मनाङका ११८ बाढी पहिरो पीडितको उद्दार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मनाङका ११८ बाढी पहिरो पीडितको उद्दार


४ असार २०७८, शुक्रबार


मनाङ । अबिरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रबार (आज) मनाङका विभिन्न स्थानबाट ११८ जनाको उद्दार गरिएको हो ।

दुई वटा हेलिकप्टरबाट यहाँका सबै क्षेत्रबाट ती पीडितहरुको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । प्रजिअ लामिछानेका अनुसार नार्पाभूमि गाउँपालिकाको फू गाउँबाट ५६ जना, नासों गाउँपालिकाबाट ५५ र ओडारबाट १० जनाको उद्दार गरिएको छ ।

नासोंका बाढी पहिरो पीडितलाई मनाङको सदरमुकाम चामेमा स्थानान्तरण गरिएको उनले बताए । फुगाउँका १६ जनालाई दानाक्युमा व्यवस्थापन गरिएको छ भने अन्य पीडितलाई फू गाउँकै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।

मनाङका विभिन्न क्षेत्रका बाढी पहिरो पीडितलाई चामेमा व्यवस्थापन कार्य भइरहेको लामिछानेले बताए । मनाङका चार गाउँपालिकाका विभिन्न गाउँ वा स्थानीय पालिकाबीचको सम्पर्क र आवतजावत पूर्णरुपमा अवरुद्ध छ । ‘‘अन्य क्षेत्रमा पनि बाढी पहिरोमा परेका पीडितको उद्दार गर्ने कार्य भइरहेको छ, कहीँ कतै सम्पर्कमा नआएका छन् कि भनेर हेलिकप्टरबाट खोजी कार्य भइरहेको छ,’ प्रजिअ लामिछानेले भने । गृह मन्त्रालयको सहयोगमासेनाको एउटा हेलिकप्टर र पूर्व सांसद पोल्देन छोपाङको व्यक्तिगत खर्चमा हेलिकप्टर उद्दारमा खटिएको छ ।

केही दिनको अबिरल वर्षापछि आएको बाढी पहिरोले गर्दा मनाङमा सडक, विद्युत् र सञ्चार पूर्णरुपमा अरुवद्ध भएको छ । यहाँका साना खोलानाला समेत वर्षासँगै बढेको भेलले सडकका धेरै ठाउँमा भत्किएको छ । बाढी पहिरोले गर्दा विभिन्न क्षेत्रका व्यक्तिहरु बीच सम्पर्क हुन नसकेको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा विभिन्न क्षेत्रमा खानेपानी, सडक, विद्युत् र सञ्चार हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस