कोभिड-१९ ले जनजीवनमा पारेको प्रभाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोभिड-१९ ले जनजीवनमा पारेको प्रभाव


२६ असार २०७८, शनिबार


मानव सभ्यताको विकाससँगै मानव समुदायले विभिन्न प्राकृतिक एवं कृत्रिम महामारीलाई झेल्दै आइरहेको छ। महामारी मानव जीवनसँगै विकसित हुने नियमित प्रक्रिया हो। महामारीले जनमानसका जीउ, धन, अर्थ, स्वास्थ्य एवं अन्य भौतिक विकास लगायतका क्षेत्रहरूमा प्रतिकूल असर पुर्‍याउँदछ। सन् २०१९ को डिसेम्बरमा चीनको मुहानबाट सुरु भएको कोभिडको महामारीले आज विश्वका प्रत्येक मुलुक प्रताडित हुन पुगेका छन्। नेपालमा सर्वप्रथम कोभिड सङ्क्रमणको सन् २०२० को जनवरीमा पुष्टि भएकोमा हाल करिब ४ लाखको हाराहारीमा सङ्क्रमित भइसकेका छन् ।

करिब डेढ महिना अघिदेखि नेपालको लगभग पुरै क्षेत्रमा निषेधाज्ञा जारी छ। एकातिर, रोगको भयले नेपाली जनता विक्षिप्त अवस्थामा रहेका छन् भने अर्कोतिर, निषेधाज्ञाको कारणले सामाजिक, आर्थिक गतिविधिमा परेको प्रभावले जनजीविकामा प्रतिकूल प्रभाव पर्न गएको छ। कृषकका कृषिजन्य उत्पादन खेत बारीमै कुहिन पुगेका छन् भने उपभोक्ताले सहजरूपमा खाद्यान्न तथा तरकारीको उपभोग गर्न पाइरहेका छैनन् । यसले गर्दा कृषक समुदाय शोक र चिन्ताग्रस्त हुनुपरेको छ।

अर्कोतिर, बजारमा व्यापक मात्रामा कालोबजारीको गुनासो सुनिन थालिएको छ। कालोबजारीलाई प्रभावकारी ढङ्गले नियमन गर्न सकिइरहेको छैन। उद्योगधन्दा बन्द भएका छन्, जसका कारण लाखौँ मजदुर र उद्यमीहरू बेचैन भएका छन्। व्यापार तथा व्यवसाय ठप्प हुँदा सो क्षेत्रमा लाग्ने व्यापारी तथा मजदुरहरू चिन्तित छन्। वास्तवमै सबै क्षेत्रमा सन्नाटा छाएको छ। लाखौँ मजदुरहरू भोकै बस्ने अवस्थाको सृजना भएको छ । कोभिड सङ्क्रमणका कारण स्वास्थ्य सेवामासमेत कठिनाइ सृजना भएको छ। अन्य रोगका बिरामीहरूलेसमेत सहजरूपमा उपचार पाइरहेका छैनन् । उपचारको लागि अस्पताल जान यातायातको सुविधा छैन । कोभिडका बिरामीका कारण डाक्टर, औषधि एवं अस्पतालको अभाव हुन थालेको छ।

त्यस्तै, कोभिडका कारण शिक्षा क्षेत्रमा पनि ठूलो प्रतिकूल असर गरेको छ। लाखौँ विद्यार्थीहरू घरमा बस्नुपरेको छ । गत शैक्षिक सत्र पनि नराम्ररी प्रभावित हुन पुग्यो। आउँदो असारबाट सुरु हुने भनिएको शैक्षिक सत्रसमेत नकारात्मकरूपमा प्रभावित हुने देखिन्छ। वैकल्पिक माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने भनिएता पनि सो प्रभावकारी हुन सकेको देखिँदैन। शिक्षक एवं विद्यार्थीलाई मानसिकरूपमा समेत आघात पुगेको देखिन्छ।

कोभिडले मानिसको सामाजिक तथा सांस्कृतिक जीवनयापनलाईसमेत क्षतविक्षत बनाएको छ। मानिसले विवाह, व्रतबन्ध जस्ता सामाजिक क्रियाकलाप सञ्चालन गर्न सकेका छैनन् । त्यस्तै जात्रा, चाडबाडसमेत मान्न पाइरहेका छैनन्। यसले पूजापाठ, नित्यकर्ममासमेत प्रत्यक्ष असर पुर्‍याएको छ। यसले सामाजिक सम्पर्क एवं भेटघाटमासमेत अवरोध सृजना गरेको पाइन्छ। कोभिडका कारण मनोरञ्जन प्राप्त गर्ने व्यक्तिको अधिकारसमेत कुण्ठित हुन पुगेको छ । सिनेमा हलमा गएर सिनेमा हेर्ने, घुमफिर गर्ने, सामूहिक नाचगान गर्ने कार्यहरू वर्जित भएका छन्।

यसले विदेशी पर्यटकको आगमनलाई पूर्णतया निषेध गरेको छ । आन्तरिक पर्यटनलाईसमेत असर पुर्‍याएको छ। होटेल व्यवसायहरू पूर्णरुपमा बन्द छन्, जसका कारण पर्यटन व्यवसायी र होटेल व्यवसायीहरूलाईसमेत चिन्तित तुल्याएको छ। वैदेशिक रोजगारीमासमेत कोभिडले प्रत्यक्ष असर पुर्‍याएको छ । दैनिक सरदर १५०० जना नेपालीहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने रेकर्ड छ। वैदेशिक रोजगारीमा जाने धेरै नेपालीहरूले कोभिडका कारण आफ्नो रोजगारी गुमाएका छन्। यसले विप्रेषणमासमेत प्रत्यक्ष असर पुग्ने देखिन्छ। कोभिडले वैदेशिक व्यापारमासमेत प्रतिकूल असर पुर्‍याएको देखिन्छ।

एकातिर कोभिडका कारण सर्वसाधारणमा सन्नाटा छाएको छ । अर्को तिर वर्तमान समयमा मुलुकमा देखा परेको राजनीतिक अस्थिरतालेसमेत जनमानसलाई विक्षिप्त तुल्याएको छ। मुलुक लामो समय राजनीतिक अस्थिरताले प्रताडित हुन पुग्यो। वर्तमान संविधानमा अङ्गिकार गरिएको सुधारिएको संसदीय व्यवस्थाले मुलुकमा राजनीतिक स्थिरता हासिल हुने जनअपेक्षा थियो। वर्तमान समयमा दलहरुबीच देखा परेको सरकार बनाउने र गिराउने अनुचित प्रतिस्पर्धाले सर्वसाधारणमा ठूलो निराशा पैदा गरेको छ। अहिलेको समयमा सबै राजनीतिक दल, कर्मचारीतन्त्र र नागरिक समाज कोभिडविरुद्ध एकजुट भई महामारीको सामना गर्नुपर्दछ भन्ने जनअपेक्षा रहेको थियो।

कोभिडका कारण उत्पन्न नकारात्मक प्रभावले सर्वसाधारणमा विभिन्न मानसिक समस्याहरू उत्पन्न हुनसक्ने देखिन्छ। मानसिक रोगको स्रोत नै नैराश्यता र नकारात्मक सोच हो। यसको सिकार बालबालिकाहारुसमेत हुन सक्ने देखिन्छ। आफ्नो पेसा तथा रोजगारमा कोभिडका कारण असर पुग्नु, निषेधाज्ञाका कारण घरभित्रै बस्न बाध्य हुनु, खानेकुरा एवं पैसाको अभाव हुनु र शारीरिक एवं मानसिकरूपमा कसरत नपुग्नु जस्ता कारणले व्यक्तिलाई नैराश्यता एवं नकारात्मक सोचको विकास हुने गर्दछ।

कोभिडका कारण नेपालीको जनजीवनमा केही सकारात्मक प्रभावसमेत परेको देखिन्छ। यसले मानिसहरूलाई कम्प्युटर, ल्यापटप र मोबाइल जस्ता प्रविधिहरू चलाउने बानीको विकास गरेको छ। यसले जनमानसलाई प्रविधिमैत्री बनाउन सहयोग पुर्‍याएको छ। कोभिडका कारण मानिसलाई विपतसँग जुध्ने मानसिक एवं शारीरिक सामर्थ्य एवं दायराको विकास गरेको छ। कोभिडका कारण अनलाइन शिक्षाको प्रवर्धन भएको छ, जसका कारण व्यक्तिको लागत र समयको बचत समेत भएको देखिन्छ।

विश्वमा महामारी नियमित प्रक्रिया हो । समयको गतिसँगै पृथ्वीमा विभिन्न महामारीहरू देखा परेका छन् । महामारीले मानिसलाई विभेद शिक्षा दिई बिदा भएको इतिहास हामीसामु रहेको छ। महामारीको नकारात्मक पक्षलाई न्यूनीकरण गर्दै अगाडि बढ्नु प्रत्येक राज्य एवं व्यक्तिको कर्तव्य हो। महामारीका कारण र महामारीको आवरणमा अवसरवादीद्वारा सिर्जित समस्यालाई परास्त गर्नु राज्यको दायित्व हो।

महामारीको आवरणमा कालोबजारी गरी बजारभाउ बढाउने पहिचान गरी कारबाही गर्न राज्यका नियामक निकायहरू अग्रसर हुनुपर्ने देखिन्छ। महामारीकाबीच किसानबाट उत्पादित तरकारी तथा खाद्यान्नको सहज ढुवानी र बजारीकरण गर्न सरोकारवालाहरू अग्रसर हुनुपर्ने देखिन्छ। महामारीमा विभिन्न मानसिक समस्या देखा पर्न सक्ने हुँदा मानसिक रूपमा स्वास्थ्य रहन योग तथा ध्यानको प्रचार प्रसार एवं प्रयोगको आवश्यकता देखिन्छ। निषेधाज्ञामा गरिब तथा मजदुर वर्ग भोकै पर्न सक्ने देखिँदा त्यस्ता व्यक्तिहरूको पहिचान गरी वस्तुनिष्ठ तवरले खाद्यान्नको वितरण गर्नुपर्ने देखिन्छ। अतः सरकार, नागरिक समाज एवं व्यक्ति समुदायले हातेमालो गर्दै महामारीको सामना गरी अगाडि बढ्नु आजको आवश्यकता हो।

Tags :
प्रतिक्रिया दिनुहोस