युरो कप : क्रोसियालाई पारजित गर्दै स्पेन क्वाटरफाइनलमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युरो कप : क्रोसियालाई पारजित गर्दै स्पेन क्वाटरफाइनलमा


एजेन्सी

१५ असार २०७८, मंगलबार


काठमाडौँ । क्रोएसियालाई पराजित गर्दै स्पेन युरो कप फुटबल २०२० को क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा क्रोएसियालाई ५–३ ले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा प्रेश गरेको हो ।

एक खेलमा ८ गोल गरी स्पेन विजेता बनेको छ । युरो कपमा धेरै गोल गर्ने यो दोस्रो हो । यस अघि सन्१९६० को पहिलो संस्करणको पहिलो खेलमै फ्रान्स र युगोस्लाभियाबीचको खेलमा ९ गोल भएको थियो ।स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे । क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

पार्केन एरिनामा सुरुवाती अग्रता क्रोएसियाले अग्रता बनाएको थियो । क्रोएसियाले २० औँ मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए । उनी युरोपियन च्याम्पियनसिपमा आत्मघाती गोल गर्ने चौथो गोल किपर हुन् । यस्तै जारी प्रतियोगिताको यो नवौँ आत्मघाती गोल हो । तर, खेलको ३८ औँ मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । अल्भारो मोराटाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेपछि प्राप्त रिबाउन्डमा सराबियाले गोल गरेका थिए ।

खेलको ५७ औँ अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २–१ गोलको अग्रता दिलाए । उनले फेरान टोरेसमा क्रसमा हेडमार्फत गोल गरेका हुन् । डिफेन्डर अज्पिलिकुइटाको यो स्पेनको लागि पहिलो गोल हो । खेलको ७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३–१ को अग्रता दिलाए । उनले पाउ टोरेसको पासमा सहजै गोल गरे । ८५ औँ मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । उनी ६७ औँ मिनेटम एन्टी रेबिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मारियोले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए । उनले मिस्लाभको पासमा हेडरमार्फत गोल गरेका थिए । मारियो ७९ औं मिनेटमा निकोलाको स्थानमा मैदान प्रवेश गरेका थिए । निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो ।

खेलको १०० औँ मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई ४–३ को अग्रता दिलाए । डानिल ओल्मोको पासमा उनले गोल गरे । त्यसपछि खेलको १ सय ३ औँ मिनेटमा मिकेलले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई ५–३ गोलको रोमान्चक जित दिलाए । स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको हो ।

अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस