बाढीले गाउँपालिकाको कार्यालय विस्थापनपछि अर्को जिल्लाबाट सेवा प्रवाह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाढीले गाउँपालिकाको कार्यालय विस्थापनपछि अर्को जिल्लाबाट सेवा प्रवाह


१४ असार २०७८, सोमबार


मनाङ । बाढीले यहाँको नासों गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ । गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेँसीशहरमा अस्थायी कार्यालय सेवा दिँदै आएको छ ।

गत जेठ ३१ गते रातिदेखिको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीले कार्यालयसमेत बगाएपछि गाउँपालिकावासीको सहजताका लागि गाउँ कार्यपालिका बैठकले बेँसीशहरमा आपत्कालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम अहिले गाउँपालिकाको सेवा बेँसीशहरबाट दिइँदै आएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।

बाढीले सदरमुकाम चामे जाने पुल बगाएको र विद्युत् नभएको अवस्थामा बेँसीशहरबाट कामकाज गर्ने गरी केन्द्र स्थापना गरिएको घलेले बताए । गाउँपालिकाले कारोबार गर्ने बैंक बेँसीशहरमा रहेकाले पनि यहाँ आपत्कालीन कार्यालय सञ्चालन गर्न सहज भएको प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताए।

रेग्मीका अनुसार गाउँपालिकाभर पूर्ण रुपमा जोखिम रहेकाले कार्यालय सञ्चालन गर्ने उपयुक्त स्थान नहुँदा छिमेकी जिल्लामा झर्न बाध्य भएको हो । त्यसपछिका तल्लो क्षेत्रको मस्र्याङ्दी आसपासका लमजुङसमेत जोखिममा छ  । ‘आर्थिक वर्ष अन्तिममा आएको छ, योजनाको भुक्तानी गर्नुपर्नेछ, राहतको व्यवस्थापन सहजीकरण गर्नु छ, त्यसैले कार्यपालिका बैठकले बेँसीशहरमा आपत्कालीन कार्यालय सञ्चालन गर्ने निर्णय हो’, उनले भने ।

राहत वितरण गर्न पुगेका हेलिकप्टरसँग सहकार्य गरी गाउँपालिकाका कर्मचारीलाई बेँसीशहर ल्याइएको हो । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाप्रमुख र लेखाप्रमुखले बेँसीशहरबाट सेवा प्रवाह गरिरहेका छन् । अहिले नासोंबाट कुनै पनि आर्थिक कारोबार गर्न सक्ने अवस्था छैन ।

धारापानीमा सडक र घर बगाएपछि प्रहरी नै अहिले स्थानीयवासी विद्यालयमा बस्दै आएका छन् । मानिस सबै ओडार गाउँमा विस्थापित भएका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले धारापानीमा अब मानिसको बस्ती बस्न गाह्रो रहेको बताए । लमजुङ प्रशासनको सहयोगमा नासोंको आपत्कालीन कार्यालयका लागि सकेसम्म सरकारी कोठा खोज्ने प्रयास भइरहेको उनले जानकारी दिए ।

धारापानीस्थित सो गाउँपालिकाको कार्यालयसँगै रहेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सीमा प्रहरी चौकी, पर्यटकीय होटलसहित स्थानीयवासीका १० घर मस्र्याङ्दीले बगाएको थियो । गाउँपालिकाको योजना अनुगमन, भुक्तानी, नयाँ योजना छनोटलगायत महत्वपूर्ण काम गर्दै आएको कम्प्युटरसहितका सबै कागजपत्र मस्र्याङ्दी नदीको बाढीले लगेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत रेग्मीसहित १५ कर्मचारीले पाँच दिन ढुङ्गाको पहरामुनि रात बिताएका थिए । गाउँपालिकामा बिजुली, सञ्चार, इन्टरनेट नहुँदा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीच नै सम्पर्कविच्छेद भएको थियो ।

‘एक ठाउँबाट अर्को ठाउँमा पुग्ने बाटो, पुल सबै बाढीले बगाएको छ, मान्छे हिँड्नेसमेत बाटो छैन, अब ठूलो सङ्कट आउन सक्ने स्थिति छ, नागरिक थुनिएका छन्”, उनले भने, ‘पूर्ण रुपमा विस्थापित भएको ठाउँमा खाद्यान्न पुगेको छैन ।’

कार्यपालिकाको बैठकले प्रत्येक वडालाई १५ बोरा चामल र दुई बोरा नुनको व्यवस्था गरेको छ । पूर्ण रूपमा विस्थापितलाई अलग्गै एक बोरा चामल र खाना पाएका तथा खानका लागि भाँडा दिइएको गाउँपालिका अध्यक्ष घलेले बताए ।

घलेले प्रभावित क्षेत्रमा नै कम राहत पुगेको बताए । ‘बेंसीशहरबाट यातायात खुलाउन सक्ने अवस्था तत्काल देखिँदैन, सबै वडामा खाद्यान्न उत्पादन पनि हुँदैन’, उनले भने, ‘बाढीसँगै स्वास्थ्यमा समस्या आउन सक्छ, राज्यले तत्काल सम्बोधन नगरे स्वास्थ्य र भोकमरीको अवस्था सिर्जना हुनसक्ने स्थिति छ ।’ मनाङका चार स्थानीय तहमध्ये सबैभन्दा प्रभावित नासों गाउँपालिका हो ।

Tags :
प्रतिक्रिया दिनुहोस