म्याग्दीमा नयाँ पुस्तक भित्रियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

म्याग्दीमा नयाँ पुस्तक भित्रियो


७ असार २०७८, सोमबार


म्याग्दी । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाका बीच म्याग्दीमा नयाँ पाठ्यपुस्तक भित्र्याइएको छ ।

शिक्षा मन्त्रालयले असार १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेसँगै पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सामुदायिक विद्यालयको पुस्तक भित्र्याएका छन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित क्षेत्रीय कार्यालयसँग समन्वय गरेर कक्षा १ देखि १० सम्मको पुस्तक आयात गरिएको महासङ्घका अध्यक्ष नवराज पौडेलले बताए । ‘जिल्ला शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कको आधारमा म्याग्दीलाई पुग्ने पुस्तक ल्याएका छौँ’, उनले भने, ‘प्रतिकक्षा एक हजार ७०० देखि रु दुई हजार सेटको हाराहारीमा पुस्तक ल्याएका छौँ ।’

विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुले पनि घरमै बसेर पढ्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । भौगोलिक विकटता र प्रविधिको पहुँच नभएका ठाउँमा अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गर्न चुनौती छ ।

विद्यार्थीले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले निषेधाज्ञामै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउन लागिएको हो । महासङ्घले पुस्तक वितरणलाई व्यवस्थित बनाउन बेनीमा बिक्री केन्द्र स्थापना गरेको छ ।

टाढाका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक वितरण शुरु भएको छ । पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि शैक्षिक सत्र शुरु हुनुअघिनै ढुवानी र वितरण गरिने पुस्तक व्यवसायी ठाकुर शर्माले बताए ।

कक्षा ५ देखि १० सम्मका लागि जनक शिक्षा सामग्रीबाट रु ७६ लाख बराबरको र कक्षा १ देखि ४ सम्मको निजी प्रकाशन गृहबाट रु ३६ लाख बराबरको पुस्तक खरिद गरिएको छ । दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा पुस्तक खरिदमा यस वर्ष रु एक करोड १२ लाख खर्च हुने बताइएको छ ।

एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । कोरोनाको जोखिम तथा लम्बिँदो निषेधाज्ञाले तत्कालै विद्यालय खुल्ने सम्भावना नभए पनि पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययनको वातावरण बन्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस