अमेरिकाले थप साढे पाँच करोड डोज खोप बाँड्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाले थप साढे पाँच करोड डोज खोप बाँड्ने


एजेन्सी

८ असार २०७८, मंगलबार


एजेन्सी । अमेरिकाले थप साढे ५ करोड डोज खोप बाँड्ने भएको छ। समाचारसंस्था रोयटर्सले जनाए अनुसार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सोमबार खोप बाँड्ने विस्तृत विवरण सार्वजनिक गरेको हो ।

अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई ७५ प्रतिशत कोभ्याक्समार्फत् खोप दिइने र बाँकी २५ प्रतिशत सोझै सम्बन्धित मुलुकलाई दिनेछ। पछिल्लो खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ।

दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने भएको छ। नेपाल भने सोझै खोप पाउने मुलुकको सूचीमा समावेश गरिएको छैन।

नेपालले एसियाका लागि छुट्याएको झन्डै १ करोड ६० लाख डोज खोप बाँडनु पर्नेछ। कोभ्याक्सअन्तर्गत उक्त खोप भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, लाओस, पपुवा न्यू गिनी, ताइवान, कम्बोडिया र अरू प्यासेफिक आइल्यान्डहरूमा वितरण हुनेछ।

अमेरिकाले अहिले फाइजर, मोडेर्ना, जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएका खोप अरू मुलुकलाई बाँड्न लागेको हो।

अमेरिकासँग अक्सफोर्ड÷अष्ट्राजेनेकाले बनाएको खोप पनि सञ्चित छ। तर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले उक्त खोपलाई अहिलेसम्म प्रयोग अनुमति दिएको छैन।

एफडिएले प्रयोग अनुमति दिए अष्ट्राजेनेकाको खोप पनि अमेरिकाले अरू मुलुकलाई दिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस