सप्तरीका आधा दर्जन गाउँ उच्च जोखिममा : सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सप्तरीका आधा दर्जन गाउँ उच्च जोखिममा : सतर्कता अपनाउन आग्रह


१९ असार २०७८, शनिबार


राजविराज । केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।

बाढीका कारण तिलाठी कोइलाडी, लोनियाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।

चुरे क्षेत्र हुँदै बग्ने खाँडो नदीको बाढीले प्रत्येक वर्ष सप्तरीको दक्षिण भेगका अधिकांश गाउँ डुबान र कटानमा पर्ने गरेको उनले बताए । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि उनले आग्रह गरे ।

खाँडो नदी तटबन्धको काम केही ठाउँमा अधुरो रहेकाले कुनै पनि बेला बाढी तिलाठी कोइलाडीमा आउन सक्ने र गाउँपालिकाका अधिकांश घर डुबानमा पर्न सक्ने जोखिम रहेको स्थानीयवासीको भनाइ छ । २०७३ सालको बाढीले तिलाठी कोइलाडी गाउँपालिका—४ का एक बालकको ज्यान लिएको थियो भने हजारौँ घरमा क्षति पुर्‍याएको थियो ।

त्यस्तै महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौँ खोलामा आउने बाढीले हरेक वर्ष सप्तरीको अधिकांश गाउँ डुबानमा पर्दा ठूलो धनजनको क्षति हुने गरेको छ ।

यस्तै, सप्तरीको सप्तकोसी, कञ्चनरूप, हनुमाननगर कंकालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाईर कृष्णासवरण, महेदवा, तिरहुत, रुपनी गाउँपालिकाका दर्जनौँ गाउँबस्ती प्रत्येक वर्ष वर्षाको समयमा बाढी आउँदा डुबानमा पर्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस