दल दर्ता खारेजीको माग हास्यास्पद : माओवादी केन्द्र « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

दल दर्ता खारेजीको माग हास्यास्पद : माओवादी केन्द्र


२५ असार २०७८, शुक्रबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रले सरोकार नै नभएका व्यक्तिले निर्वाचन आयोगमा दल दर्ता खारेजीको निवेदन दिनु हास्यास्पद भएको जनाएको छ। केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै दल दर्ता खारेजीको मागलाई हास्यास्पद भनेका हुन् ।

सचिव ढकालले आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै अवसरवादी र अनैतिक तत्त्वले पार्टीलाई बदनाम गराउन निवेदन दर्ता गराएको बताएका छन्।

केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्त्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संविधान, कानुन, विधि विधान विपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं।’

पार्टीसँग सरोकार नभएको व्यक्ति निवेदक रहेको र दल दर्ता खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रियाका बारेमा जानकारी नहुनेले त्यस्तो हरकत गर्नु हास्यास्पद भएको विज्ञप्तिमा उल्लेख छ।

सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ का सरोज बुढाथोकीको नामबाट निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दर्ता गराएका थिए। माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका हुन् ।

यस्तै माओवादी छाडेर एमालेमा प्रवेश गरेका नेताहरू शुक्रबार पनि निर्वाचन आयोग गएका छन्। दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन नेताहरू आयोग पुगेको बुझिएको छ।

मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलगायत नेताहरू आयोग पुगेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस