धीरेन्द्र प्रेमर्षिका नेपाली गजलहरू : एक समीक्षा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धीरेन्द्र प्रेमर्षिका नेपाली गजलहरू : एक समीक्षा


१९ असार २०७८, शनिबार


गद्य होस् या पद्य साहित्यका जुनसुकै शैलीसँग सम्बन्धित विधाहरूका आ-आफ्नै स्थापित अनुशासन, नियम र सिद्धान्त हुन्छन् । त्यसैले कुनै पनि विधामा कलम चलाउनुपूर्व ती विधाका अनुशासन, नियम र सिद्धान्तको बारेमा गहिरो अध्ययन गरी नियमित र सार्थक अभ्यास गर्नु अति आवश्यक हुन जान्छ। सामान्य पाठक वर्गलाई विधाका नियमहरूको बारेमा खासै चासो नहुन सक्छ । तर, कुनै खास विधामा गम्भीर चासो राख्ने पाठकहरूले भने रचनालाई कुनै निश्चित विधाको नाम दिइएको छ भने त्यो रचनामा साँच्चिकै ती विधाको नियम र सिद्धान्तलाई रचनाकारद्वारा पालना गरिएको छ वा छैन भनी सजिलै पहिचान गर्न सक्दछ।

तसर्थः कुनै पनि रचनाकारले कुनै निश्चित विधामा कलम चलाउँदछ भने त्यस विधाको अनुशासनको पालना गर्नु रचनाकारको परम कर्तव्य हुन जान्छ। यसबाट नै सम्बन्धित विधाको वास्तविक विकास हुन्छ। यो लेखमा हामी साहित्यको अत्यन्त लोकप्रिय, गम्भीर र कठिन अनुशासनको पालना गर्नुपर्ने विधा ‘गजल’को बारेमा चर्चा परिचर्चा गर्छौँ। जसमा मुख्यतः नेपालको मैथिली भाषाका प्रसिद्ध साहित्यकार र कान्तिपुर एफ.एम.बाट दुई दशक भन्दा बढी अवधिदेखि प्रसारणरत मैथिली भाषाको लोकप्रिय कार्यक्रम ‘हेलो मिथिला’का सञ्चालक धीरेन्द्र प्रेमर्षि जीद्वारा गजल नाम दिई रचना गरिएको वहाँको पाँच वटा रचनाको त्यस विधाको विश्वव्यापीरूपमा स्थापित सिद्धान्त बमोजिम समीक्षा गर्नेछौँ।


तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नु पर्छ
अनि पो त भन्न पाइयो, साथी-साथी मिल्नु पर्छ

डाँडाभरि लाली गुराँस फक्रिएर मात्र हुन्न
मैदानको पर्तीमाझ चम्पा पनि खिल्नु पर्छ

स्वच्छ हवा, चोखो पानी, पारिलो त्यो घामबाट
नछेकिउन् झुप्रा भनी जम्मै ढिस्को छिल्नु पर्छ

देश जली राख्दा पनि मस्त घुर्न सक्नेलाई
खबरदारी कमिलाले छानी-छानी चिल्नु पर्छ

शान्तिरूपी अमृत पाउन समुद्र यो मथिँदै छ
केहीले त यो यज्ञमा विषै पनि निल्नु पर्छ

हुन त कुनै पनि रचना गजल हुनका लागि त्यसमा गजलका विभिन्न तत्त्वहरू निहित भएको हुनुपर्दछ। ती मध्ये ‘बहर’ र ‘काफिया’ गजलका अनिवार्य आधारभूत तत्त्वहरू हुन्। यी दुई बिना गजलको परिकल्पनासमेत गर्न सकिँदैन। माथि उल्लेखित रचनामा बहरको प्रयोग के, कसरी भएको छ वा छैन भनी तक्तीअ गरी जाँच गरौँ।

तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नु पर्छ
22 22 222 1 22 22 21 21
अनि पो त भन्न पाइयो, साथी-साथी मिल्नु पर्छ
2 2 1 21 212 22 22 21 21

माथिको तक्तीअलाई अर्कानको संरचनामा हेर्दाः

तिम्रो मनको/ खोपीमा नि/ मेरो गुच्चा/ पिल्नु पर्छ
2222/ 2221/ 2222/ 2121
अनि पो त भन्/ न पाइयो/ साथी-साथी/ मिल्नु पर्छ
2212/ 1212/ 2222 /2121

डाँडाभरि ला/ ली गुराँस/ फक्रिएर/ मात्र हुन्न
2222/ 2121/ 2121/ 2121
मैदानको/ पर्तीमाझ/ चम्पा पनि/ खिल्नु पर्छ
2212/ 2221/ 222/ 2121

यहाँ रचनामा काफियाको पालना भएको देखिएता पनि रचनाको पहिलो दुई वटा पङ्क्ति अर्थात् मिसराकोसँगैको दुईटा पङ्क्तिकोसमेत बहर मिलेको छैन। यो रचना स्वतः बेबहर हुन गयो।


लोकतन्त्र आउनु पर्छ, भनाई हैन गराइमा
यति मात्र के भनेथेँ, आगो बल्यो तराईमा

सँगसँगै काँधमाथि सूर्य बोकी ल्याको हैन
आज किन दर्छौ साथी हामीलाई पराइमा

पुर्खौँ देखि मिलीजुली पाल्दै आको मितेरीको
साइनो आज जान लाग्यो कतै बसाइसराइमा

सराबरी पसिनाले सिँचिएको यो माटोमा
कैफियत गर्‍यौ क्यार तिम्ले बीउ छराइमा

शान्तिप्रिय हुँदासम्म लाटो-बुङ्गो भनी-भनी
लाग्यौ तिमी हाम्रो भाग खोसी भुँडी भराइमा

पाँचै कोटी हातमा दिऊँ कामदाम बराबरी
होइन भने यसैगरी लाग्छन् सबै लडाइमा

उल्लेखित रचनामा काफिया दोष छ। यहाँ ‘गराइ’मा ह्रस्व इ रहेको छ भने र ‘तराई’ मा दीर्घई रहेको छ। तसर्थ यहाँ काफियाकै मात्राक्रम मिलेको देखिएको छैन। रचनाका बाँकी पङ्क्तिहरूमासमेत यहीँ कारणले दोष उत्पन्न भएको छ। बहरको कसीमा दाँज्न सुरुका दुई पंक्तिलाई तक्तीअ गरी हेरौँ ।

लोकतन्त्र/ आउनु पर्छ/ भनाई है/ न गराइमा
2121/ 2221/ 1222/ 11212
यति मात्र के/ भनेथेँ आ/ गो बल्यो/ तराईमा
2212/ 1222/ 222/ 1222

गजलको मतला नै यसको बहरको निर्माण गर्दछ। तर, यहाँ जसलाई मतलाकोरूपमा प्रस्तुत गरिएको छ त्यसको दुवै मिसरामा समान बहरको प्रयोग गरिएको छैन।


खोलो साह्रै बढेको छ, पारि जाउँला घटेपछि
ऐले बाबै ज्यान जोगाउने, बाच्ने सङ्कट हटेपछि

‘लगनी’को भाका हाल्दै गाउँछे बर्खी बुढिया
कहिले पेटभरि खाउँला, दिनभरि खटेपछि

उनी ठान्छन् सबै व्याधि भाग्ने गर्छ यसैगरी
छु मन्तरकी बाचा भन्दै सुगा रटान रटेपछि

माटामा नै मन्दिर देख्ने चलित्तरले पनि अब
बलि दिने ‘गहबर’मा रे, साढेसाती कटेपछि

शान्तिपूर्वक देउता पनि कहाँ गई गुहार्ने होला
परेवाको खोपमा नै बाजहरू अँटेपछि

मौसम छ प्रतिकुल, आइहाल्छ नि बाढी-पहिरो
वसन्त नि फुल्छ तर, प्रेमपथमा डटेपछि

प्रस्तुत रचनाका सुरुका चार पंक्तीलाई मात्र तक्ती गरी हेरौँ

खोलो साह्रै/ बढेको छ/ पारि जाऊँ/ ला घटेपछि
2222/ 1221/ 2121/ 2122
ऐले बाबै/ ज्यान जोगा/ उनेबाच्ने/ सङ्कट हटे/ पछि
2222/ 2122/ 1222/ 2212/ 2

‘लगनी’कोभा/ का हाल्दैगा/ उँछे बर्खी/ बुढिया
2222/ 2222/ 1222/ 22
कहिले पेट/ भरि खाउँला/ दिनभरि खटे/ पछि
2221/ 2212/ 2212/ 2

चार वटै मिसरामा असमान बहरको पालना गरिएको देखिएको छ ।


वेदनाको लहरले मुटु जब छुन्छ हजुर
ढुङ्गा जस्तो मुटु पनि त्यतिखेर रून्छ हजुर

रुन सक्नु भनेको नि वीरताकै निशानी हो
छलछाम, अहङ्कार आँसु ले नै धुन्छ हजुर

विषालु हो, टोक्छ पनि, टोक्ने मात्र हैन तर
पिरतीको गीत गाए सर्पले नि सुन्छ हजुर

हत्केलामा ज्यान राखी बसातमा कावा खाने
माकुराले बाध्यतामै जालो सधैँ बुन्छ हजुर

जिन्दगीको यात्रा माझ् निद्रासँगै रात चल्छ
परेली उघार्‍यो कि त बिहानी नै हुन्छ हजुर

यहाँ छुन्छ, रून्छ, धुन्छ, सुन्छ, बुन्छ, हुन्छ काफियाको रूपमा रहेको अर्थात् काफियाको नियम पालना भएको देखिन्छ । अब यसका सुरुका दुई पङ्क्तिको तक्तीअ हेरौँ

वेदनाको/ लहरले मुटु/ जब छुन्छ/ हजुर
2212/ 1222/ 221/ 12
ढुङ्गा जस्तो/ मुटु पनि त्यति/खेर रून्छ/ हजुर
2222/ 222/ 2121/ 12

दुईटै पङ्क्तिमा असमान बहरको प्रयोग गरेको देखिन्छ । तसर्थः यो रचना पनि बेबहर हुन जान्छ ।


उड्दा उड्दै परेवा त्यो आकाश मै ढलेको छ
चारो छर्ने हातबाटै गोली हजुर चलेको छ

अमृत फल्ने आसमा नै शहीदले रगत सिँचे
तै पनि त्यो फूलबारीमा विषै किन फलेको छ

सङ्कटको बादल फार्न सूर्य रच्छु भन्दै थियो
पौरखी त्यो कलम उफ् ! हिँड्नै नपाई गलेको छ

सबै भन्छन् तेरो आँगन पार्दै छौँ उज्यालो
यही अनुसन्धानमा घर त मेरो जलेको छ

मेरो मुहार हँसाउनलाई मेरै दुवै हातले
मलम भन्दै मेरै घाउमा नुनचुक दलेको छ

बत्ती सारा निभे पनि, जुन तारा उँघे पनि
‘प्रेमर्षि’को छातीभित्र प्रेम दियो बलेको छ

उल्लेखित रचनाको सुरुका दुई पङ्क्तिको तक्तीअ मार्फत बहरको जाँच गरौँ

उड्दा उड्दै/ परेवा त्यो/ आकाश मै/ ढलेको छ
2222/ 1222/ 2212/ 1221
चारो छर्ने/ हातबाटै/ गोली हजुर/ चलेको छ
2222/ 2122/ 2212/ 1221

शायद अलिकति मात्र ध्यान दिईएको भए दुईटैल पङ्क्तिको बहर समान हुन सक्थ्यो। तर, त्यसो हुन सकेन अर्थात् यो माथिका सबै रचना झैँ यो रचना पनि बेबहर रहेको देखिएको छ।

धीरेन्द्र प्रेमर्षि जीले नेपाली भाषाका जुन रचनाहरूलाई नेपाली गजल भनी नाम दिई प्रकाशन र प्रसारण गर्दै आईरहनु भएको छ तीमध्ये अधिकांश रचनामा काफियाको प्रयोग सही ढङ्गले भएको पाइएता पनि बहरलाई भने वहाँले पूर्णरूपमा नजरअन्दाज गर्नु भएको छ। कतिपय रचनामा काफिया दोषसमेत देखिएको छ। अर्थात् काफियाको सही प्रयोगमा वहाँ चुक्नु भएको देखिन्छ। तसर्थः गजलको विश्वव्यापीरूपमा स्थापित नियम, अनुशासन र सिद्धान्त बमोजिम वहाँको उल्लेखित सबै रचना खारेज हुन जान्छ। अर्थात्, ती रचनाहरू गजल होइनन्।

(धीरेन्द्र प्रेमर्षिका उल्लेखित रचनाहरू साहित्य सङ्ग्रह डटकम बाट साभार गरिएको छ ।)

Tags :
प्रतिक्रिया दिनुहोस