हतियारसहित दुई युवक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हतियारसहित दुई युवक पक्राउ


२९ असार २०७८, मंगलबार


लहान । हतियारसहित प्रहरीले सिराहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिराहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जाँच गर्दा दुवै जनाको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक म्याग्जिन र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गत आइतबार कटुवा पेस्तोलसहित सिराहाको गोलबजारबाट औरही गाउँपालिका–२ निवासी सुजितकुमार यादवलाई पक्राउ गरिएको थियो । यादवको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली तीन राउण्ड बरामद भएको थियो ।

कैद सजाय पाएर फरार सदा पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक जनालाई सिराहा प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुर सिराहाबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा छ महिना चार दिन कैद सजाय पाएर फरार कर्जन्हा नगरपालिका–३ खैराटोल निवासी ३९ वर्षीय श्रीप्रसाद सदालाई पक्राउ गरेको हो ।

आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सदालाई पक्राउ गरिएको र आज जिल्ला अदालतमा पेस गरिने जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस