बुटवल आम्दा अस्पतालमा सेवा विस्तार गरिँदै « प्रशासन
prasaLogo
१५ श्रावण २०७८, शुक्रबार
   

बुटवल आम्दा अस्पतालमा सेवा विस्तार गरिँदै


३ असार २०७८, बिहिबार


लुम्बिनी । बुटवल उपमहानगरले कोभिड–१९ को महामारीलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्वतयारी थालेको छ । बालबालिका र सुत्केरीका लागि लक्षित गरी उपचारका सबै प्रबन्ध मिलाउन तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन सबै पक्षसंग समन्वय एवम् सहकार्य भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसूतिको विशिष्टिकृत सिटी अस्पतालकै रुपमा रुपान्तरण गर्नेगरि पहल भइरहेको र तत्कालका लागि कोभिड विशेष सेवा थप गर्न लागिएको उनको भनाई छ ।

श्यया थप गर्ने, उपकरण बढाउने र जनशक्तिको समेत आवश्यक प्रबन्ध मिलाउने विषयलाई पूर्वतयारीको प्राथिमकतामा राखिएको उनले बताए । हाल अस्पतालमा कोभिड विशेषका मात्रै पाँच आइसियूसहितका श्यया सञ्चालनमा छन् । सेवालाई विस्तार गर्दै कोभिड प्रभावित बालबालिका र सुत्केरीलाई लक्षित आधुनिक उपकरण जडित सुविधासम्पन्न उपचार केन्द्र बनाउन लागिएको अस्पतालका निर्देशक डा। राजेन्द्रप्रसाद बस्यालले बताए । अहिले भइरहेको सेवालाई जनशक्ति र आवश्यक उपकरणसहित थप विस्तार र व्यवस्थित बनाउन सुरु गरिएको उनले बताए ।

उनले उपमहानगरबाट ५० लाख बारबरको स्रोत सुनिश्चित गर्ने गरी ३० लाख प्राप्त भइसकेको र अस्पालमा निर्माणका काम पनि अगाडि बढिरहेको जानकारी दिए । अस्तालमा विशेष कक्ष निर्माण गरेर आवश्यक श्यया र उपकरण थप गर्न लागिएको छ ।

विसं २०५५ कात्तिकमा स्थापना भएको उक्त अस्पतालमा हाल एक सय ५० श्यया छन् । विभिन्न विषयका एक सय ८१ जना जनक्तिले अस्पतालमा सेवा दिइरहेका छन् । यसलाई विस्तार गर्दै बाल र प्रसूतीको विशिष्टिकृत सिटी अस्पतालका रुपमा विकास गर्ने भन्दै उपमहानगरले नीति तथा कार्यक्रमसमेत बनाएको छ ।

केन्द्र र प्रदेश सरकारको सहयोग तथा नीजि क्षेत्रको सहकार्यमा उक्त अस्पताललाई बाल तथा प्रसुतीको विशिष्ट अस्पताल बनाउन लागिएको हो । महामारीका गएका लहरबाट पाठ सिक्दै आउने लहरको सामनाका लागि उपकरणको प्रवन्ध मिलाउन, जनशक्तिको व्यवस्थापन गर्न र समन्वयका कामलाई यथाशीघ्र सञ्चालन गर्न बालरोग विशेषज्ञले उपमहानगरलाई सुझाव दिएका थिए ।

उपमहानगरले हालै यसक्षेत्रका बालरोग विशेषज्ञहरु, सरुवा रोगका विषयका जानकार, स्वास्थ्य संस्था सञ्चालन तथा विभिन्न विषयका विज्ञहरुसंग विशेष छलफल गरेको थियो । कोभिड–१९ को महामारीको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै विज्ञहरुसंग परामर्श गरिएको र सोही आरधारमा आम्दा अस्पताललाई प्राथमिकतामा राखिएको हो ।

विज्ञहरुले जनशक्ति थप गर्न, उपकरणको प्रवन्ध मिलाउन र आपतकालिन अवस्थामा समन्वय गर्ने विशेष संयन्त्र निर्माण गर्न सुझाव दिइएको बालरोग विशेषज्ञ डाक्टर राजु काफ्लेले जानकारी दिए । उनले बाल र मातृ सुरक्षाका विषयमा बुटवलले देखाएको तदारुकता उदाहरणीय रहेको बताए ।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताललाई नै केन्द्रमा राखेर बालबालिकाको उपचार हुने सबै अस्पतालमा समन्वय गरिने भएको छ । यसका लागि आवश्यक संयन्त्र बनाउने र त्यसका लागि आवश्यक उपकरण तथा जनशक्ति तीनै तहका सरकार र निजी क्षेत्रसमेतको सहकार्यमा व्यवस्थापन गर्ने सर्वपक्षीय छलफलको निर्णय भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस