अर्घाखाँची । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्यसमिति, अर्घाखाँचीले उप-सचिव, शाखा अधिकृत लगायतका लोक सेवा आयोगको पाठ्यक्रममा तयार पारिएको पुस्तक वृत्ति-२०७८ को विमोचन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलबाट विमोचन गरिएको उक्त पुस्तकमा विभिन्न मुलुकका विशिष्ट श्रेणीका अनुभवी तथा दक्ष कर्मचारीहरूको लोक सेवा आयोगका पाठ्यक्रममा समावेश गरिएका विषय वस्तुमा आधारित तीन दर्जन लेख प्रकाशित भएका छन् । जसमा ८ जना पूर्व सचिव, १० जना सह-सचिव र १८ जना उप–सचिवहरूका लेख प्रकाशित भएको कार्यसमितिले जनाएको छ ।
लोक सेवा आयोगको तयारीमा रहेका परीक्षार्थिहरुलाई केन्द्रित गर्दै प्रकाशित उक्त पुस्तकको पाणिनि क्याम्पसका प्राध्यापक माधवराज चुँदालीले टिप्पणी गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पौडेलले वृत्ति-२०७८ वास्तवमा धेरैको जीवनमा वृत्ति विकासको कोशे ढुङ्गा बन्ने बिचार व्यक्त गरेका छन् ।
कार्यक्रमको अध्यक्षता गरेका कार्यसमिति अध्यक्ष झविन्द्र खनालले अर्घाखाँची कार्यसमिति रचनात्मक क्रियाकलाप गर्नमा देशमै एक नम्बरको आधिकारिक ट्रेड युनियन भएको दाबी गर्दै विगतमा पनि निःशुल्क लोक सेवा तयारी कक्षालगायतका सेवा प्रवाहका क्षेत्रमा विभिन्न क्रियाकलाप गरिएको र भविष्यमा पनि रचनात्मक क्रियाकलापहरू गर्दै जाने बताए ।
पुस्तक सम्पादन तथा प्रकाशनका संयोजक कृष्ण वर्माले पुस्तक प्रकाशनमा अहोरात्र खटिने सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दै पुस्तक प्रकाशनमा अध्यक्षको लगाव खटाई र प्रमुख जिल्ला अधिकारीको पृष्ठपोषण र सहयोगले मात्र सम्भव भएको बताए । साथै पुस्तक प्रकाशनमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्याउनु हुने पूर्व पदाधिकारीहरूलगायतलाई धन्यवाद ज्ञापन गरे ।