गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण


२७ असार २०७८, आइतबार


काठमाडौँ । देशव्यापी गुर्जो रोपणको अभियान चलाएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ ।

गोदावरी नगरपालिका–१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को बडीखेल, ९ को छम्पी र वडा नं १४ को ठैब क्षेत्रमा १००/१०० गरी ५०० बिरुवा शनिबार रोपिएको हो । गोदावरी सरोकार समाजको सक्रियतामा नगरपालिकाका पाँच स्थानमा गुर्जो रोपिएको अभियानकर्मी राजलवटले जानकारी दिए।

कार्यक्रममा पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अभियानकर्मी राजलवट र समाजका अध्यक्ष बेबी राजभण्डारीले औषधीय गुणले युक्त वनस्पति गुर्जोका बारेमा स्थानीयवासीलाई जानकारी गराएका थिए। मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गुर्जोबाट बनेका परिकारको नियमितरूपमा मात्रा मिलाएर सेवन गरेमा कोरोनाजस्ता भाइरसले आक्रमण नगर्ने जनाइएको छ ।

कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधिको प्याकेट वितरण गरिनुका साथै तयारी चियासमेत सेवन गराइएको जनाइएको छ । उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्षमुनिका बालबालिकाले भने खान नहुने आयुर्वेद चिकित्सकको भनाइ छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस