पहिराले झोलुङ्गे पुलमा क्षति : जोखिमपूर्ण यात्रा गर्न बाध्यता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहिराले झोलुङ्गे पुलमा क्षति : जोखिमपूर्ण यात्रा गर्न बाध्यता


५ श्रावण २०७८, मंगलबार


गोरखा । बाढीसँगै आएको पहिरोले उत्तरी गोरखाको धार्चे गाउँपालिकास्थित झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ ।

पहिरोसँगै खसेको ठुलो रुखले धार्चे गाउँपालिका–५ को माछाखोला र वडा नं ३ को उहियाँ खोला जोड्ने झोलुङ्गे पुलको एकतर्फको लट्ठा चुँडिएर क्षति भएको स्थानीयवासी प्रतापमान गुरुङले जानकारी दिए ।

आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीका कारण खोला तर्फबाट खसेको पहिरोले पुलमा क्षति पुर्‍याएको उनले बताए । ‘माथि भिरबाट ठुलो रुख ढलेर पुलमा खसेका कारण पुलको एकातर्फको लट्ठा चुँडिएको छ’, उनले भने, ‘तत्काल मर्मत सम्भार गर्न नसके यहाँका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था बनेको छ ।’

२०६० सालमा बिपीको सहयोगमा निर्माण भएको उक्त पुलमा क्षति पुगेपछि उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका नागरिकसँगै पर्यटकलाई समेत समस्या भएको उहीयाँ खोलाका स्थानीयवासी दिलबहादुर गुरुङले बताए।

जिल्लाको पर्यटकीय मार्गको रुपमा चिनिने मनास्लु पदमार्ग प्रवेश गर्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि अहिले जोखिम मोलेर आउजाउ गर्न बाध्य भएको उनको भनाइ छ । ‘माछा खोलामाथिको पुल उत्तरी गोरखाका सर्वसाधारण र पर्यटक आउजाउ गर्ने पुल हो’, उनले भने, ‘यो पुल नतरी उत्तरी क्षेत्र पुग्न सकिँदैन, अहिले पुल तर्न ज्यानको जोखिम मोल्नुपर्ने बाध्यता छ ।’

दैनिक आवतजावत गर्न समस्या भएपछि स्थानीयवासी मिलेर पहिरोसँगै आएको रुख हटाएर पुलको एकतर्फको लट्ठामा झुण्डिएर वारपार गर्न सक्ने बनाएको गुरुङले जानकारी दिए । जेठको अन्तिम सातादेखि परेको वर्षाका कारण पदमार्गसमेत अवरुद्ध भएपछि नेपाली सेनाले केही दिनअघि मात्र पदर्माग सफा गरेको थियो । तर फेरि पहिरोले पुलमा क्षति पुर्‍याएपछि समस्या भएको गुरुङको भनाइ छ ।

पुलमा क्षति पुगेसँगै खच्चडबाट सामान ढुवानीमा समस्या भएको स्थानीय व्यवसायी शर्मिला गुरुङले जानकारी दिए । खच्चडबाट सामान ढुवानी गर्नुपर्ने सो क्षेत्रमा ढुवानी गर्न सक्ने अवस्था नभएपछि दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने उनले चिन्ता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस