कामपाले थाल्याे आकाशे पानी सङ्कलन र पुनर्भरण अभियान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कामपाले थाल्याे आकाशे पानी सङ्कलन र पुनर्भरण अभियान


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पानीको सङ्कट टार्न आकाशे पानी सङ्कलन र पानी पुनर्भरण अभियान सञ्चालनमा ल्याएको छ ।

उपत्यकामा पानीको समस्यालाई सम्बोधन गर्न अभियानले सहयोग पुग्ने बताइएको छ । काठमाडौँमा खानेपानीको माग दैनिक करिब ४५ करोड लिटर छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँदा पनि दैनिक २८ करोड लिटर पानी कमी हुन जान्छ । यसको आपूर्तिका लागि वैकल्पिक स्रोतको खोजीका क्रममा कामपाले यस किसिमको अभियान थालनी गरेको जनाएको छ ।

वर्षाका समयमा पर्ने पानीको उपयोग गरी अभियान सहयोग पुग्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनले पानीको वर्तमान तथा भाबी सङ्कटलाई दृष्टिगत गरेर महानगरले दुई वर्षअघिदेखिनै पुनर्भरण अभियान शुरु गरेको बताए ।

अभियानअन्तर्गत गोङ्गबु र रानीबारी पुनर्भरण आयोजना सम्पन्न भइसकेको छ भने स्वयम्भू भुइँखेलको पोखरी पुनः स्थापना गरिएको छ । पानी पुनर्भरण अवधारणा अवलम्बन गरी कमलपोखरी, बाँसबारी इको पार्क, बागमती नगरपार्क, धान्यो चित्तपार्क, कुलेश्वर बुद्ध विहार, लगन पार्क, शान्ति नमुना उद्यान र टुँडालदेवी उद्यानको विकास र संरक्षणको कार्य थालेको छ । कामपाले नन्दी रात्री विद्यालय र वडा नं ५ मा आकाशे पानी सङ्कलन प्रणाली उपयोगमा ल्याइसकेको छ ।

पुराना ढुङ्गेधाराको स्थान अवलोकन, मर्मत सम्भारको कार्य पनि थालेको छ । खानेपानीको स्रोत संरक्षणका लागि पुनर्भरण इनारको स्थापना, पानी बगैँचा (वाटर गार्डेन) र जमिनको भित्री तहमा पानी पठाउन पाइप प्रणालीको पनि उपयोग गर्दै आइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस