राजस्व चुहावट नियन्त्रणमा अन्तरनिकाय समन्वयमा जोड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजस्व चुहावट नियन्त्रणमा अन्तरनिकाय समन्वयमा जोड


१४ असार २०७८, सोमबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन अन्तरनिकाय समन्वयमा जोड दिइएको छ । यहाँ आज बसेको राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका बैठकमा सरोकार संस्थाका प्रतिनिधिले समन्वयात्मक रुपमा चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकले कोभिड–१९ को विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहजीकरण गर्ने तथा राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने निष्कर्ष निकालेको छ ।

बैठकले राजस्व संकलनलाई परिणाममुखी बनाउने, जिल्लास्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिसमक्ष पेश गर्ने र राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने निर्णय पनि गरेको विभागका उपमहानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

विभागका उपमहानिर्देशक तिवारीले राजस्व चुहावट जोखिमका क्षेत्र, सूचना प्रविधिको प्रयोगसँगै आर्थिक अपराधमा देखा पर्ने नवीन चुनौती र अपनाउनुपर्ने रणनीति, कोभिड– १९ र यसले राजस्व संकलनमा पारेका असरका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो क्रममा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका पछिल्ला निर्णय र कार्यान्वयनका अवस्थाका साथै जिल्लास्थित राजस्व चुहावट अनुगमन समितिलाई प्रभावकारी रुपमा परिचालन गर्ने सम्बन्धमा समेत छलफल भएको थियो । राजस्व संकलन तथा चुहावटमा कोभिड–१९ का कारण हालसम्मका अवधिमा प्रत्यक्ष असर परेको देखिए तापनि समग्रमा संकलन सन्तोषजनक नै रहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस