पक्की पुल बगाउँदा आवतजावत बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पक्की पुल बगाउँदा आवतजावत बन्द


प्रशासन संवाददाता

१९ असार २०७८, शनिबार


धादिङ । अविरल वर्षापछि आग्रा र महेश खोलामा आएको ठूलो बाढीले गएराति थाँक्रे गाउँपालिका—२ र ११ जोड्ने सिम्ले महेशखोलामा भर्खरै ढलान सम्पन्न भएको पक्की पुल बगाएको छ ।

अविरल वर्षाका कारण आग्रा खोलामा आएको बाढीले खोला किनारमा बसेका १३४ मजदूर परिवारको बिचल्ली भएको छ । सबै मजदूरलाई राति नै उद्दार गरी सुरक्षित ठाउँमा राखिएको जनजागृति माध्यमिक विद्यालयका रामचन्द्र रुपाखेतीले बताए ।

खोलामा ढुङ्गा झिक्ने, गिट्टी कुट्ने मजदूरहरु आग्राखोला किनारमा छाप्रो बनाई बस्ने गरेका थिए । अविरल वर्षासँगै खोलामा बाढी आएपछि उनीहरुको भागाभाग भएको थियो । उनीहरुलाई स्थानीयबासीको सहयोगमा खोला किनारबाट उद्दार गरी गाउँमा सारिएको थियो ।

तीन दिनदेखिको अविरल वर्षाले जिल्लामा जताततै पहिरो गएको प्रहरीले जनाएको छ । राजमार्गको गल्छी, बैरेनी, जरे, गजुरी, मलेखु, बेनीघाट, जोगिमारा तिकराङ तथा मौवाखोला क्षेत्रमा पहिराले सडकमा अवरोध पुर्याएको छ।

सडकमाथि खनिएका सहायक मार्गहरुबाट आएको लेदोले कल्भर्टहरु भरिएर भल सडकमा आएपछि राजमार्ग क्षेत्र क्षतिग्रस्त भएको र सफा गर्ने काम पहिरो रोकिएपछि गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस