नेपाल-चीनको सिमानाका हवाई अनुगमनका लागि मुख्यमन्त्री शाहीको टोली लोलुङजोङमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल-चीनको सिमानाका हवाई अनुगमनका लागि मुख्यमन्त्री शाहीको टोली लोलुङजोङमा


२६ असार २०७८, शनिबार


सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाल–चीनको सिमानाका हवाई अनुगमनका लागि नाम्खा गाउँपालिका–५ को लोलुङजोङ पुगेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीसहित शुक्रबार हुम्ला पुगेका मुख्यमन्त्री शाहीको टोली शनिबार सिमानाको स्थलगत अनुगमनका लागि लोलुङजोङ गएका हुन् ।

कैलाश एयरको ९ एमटी कलसाइनको हेलिकप्टरमार्फत आज कांग्रेस नेता शाही, पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता विमला केशी, सहायक प्रजिअ दशरथ राई र मुख्यमन्त्रीका सुरक्षा गार्ड जम्दार नारायण चौधरी सहितको टोली नेपाल–चीनको सीमा क्षेत्रको अनुगमनका लागि गएको हो ।

चीनले नेपाली भूभागमा आफ्ना भवन बनाएको खबर सार्वजनिक भएको दश महिनापछि प्रदेशका कार्यकारी प्रमुखको हैसियतले मुख्यमन्त्री शाही पहिलोपटक नाम्खा–५ को लोलुङजोङ पुगेका हुन् । गत वर्षको भदौ १९ गते शनिबार वडा नं ६ लिमीमा एकीकृत शिविर सञ्चालन गर्न र योजनाहरुको स्थलगत अनुगमन गर्ने उद्देश्यले लिमी गएका तत्कालीन हुम्ला जिल्लाका सहायक प्रजिअ दत्तराज हमाल नेतृत्वको ४२ सदस्यीय टोलीले लोलुङजोङ पुगेर कैलाशको दर्शन गर्ने क्रममा कैद गरेका तस्बीरमा लोलुङजोङमा चीनले नयाँ भवन निर्माण गरेको देखिएको थियो । त्यसपछि चीनले नेपाली सिमाना मिचेको खबर निकै चर्चामा आएको थियो ।

त्यसैबेला प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा र प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले समेत उक्त क्षेत्रको स्थलगत भ्रमण गरेका थिए । कर्णाली प्रदेश सरकारले औपचारिक रूपमा उक्त क्षेत्रको स्थलगत अनुगमन शुरु गरेको हो ।

सबैभन्दा नजीकको सरकारका हैसियतले उक्त क्षेत्रको स्थलगत अनुगमन गर्ने र सोही अनुसारको प्रदेशको धारणा तय गर्न टोली सीमा क्षेत्रमा प्रवेश गरेको टोलीमा संलग्न नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमन्त्री जीवनबहादुर शाहीले बताए । लिमी जानुअघि सङ्क्षिप्त प्रतिक्रिया दिएको नेता शाहीका अनुसार टोलीले लाप्चा र हिल्सा सीमा क्षेत्र विवाद भएपछि वास्तविकताका विषयमा अनुगमन गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस