारिदिन्छ । सामाजिक मूल्य मान्यताले व्यक्तिको समग्र विकासमा गेट किपरको काम गर्न पुग्छ । स्थापित मान्यतासँग मिल्ने खालका धारणा आएमा गेट खोल्छ अन्यथा सबै विचार वा मतलाइ गेटबाटै फर्काइदिन्छ।व्यक्तिमा नयाँ ज्ञान प्रवेश गर्न नपाएपछि आफूसँग जे धारणा छ सोहीका आधारमा क्रिया प्रतिक्रिया जनाइरहन्छ । सत्य त्यही हो भनेर ओकलिरहन्छ ।

व्यक्तिले सत्यको खोजी गर्ने हो भने व्यक्तित्व विकासको सबै गेट खुला राख्नु पर्छ । अर्थात् माथिका तीन पक्षमा खुला रहन सक्नुपर्छ । यसलाई बन्द गरेर राख्न हुँदैन् । खुला सङ्गठन जस्तो बनाउनु पर्छ जसले बाहिरी वातावरणसँग अन्तरक्रिया गरिरहन्छ र फिडब्याक लिई आफूलाई समयानुकूल परिमार्जन गर्दै लैजान सकोस् ।

घटना वा अवस्थाप्रति रेसपोन्सिभ बन्नका लागि माथिका तीन ओटै गेटका ढोका खुला राख्न सक्नुपर्छ। यी तीन पक्षमा मानिस जति खुला रहन सक्छ, अन्य व्यक्तिसँगको संवाद उति अर्थपूर्ण बन्न सक्छ । सत्यको खोजी गर्ने कार्य पनि त्यति मात्रामा अर्थपूर्ण बन्दै जान्छ । अन्यथा मानिस क्रियामाथि प्रतिक्रिया जनाउने यान्त्रिक मेसिन जस्तो बन्छ । तर्क होइन कि कुतर्कको सहारा लिन पुग्छ ।

आम नागरिकले सत्य कसरी थाहा पाउने त ? सबैले सही सूचना सम्प्रेषण गरेमा सत्य थाहा पाउन सकिन्छ । तर यो त आदर्श अवस्था भयो । के अहिलेको युगमा यस्तो आदर्श अवस्थाको कल्पना सम्भव छ त ? सजिलो छैन । किनकि आफ्ना धारणा सार्वजनिक गर्न सामाजिक सञ्जालका धेरै साधनहरू सजिलै सबैको पहुँचमा छन् । आफ्ना भ्युअर बढाउनका लागि अन्टसन्ट शीर्षक राखेर समाचार दिने प्रवृत्ति बढ्दो क्रममा छ । ब्रेकिङ न्युजका नाममा समाचार दिइहाल्ने प्रवृत्ति बढ्दो छ । गल्ती भएको भए एक लाइन लेख्यो, माफ माग्यो सकियो । के एक सरो माफले मर्का पर्नेको क्षतिपूर्ति हुनसक्छ ? अझ कतिले त त्यही गल्ती पनि घुमाउरो पाराले स्वीकार गर्छन् भने कतिले त त्यतिसम्म पनि गर्दैनन् ।

जबसम्म प्रयोगकर्ता वा उपभोगकर्ताले सूचनाको स्रोत के हो ? यसको वैधानिकता कति छ ? विश्वसनीयताको आधार के हो ? भन्नेमा सहि र गलत छुट्याउन सक्दैनन् । यस्तो क्षमता नभएसम्म सूचना छनोट हुन पाउँदैनन् । सूचना स्क्रीनिङ् हुन पाउँदैनन् । गलत समाचार भन्दै पनि रहने अनि त्यसलाई पनि बढी मात्रामा शेयर गर्ने हुन्छ । अनि खराब काम गर्ने कै भ्युअर बढ्ने काम जानेर नजानेर भइरहन्छ ।

सबै सूचना सबैका लागि हुनै सक्दैनन् । सूचना कसका लागि हो भन्नेमा पनि स्पष्टता चाहिन्छ । उपभोगकर्ताको चाहना बमोजिम सूचना र समाचार दिन सम्भव छैन । तर सत्य एवम् निष्ठा कम भएको स्थानमा उपभोक्ताका चाहना बमोजिमका (अ)सूचना आउन पनि सक्छन् । त्यसै भनिएको होइन सत्य बोल्न साहस चाहिन्छ ।

सङ्गठित रूपमा सूचना प्रवाह गर्ने सूचनाका प्लेटफर्म निश्चित दर्शन वा बिचारका मुख पत्र हुन । यसबाट दिइने सूचना सोही दर्शन र बिचारका लागि उपयुक्त हुनसक्छ तर अर्कोको लागि यी सूचना निकम्मा हुन पनि सक्छन् । यसरी सूचना प्रवाह गर्दा समान दर्शन वा चिन्तन वोकेकाबाहेकका लागि भ्रम हुनसक्छ । एउटै दर्शनबाट निर्देशित भएकाहरूमध्ये पनि सही सूचनालाई सही र गलत सूचनालाई गलत भन्ने क्षमता र विवेक कति जनासँग होला ? यस अवस्थामा पनि (अ)सत्य सूचना प्रवाहित भइरहनसक्छ ।

सूचना दिनेले त त आफ्नो पोजिसन प्रष्ट पारेर लेख्लान् वा देलान् । तर पढ्ने सुन्ने सबैलाई यी सब चीजसँग के नै मतलब होला र ?

सत्य के हो ? यसमा सन्देह देखियो । कसले भनेकोलाइ पत्याउने वा विश्वास गर्ने ? आखिर शुकरातले भने झैँ सबैले तर्कले नै आफ्नो कुरा बिकाउन खोज्ने होला। अनावश्यक सूचनाको प्रवाहले आम सर्वसाधारण थोपरिएको (अ)सत्य मान्न बाध्य हुने त रहेछ नि ?

तथ्य तथ्याङ्कलाई मात्र सही सूचना मानेर पनि संसार चल्न कठिन छ । सधैँ सम्भव पनि नहुन सक्छ । यसको प्रयोग केही अवस्थामा होला । तर धेरै अवस्थामा बहुसत्यलाइ मान्नै पर्ने हुन्छ । तर यसको प्रस्तुत कसरी गर्ने भन्नेमा पनि एकरूपता छैन ।

सत्यसँग नजिक पुग्ने सबै अवस्थाको एउटै मात्र उपाय भनेको व्यक्तिमा इमानदारिता नै हो ।

डा. लम्साल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय काठमाडौँका सहसचिव हुन् । यसमा व्यक्त विचार निजी मत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस