‘सर्वोच्चको फैसला आउन्जेल जसको हस्ताक्षर रहन्छ, ती एमाले होइनन्’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘सर्वोच्चको फैसला आउन्जेल जसको हस्ताक्षर रहन्छ, ती एमाले होइनन्’


१९ असार २०७८, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनका सन्दर्भमा फैसला आउँदासम्म जसको हस्ताक्षर शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती एमाले नरहने प्रष्ट पारेका छन् ।

शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले माधव नेपाललाई प्रतिपक्षी मोर्चामा हस्ताक्षर गरेर हिँड्नेको हैसियत के हुन्छ ? भनेर प्रष्ट बताइसकेको र यो कुरा नलुकेको बताए ।

उनले अदालतको फैसला आउँदासम्म कित्ता छुट्टिसक्ने बताए । उनले भने,‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन् ।’

अध्यक्ष ओलीले जेठ २ को सन्दर्भमा पनि प्रष्ट पारेका छन् । उनले पार्टी जेठ २ मा फर्किसकेको भन्दै जो आउँदैन उसलाई नपर्खिने बताए ।

ओलीले भने ‘जेठ २ मा फर्कियौं, त्यो भनेको यही हो । जो आउँदैन, अर्को पार्टीमा जानेलाई पर्खिने होइन । यात्रामा अगाडि पनि साथी भेटिन्छन् ।’

प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए, जसमा माधव नेपाल समूहका २३ जना पनि छन् ।

शुक्रबार मात्र अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिएका थिए । तर नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने अडान राख्दै आएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस