प्रतिनिधि सभा विघटन मुद्दाको फैसला आज « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधि सभा विघटन मुद्दाको फैसला आज


२८ असार २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको पेशी आज तोकिएको छ । संवैधानिक इजलासमा असार ९ गतेदेखि २१ गतेसम्म निरन्तर सुनुवाइ भएको मुद्दाको आज (२८ गते) पेशी तोकिएको हो ।

सम्भवतः आजै फैसला आउने सम्भावना छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, डाक्टर आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा निरन्तर बहस भएको थियो । बहसमा दुवै पक्षका वकिलहरूलाई १५/१५ घण्टाको समय दिइएको थियो ।

दुवै पक्षको बहस सकिएपछि चार जना एमिकस क्युरीले राय दिएका थिए । दुवै पक्षको बहस र राय सकिएपछि आजका लागि फैसलाको पेसी तोकिएको थियो ।

संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी, माओवादी केन्द्र, एमाले नेपाल पक्षका २६ जना र जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी दुर्गा पौडेलसहित १४९ जनाको हस्ताक्षरसहित दाबी गरेका थिए।

प्रधानमन्त्रीमा ओलीले पनि दाबी गरेका थिए। देउवा र ओलीको दाबी परेपछि राष्ट्रपति भण्डारीले एमाले र जसपाका सांसदको हस्ताक्षर दुवै निवेदनमा रहेकाले विवादित ठहर गर्दै दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकृत गरेकी थिइन्।

धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त नभएपछि ओलीको सिफारिसमा जेठ ७ गते प्रतिनिधिसभा विघटन भएको थियो। त्यस विरुद्ध १४६ जना सांसदले संसद् विघटन असंवैधानिक रहेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च पुगेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस