यी नदीमा बढ्दै पानीको बहाव, असार १९ सम्म बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यी नदीमा बढ्दै पानीको बहाव, असार १९ सम्म बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह


१६ असार २०७८, बुधबार


काठमाडौँ । आज देशका विभिन्न नदीहरूको पानीको बहाव बढेको छ । पूर्वी राप्ती, कमला, वाग्मती र कन्काई जलाधारका केही सहायक नदीहरूमा मध्यमदेखि भारी वर्षा भई पानीको बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार तमोर, भोटेकोसी, सुनकोसीलगायत कोसीका सहायक नदीहरूसहित त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, माब्दीलगायत नारायणीका सहायक नदीहरूमा पनि बहाव उल्लेख्य बढ्नेछ । केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको छ ।

यस्तै आज कर्णाली, महाकाली र यसका सहायक नदीमा भने बहाव सामान्य रहने जनाइएको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुङ्गा, ताप्लेजुङ सङ्खुवासभा, सोलुखुम्बु, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, बागलुङ, नवलपुर, नवलपरासी, दाङ, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव केही बढ्नेछ । केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

आजदेखि असार १९ गतेसम्म तमोर, भोटेकोसी, सुनकोसीलगायत कोसी नदीका सहायक नदीहरू र त्रिशूली, बूढीगण्डकी, कालीगण्डकी, मादीलगायत नारायणीका सहायक नदीहरूलगायतमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकोले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

Tags :
प्रतिक्रिया दिनुहोस