प्रचण्डको सुरक्षाका लागि डिएसपीको कमाण्डमा सुरक्षाकर्मी थप « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डको सुरक्षाका लागि डिएसपीको कमाण्डमा सुरक्षाकर्मी थप


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाका लागि डिएसपीको नेतृत्वमा थप सुरक्षाकर्मी खटाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि सचिवस्तरीय निर्णय गरेर नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक(डिएसपी) को नेतृत्वमा थप सुरक्षाकर्मी खटाइएको हो ।

गृहको परिपत्र कार्यान्वयन गर्दै प्रहरी प्रधान कार्यालयले डिएसपी विनोद घिमिरेको नेतृत्वमा १० सुरक्षाकर्मी शनिवारदेखि दाहालको सुरक्षाका लागि खुमलटार खटाएको जनाएको छ । अब उनको सुरक्षामा डीएसपीसहितका प्रहरीको गाडी अगुवा र सशस्त्रको गाडी पछुवाका रूपमा खटिनेछ ।

केही महिना अघि गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ जारी गरेको थियो। उक्त मापदण्ड अनुसार अघिल्लो सरकारले दाहालको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो । उनको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीसहित २६ र सशस्त्रबाट इन्स्पेक्टरसहित ४७ जना सुरक्षाकर्मी खटिँदै आएकामा १८ जनामा सीमित गरिएको थियो । पूर्वप्रधानमन्त्रीका लागि सशस्त्र प्रहरीबाट १६ र नेपाल प्रहरीबाट २ जना खटाउने मापदण्ड छ ।

उक्त मापदण्डअनुसार पूर्वप्रधानमन्त्रीलाई १६ सशस्त्र र २ प्रहरी आजीवन,  पूर्वराजालाई १६ सशस्त्र र २ प्रहरी, पूर्वराष्ट्रपतिलाई २१ सेना, पूर्वउपराष्ट्रपतिलाई ११ सशस्त्र र २ प्रहरी, पूर्वप्रधानन्यायाधीशलाई ६ सशस्त्र (५ वर्ष) र २ प्रहरी, पूर्वसभामुखलाई कार्यकाल सकिएको ३ वर्षसम्म २ प्रहरी, पूर्वउपप्रधानमन्त्रीलाई २ जना २ वर्षसम्म, पूर्वगृहमन्त्रीलाई २ जना १० वर्षसम्म, पूर्वरक्षामन्त्रीलाई २ सेना २ वर्षसम्म, पूर्वमन्त्रीलाई एक जना प्रहरी २ वर्षसम्म, अख्तियारका पूर्वप्रमुख आयुक्तलाई अवकाश पाएको १० वर्षसम्म ७ सशस्त्र र २ प्रहरी खटाउने उल्लेख गरिएको छ ।

यस्तै पूर्वमहान्यायाधिवक्तालाई २ वर्षसम्म २ प्रहरी, संवैधानिक निकायका पूर्वप्रमुखरसदस्यलाई २ वर्षसम्म एक प्रहरी, पूर्वमुख्यसचिवलाई २ वर्षसम्म २ प्रहरी, पूर्वप्रधानसेनापतिलाई आजीवन ७ जना सेना, पूर्वगृहसचिवलाई २ वर्षसम्म २ प्रहरी, पूर्वरक्षासचिवलाई २ वर्षसम्म एक सेना, प्रहरी र सशस्त्रका पूर्वआईजीपीलाई अवकाश पाएको ४ वर्षसम्म ५ प्रहरी र २ जना आजीवन तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुखलाई सशस्त्र प्रहरीका २ जना आजीवन सुरक्षामा खटाउने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस