युवाहरूको संयुक्त प्रयासको प्रतिफल : मेलापात अर्गानिक एग्रो फार्म « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

युवाहरूको संयुक्त प्रयासको प्रतिफल : मेलापात अर्गानिक एग्रो फार्म


२२ असार २०७८, मंगलबार


भक्तपुर । आफ्नै समाजमा व्यावसायिक कृषि सम्बन्धी केही उदाहरणीय कार्य गरौँ भन्ने अठोटसहित विक्रम सम्वत २०७५ सालमा विभिन्न पेसा र क्षेत्रमा कार्यरत नौ जना युवाहरूद्वारा सूर्य विनायक नगरपालिका -१, भक्तपुरमा स्थापित मेलापात अर्गानिक एग्रोफार्मले कृषि उत्पादन र उत्पादकत्वलाई जोड दिँदै आएको छ । मेलापात अर्गानिक एग्रोफार्मले आधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी कृषि पेसालाई व्यवसायीकरणतर्फ लैजाने प्रयत्न गरेको छ ।

‘मेलापात’ खेतीपातीसँग सम्बन्धित ठेट नेपाली शब्द भएको र गाउँघरको झल्को दिने हुनाले ‘मेलापात’ नाम प्रस्ताव गरेको फार्मका अध्यक्ष कवीन्द्र श्रेष्ठले बताए । श्रेष्ठ पेशाले आर्किटेक्ट इन्जिनियर हुन् ।

२० रोपनी क्षेत्रफलबाट सुरु गरिएको यो कृषि फार्म आजका दिनसम्म आईपुग्दा २६ रोपनी पुर्‍याइएको छ ।

यो फार्म क्षेत्र आर्थिक वर्ष २०७६-७७ मा कृषि ज्ञान केन्द्र, ललितपुरको सिफारिसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी बालीको पकेट क्षेत्रको लागि छनौट भएको थियो । चालु आर्थिक वर्ष २०७७-०७८ मा पनि फार्मलाई सूर्य विनायक नगरपालिकाबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट क्षेत्र विस्तार तथा विकासलाई निरन्तरताका लागि थप सहयोग प्राप्त भएको छ ।

फार्मले तरकारी बाली अन्तर्गत गोलभेँडा, काउली, बन्दा, तने बोडी, सिमी, हरियो धनियाँ, भेडे खुर्सानी, ब्रोकाउली, तिते करेला तथा पुष्प खेती समेत गर्दै आइरहेको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार इन्जिनियरिङ विधिबाट सर्वे र माटो परीक्षण गर्दै सुरु गरिएको फार्मले गुरु योजनासहित कामको थालनी गरेको थियो । एग्रोफार्मले स्थापनादेखि नै व्यावसायिक कृषिको साथसाथै जनस्वास्थ्यका दृष्ट्रिकोणले स्वच्छ, सफा, ताजा तथा अर्गानिक उत्पादनलाई विशेष प्राथमिकतामा राख्दै आएको छ ।

तरकारी बालीहरूको लागि उचित तापक्रम कायम राख्न प्लास्टिक घरहरूको निर्माण गरिएको छ भने प्लास्टिक घरहरूमा थोपा सिँचाइको व्यवस्था गरिएको छ । जसले थोरै पानीबाट पनि पर्याप्त सिँचाइ गर्न सकिन्छ ।

मास्टर प्लानमा तयार पारिएका प्रत्येक प्लास्टिकका घरहरूलाई जोनीङ गरेर कुन मौसम र क्षेत्रमा कुन–कुन बाली लगाउन उचित हुन्छ भन्नेबारे त्यसको निर्क्योल गर्न सहज भएको छ ।

प्रत्येक प्लास्टिकका टनेलहरूमा नम्बरिङ गरिएको छ । जसका आधारित भएर थोपा सिँचाइको व्यवस्था गरिएको छ, त्यसले समय र कामदार दुवैको बचत गरेको छ । साथै सो नम्बरमा आधारित भएर प्लास्टिक घरहरूको विवरण टिप्न र रेकर्ड राख्न सहज भएको सञ्चालकहरू बताउँछन् ।

मल्चिङ प्रविधि पनि परीक्षण गर्ने हेतुले आंशिक रूपमा ३० प्रतिशत प्लास्टिक घरहरूमा मल्चिङ प्रविधि अपनाइएको छ । साथै हिउँदमा सिँचाइका लागि पानीको समस्या हुन नदिन प्लास्टिक पोखरी पोखरीको निर्माण गरिएको छ । सोको लागि बागमती प्रदेश सरकार अन्तर्गत रहेको कृषि ज्ञान केन्द्र, ललितपुरबाट फार्मले सहयोग प्राप्त गरेको थियो ।

यस फार्मको मुख्य उत्पादन गोलभेँडा हो । जुन हरेक वर्ष सय टनको हाराहारीमा बिक्री वितरण हुँदै आएको छ । आर्थिक वर्ष २०७५-७६ र २०७६-७७ मा करिब रु. १ करोड जतिको कारोबार गरिसकेको फार्मका कोषाध्यक्ष सन्तोष राजथलाले जानकारी दिए । दैनिक जसो १० जना महिला कामदार तथा ४ जना पुरुष कामदारहरूले प्रत्यक्ष रोजगार पाइरहेको उनको भनाई छ ।

उत्पादनदेखि बजारीकरणसम्म चुनौती सँगसँगै अवसर पनि आइरहने अध्यक्ष कवीन्द्र श्रेष्ठले बताए । ‘तर पनि आफ्नो समूहको अठोट, दृढ सङ्कल्प, मिहिनेत तथा बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय तथा कृषि ज्ञान केन्द्र, ललितपुर एवं स्थानीय तहको निरन्तरको सहयोग र हौसलाका कारण हामीहरू अगाडि बढिरहेका छौँ’ श्रेष्ठले भने ।

स्वच्छ र गुणस्तरीय तरकारी उत्पादनका लागि आगामी दिनहरूमा नेट हाउस बनाएर खेती गर्ने सोच रहेको बताउँछन् श्रेष्ठ । किरा तथा रोग नियन्त्रण गर्ने, बाली संरक्षणको लागि सकेसम्म प्राकृतिक तथा गैर–रसायन उपाय अपनाउने, प्राङ्गारिक मल तथा झोल मलको प्रयोग गरी जमिनको उर्वरा शक्ति अभिवृद्धि गर्ने, आधुनिक उपकरणको प्रयोग गर्ने साथै तरकारीका बिउ समेत उत्पादन गरी बिक्रिवितरण गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाई छ ।

मेलापात अर्गानिक फार्मले यस वर्षको बागमती प्रदेशस्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा पाँचौँ स्थान प्राप्त गर्न सफल भएको छ । नयाँ प्रविधि अँगालेर नयाँ सोचका साथ अगाडी बढिरहेको फार्मले हालसम्म हासिल गरेको उपलब्धि फार्ममा आबद्ध भएका सबै जनाको मेहनत र कुशलताका कारणले सम्भव भएको सञ्चालकको भनाई छ ।

आगामी दिनमा पनि अझ बढी मेहनत, प्रविधि र सोचका साथ मेलापात फार्मको दायरा फराकिलो बनाई विविधतामा जोडसहित उत्पादनलाई बढाउँदै लैजाने योजना सञ्चालक समूहको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस