विपद् नियन्त्रणमा सबै मन्त्रालयलाई परिचालन गरिने, उद्धारमा जुट्न सुरक्षा निकायलाई निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विपद् नियन्त्रणमा सबै मन्त्रालयलाई परिचालन गरिने, उद्धारमा जुट्न सुरक्षा निकायलाई निर्देशन


२ असार २०७८, बुधबार


काठमाडौँ। सरकारले विपद् नियन्त्रणमा सबै मन्त्रालयलाई परिचालन गर्ने निर्णय गरेको छ । बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई परिचालन गर्ने विपद् व्यवस्थापन कार्यकारी समितिले निर्णय गरेको हो ।

बुधवार बिहान गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको सिंहदरवारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्य योजनालाई पारित गरेको छ । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको छ ।

सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत् प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको हो ।

बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी–पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्य सामग्री, टेन्टलगायतका अरू आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना,२०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि,२०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७८ , गैर सरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि, २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनर्निर्माण सम्बन्धी कार्यविधि २०७८ लाई स्वीकृत गरेको छ।

बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नंम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ।

बैठकमा गृहमन्त्री खगराज अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

अधिकारीले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिए ।

मङ्गलवार साँझ सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । यस्तै मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट क्षति भएका विवरणहरू आइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस