स्वास्थ्य सचिवका लागि १२ औँ तहका तीन प्रमुख विशेषज्ञको नाम सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वास्थ्य सचिवका लागि १२ औँ तहका तीन प्रमुख विशेषज्ञको नाम सिफारिस


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा पठाइने भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन प्रमुख विशेषज्ञको नाम सिफारिस गरेको हो ।

स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञहरू डा. रोशन पोखरेल, डा. दीपेन्द्र रमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरिएको हो । स्वास्थ्य सेवा ऐनमा १२ औँ तह वा ११ औँ तहमा ५ वर्ष भन्दा बढी काम गरेकोलाई सचिवमा सिफारिस गर्ने व्यवस्थाअनुसार एक तिहाइ सिफारिस गर्दा ११ औँ तहसम्म पुग्न नपर्ने देखिएपछि तीनै जना १२औँ तहका कर्मचारीलाई सिफारिस गरिएको एक अधिकारीले प्रशासनलाई जानकारी गराए ।

आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई स्वास्थ्य सेवातर्फको सचिव नियुक्त गर्नेछ । २०७६ मा तत्कालीन स्वास्थ्य सचिव डा। पुष्पा चौधरीको राजीनामा स्वीकृत भएसँगै स्वास्थ्य सेवातर्फ सचिवको पद रहँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस