नेकपा एमालेको आन्तरिक द्वन्द्व : घोच्नेहरू हाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा एमालेको आन्तरिक द्वन्द्व : घोच्नेहरू हाबी


३१ जेष्ठ २०७८, सोमबार


२०५४ सालमा छैठौँ महाधिवेशनपछि नेकपा एमाले औपचारिकरुपमा विभाजन भयो । विभाजित पार्टी नेकपा माले बन्यो त्यसको नेतृत्व वामदेव गौतम, सहाना प्रधान, सिपी मैनालीहरूले गरेका थिए भने नेकपा एमालेको नेतृत्व माधव नेपाल, केपी ओलीहरूले गरेका थिए । त्यसअघि २०५१ सालमा संसदमा सबैभन्दा ठूलो दलकोरुपमा स्थापित भई नेपालमा पहिलो कम्युनिष्ट पार्टीको सरकार बन्यो ।

जनमुखी कार्यक्रम लागू गरी विश्वमा नै चासोकोरुपमा हेरेको यस पार्टीले २०५४ को स्थानीय निकायको निर्वाचनमा करिब दुई तिहाइ जितेपछि झन् देशी विदेशी प्रतिकृयावादीहरुको तारो बन्यो यो पार्टी । त्यो बेला पार्टी विभाजन भएको बहाना जे भनिए पनि विभिन्न देशी विदेशी शक्तिहरू तथा यस्तै प्रकारका पछाडिबाट औँला घोच्नेहरूको बाहुल्यता, यथार्थ धरातल भन्दा पनि पछाडिबाट औँला घोच्नेहरूले उचालेकै लाइनमा मनस्थिति बनाउने प्रवृत्तिले पार्टीलाई एक बनाउन गाह्रो हुन्छ । आन्तरिक व्यक्तिगत टकराबका कारण पार्टी विभाजन भएको केही वर्षपछि एमाले र मालेको एकीकरण हुँदा छर्लङ्गै भयो ।

प्रसङ्ग २०५४ सालमा नेकपा एमाले फुट्दाको हो । केही दिन अघि सिंहदरवारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा निवर्तमान सांसद सोम प्रसाद पाण्डेले २०५४ सालमा नेकपा एमाले फुटेपछिको एउटा घटना सुनाउँदै हुनुहुन्थ्यो । २०५४ सालमा पार्टी विभाजन भएकै समयमा कुनै विदेशी किसान नेता नेपाल आएका रहेछन् र उनले किसान सङ्घका एक जना स्थानीय नेतासँग ‘किन नेकपा एमाले फुटेको हो कमरेड ?’ भनेर अङ्ग्रेजीमा सोधेछन् त्यसको जवाफमा ती किसान सङ्घका नेताले भनेका थिए रे ? “सिपी मैनाली पुश द फिंगर टु वामदेव’ स एनश, देन सिपिएन युएमएल ब्रेक कमरेड ।’

अहिले पनि त्यहीँ प्रवृत्ति दोहोरिएको छ कि नेताहरूको पछाडिबाट ‘पुश’ गर्नेहरू हाबी भएका छन् । केही दिन अघि माधव नेपाल समूहका केन्द्रीय नेताहरूको बैठकमा बहुसङ्ख्यक सदस्यहरूले कुनै पनि हालतमा यो समूह केपी ओलीसँग मिल्नुहुँदैन, अलग्गै पार्टी बनाएर जानु पर्छ भन्नेहरूको बाहुल्यता रहेको छ अरे ! जुन कुरा रामकुमारी झाँक्री, विरोध खतिवडा, डा.वेदुराम भुषालहरुको पछिल्लो पटक मिडियामा बोलेका भाषाबाट प्रष्टै झल्किरहेको छ ।

माधव नेपाल समूहका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट तथा केपी ओलीको पक्षका प्रदीप ज्ञावली, ईश्वर पोखरेल लगायतका नेताहरुकाबीचमा पछिल्लो पटक भएका वार्ताको खबरले वास्तवमा नेकपा एमालेलाई एकताबद्ध गरेर लैजानुपर्छ भन्ने चाहाना राख्ने नेता कार्यकर्ताहरूका लागि शुभ खबर भए पनि यस लेखको शीर्षक झैँ नेताहरूलाई पछाडिबाट औँलाले ‘पुश’ गर्नेहरू भने बेखुसी भएका उनीहरूका सामाजिक सञ्जालका प्रष्फुटनबाटै झल्किन्छ ।

बैठकमा नै त्यस्ता नेताहरूले उल्टै सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाल गोकर्ण विष्टहरूलाई शङ्काको घेरामा राखेका थिए भन्ने भनाई आएको थियो । त्यसपछि उनीहरूले आफू केपी ओलीतिर लागेको नभई पार्टी एक बनाउनका लागि मात्र अनौपचारिकरुपमा पहल गरेको भन्दै उल्टै बैठकमा स्पष्टीकरण दिनु परेको थियो रे !
त्यसपछि केपी ओलीले नेकपा एमाले एकताका लागि आह्वान जारी गरे ।

त्यसको आशय जे सुकै होस् तर यस अघिको माधव नेपाल पक्षको एउटै माग पार्टीलाई २०७५ जेठ २ गतेमा लैजानु पर्यो भन्ने भए बमोजिम त्यसो भए पार्टीको बैठक बोलाउन तिर लाग्नु पर्नेमा त्यो आह्वानलाई माधव नेपाल पक्षका बहुसङ्ख्यक नेताकार्यकर्ताहरुले ठाडै अस्वीकार गरी केपी ओलीले झुक्क्याउनका लागि ल्याएको कार्ड हो छलकपटपूर्ण हो भन्दै यसलाई कुनै हालतमा पनि स्वीकार गर्नुहुँदैन भनेर माधव नेपालको पछाडिबाट औँला घोच्नेहरूको कमी देखिएन । उनीहरूको आज बसेको बैठकमा पनि बहुसङ्ख्यक नेताहरूलाई त्यो आह्वानका पछाडि नलाग्न दबाब दियो । उतापट्टि शेर बहादुर देउवा र प्रचण्डहरूले पनि नेकपा एमालेलाई कुनै पनि हालतमा एक हुन नदिने रणनीति लिएका छन् र माधव नेपाललाई घुमाइरहेका छन् ।

२०५१ को प्रतिनिधिसभाको निर्वाचन र २०५४ को स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले जनताबाट पाएको विश्वासलाई के कसरी चकनाचुर गर्न सकिन्छ भनेर दाउ खोजिरहेका तत्कालीन समयमा नेपाली काँग्रेस तथा विभिन्न विदेशी शक्तिहरूले महाकाली सन्धिलाई उपयुक्त हतियार बनाई पार्टीका नेताहरूलाई दुई धारमा परिणत गरी अन्तमा पार्टी फुटाउन सफल भएका थिए । जुन कुरा पछि नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काले नेकपा एमालेलाई आफूले फुटाएको भनेर कतै सार्वजनिक गरेको समाचार आएको थियो ।

यदि त्यो बेला नेकपा एमाले नफुटेको भए सायद २०५६ को निर्वाचनमा दुई तिहाइ बहुमत आउने निश्चित थियो भने भर्खरै जुरमुराइरहेको नेकपा माओवादीको आन्दोलन पनि नेकपा एमालेको बहुमतको सरकार, जनपक्षीय तथा लोकप्रिय कामहरूसँगै बिस्तारै कमजोर हुँदै जान्थ्यो र नेपालले लामो गृहयुद्ध पनि झेल्नुपर्ने थिएन । १७ हजार निर्दोष नेपालीहरूको ज्यान जाने थिएन । शान्तिपूर्ण माध्यमबाट देश उँभो लाग्थ्यो ।

तर यस्तै अस्थिरताको दाउ हेरिरहेका देशी तथा विदेशी शक्तिहरूको हतियार बने त्यो बेला नेकपा एमालेका नेताहरू । नेपाली काँग्रेसले त्यो बेला जसरी वामदेव गौतमलाई काखी च्यापेर सरकारमा सहभागी गराई महत्त्वपूर्ण जिम्मेवारी दिने विभिन्न सहयोग गर्ने, आश्वासन दिने लगायतका कार्यहरू गरेको थियो अहिले माधव नेपालको हकमा त्यहीँ नीति अपनाइएको देखिन्छ ।

यसको ज्वलन्त उदाहरण दोस्रो पटकको प्रतिनिधिसभा विघटन नहुनु अघि धारा ७६(२) को सरकार बनाउने समयमा नेपाली काँग्रेसका नेताहरूले माधव नेपालहरूलाई सामूहिक राजीनामा दिन सुझाएको, त्यो सफल नभए पछि बैठकमा उपस्थित नहुन अह्राएको, बागमती प्रदेशमा राष्ट्रिय सभाको सदस्य पदमा आफ्नो उम्मेदवार नउठाई माधव नेपाललाई निशर्त सहयोग गरेको, प्रदेश सरकारहरू ढलाउनका लागि माधव नेपाल पक्षहरूलाई उचालिरहेको लगायत छन् ।

माधव नेपाललाई पनि नेपाली काँग्रेस मेरो साँच्चै सहयोगी रहेछ भन्ने भान होस् भनेर धारा ७६(५) को सरकार गठन गर्नका लागि दल त्यागसम्बन्धी कानुनले सांसद पद जाने थाहा हुँदाहुँदै पनि माधव नेपाललाई नै प्रधानमन्त्री बनाउन जानीजानी प्रस्ताव गरेका तर सांसद पद जाने भएका कारण प्रधानमन्त्री बनाउँदा समस्या आउने भन्दै पछि आफै प्रधानमन्त्रीको उम्मेदवार भएका, माधव नेपालले अहिले पनि स–सानो समस्या आउँदा पनि बुढानीलकण्ठ गइहाल्ने र सल्लाह लिने गर्नु आदि कारणहरू र अन्य कतिपय आश्वासनहरू दिई जसरी पनि माधव नेपाललाई केपी ओलीसँग मिल्न नदिने खेलमा नेपाली काँग्रेस लागेको प्रष्टै देखिन्छ ।

त्यसमा नेकपा माओवादी केन्द्रका नेताहरूले त पार्टी विभाजन हुँदा नै नेकपा एमालेमा फर्कने, सके पार्टी कब्जा गरी सिङ्गो एमाले पार्टी माओवादीमा मिलाउने, नसके नेकपा एमाले बहुसङ्ख्यक पार्टी फुटाउने र माओवादीमा मिलाउने भन्ने निर्णय अनुरूप नै जति पनि कार्य भइरहेका छन् त्यसको अक्षरशः पालना हुँदै आएको देखिन्छ । आजका दिनसम्म पनि सामाजिक सञ्जाल पत्रपत्रिकाहरुले लेखेको हेर्ने हो भने माधव नेपालको पछाडिबाट औँला घोच्ने वा ‘पुश’ गर्नेहरूमा नेपाली काँग्रेस र माओवादी केन्द्रको मुख्य भूमिका नै देखिन्छ । विपक्षी पार्टीले त सामान्यतया विपक्षी पार्टीलाई कमजोर बनाउनका लागि विभिन्न हथकण्डा अपनाउने नै भए त्यसलाई सम्बन्धित व्यक्ति नेताले कसरी बुझेको छ त्यो महत्त्वपूर्ण हो ।

जसरी २०५४ सालमा पार्टी फुटाउनका लागि सिपी मैनालीले वामदेव गौतमको पछाडिबाट औँला नघोचेका भए वा “पुश“ नगरेका भए पार्टी फुट्दैनथ्यो कि भन्ने विश्लेषण गरिए पनि त्यो बेला अरू थुप्रै तत्त्वहरू दुवै तर्फका नेताहरूको ‘पुश’ गर्न लागि परेका थिए । दुवै पक्ष माधव नेपाल केपी ओलीहरूलाई र अर्कोतिर वामदेव गौतमहरूको पछाडिबाट “पुश“ गर्नेहरू कम थिएनन् र त्यही घोचाइको कारण पार्टी फुटेको थियो । वास्तवमा यो कुरा अहिले दोहोरिएको देखिन्छ । त्यो बेला कसले कसकोमा औँला “पुश“ गर्‍यो त्यो इतिहास भैसकेको छ तर अहिले पनि नेकपा एमालेलाई फुटाउनु औँला ‘पुश’ गर्नेहरू हाबी भएका देखिन्छन् ।

आजका दिनमा तत्कालीन वामदेव गौतमको तहमा हुनुहुन्छ माधव नेपाल । उनको पछाडिबाट “पुश“ गर्नेहरूको जमात ठुलो छ । उनले नेपाली काँग्रेस र माओवादी केन्द्रलाई त आफ्नै पार्टी, शेर बहादुर देउवा र प्रचण्ड आफ्ना महान् नेता ठानेका छन् । हुन पनि किन नमानुन् ? अदालतमा हेर्दा माओवादी केन्द्र र नेपाली काँग्रेसका सबै नेता कार्यकर्ताहरू, ती पार्टी समर्थक वकिलहरू, एक पक्षीय नागरिक समाज, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, पूर्व प्रशासकहरू, पत्रकारहरू, विभिन्न ठुला मिडिया हाउसहरू, कतिपय विदेशी शक्ति केन्द्रर्हरुले माधव नेपाललाई हरेक दिन पछाडिबाट ‘पुश’ गरिरहेकै छन् ।

केही दिन अघि एक जना पूर्वन्यायधीश भन्दै थिए की केपी ओलीले वैशाख २७ गते विश्वासको मत लिने दिन माधव नेपालहरूले राजीनामा दिनु उनका लागि अति राम्रो हुन्थ्यो रे ! यसरी उनलाई माया गरिरहेका छन् कि कुनै पनि हालतमा केपी ओलीसँग मिल्नुहुँदैन, केपी ओलीलाई अप्ठ्यारो पार्नु पर्छ त्यो नै माधव नेपालहरूको सफलता हो । अस्ति मात्रै नेपाली काँग्रेस र माओवादी केन्द्रसमेतको सहयोगमा जितेका स्वतन्त्र सांसदको रूपमा राष्ट्रिय सभामा जितेका डा.खिमलाल देवकोटाको ‘सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिनु भनेको बेइमानी हो’ भन्ने भाषाबाट नै थप कुरा छर्लङ्ग हुन्छ ।

त्यसैगरि नवौँ महाधिवेशन पछि नेकपा एमालेमा कपी ओलीबाट पीडित अथवा व्यक्तिगत फाइदा लिन नसकेका केही ठुला पेशा व्यवसायी, व्यापारी, स्वनाम ठुला भनिएका वर्ग क्षेत्रका मानिसहरूले कुनै पनि हालतमा केपी ओलीसँग मिल्नु हुँदैन भनेर पछाडिबाट ‘पुश’ गरिरहेका कारण माधव नेपाललाई नेकपा एमालेमा फर्कन गाह्रो भइरहेको देखिन्छ ।

२०५४ सालमा नेकपा एमालेलाई फुटाउनका लागि जसरी वामदेव गौतमको पछाडिबाट “पुश“ गर्नेहरू थिए त्यसैगरि अहिले पनि एक भन्दा एक शक्ति, व्यक्ति, वर्ग लागिरहेका भए पनि त्यसलाई थाती राखेर केपी ओली र माधव नेपाल दुई जना नेताले केही घण्टा एक्लै बसी आत्मचिन्तन गरी आ–आफ्नो दिमागलाई ठण्डा गरी आफ्नो व्यक्तिगत चाहाना इच्छा भन्दा पनि समग्र राष्ट्र, सिङ्गो नेकपा एमाले पार्टी, यो पार्टीका लाखौँ नेता कार्यकर्ताहरू, पार्टीप्रति ठुलो आशा र भरोसा बोकेका लाखौँ जनता, विभिन्न वर्ग क्षेत्र, विदेशी शुभचिन्तकहरूसमेतलाई हेरि अहिले नेकपा एमालेको आन्तरिक जीवनमा भइरहेको द्वन्दलाई बिर्सेर पार्टीलाई एकढिक्का बनाएर लैजाने बाटोतिर लाग्दा केबल नेकपा एमालेका लागि मात्र नभई समग्र देशकै लागि राम्रो हुने देखिन्छ किनभने अहिलेको राजनीतिक अस्थिरताको मुख्य कारण नै पार्टीको आन्तरिक कलह रहेको प्रष्टै छ । एक पार्टीले अर्को पार्टी, नेता कार्यकर्ताहरूले अर्काको पछाडिबाट ‘पुश’ गर्ने प्रवृत्तिलाई अन्त गर्न सक्यौँ भने राजनीति सही लाइनमा आउँछ ।

यदि कसैले नेकपा एमालेका नेताहरू मिल्नुहुँदैन भनेर नेताको पछाडिबाट ‘पुश’ गर्छ भने त्यो नेकपा एमाले पार्टीको हित चाहँदैन भन्ने बुझ्नु पर्छ अनि यो समस्या कहिल्यै आउँदैन । विवाद समाधानको मान्यता ‘जस्तोसुकै विवादको समाधान हुन्छ’ भन्ने नै हो । नेकपा एमालेलाई एक भएको देख्न चाहनेको पङ्क्ति ठुलो छ, त्यो पङ्क्ति तपाईँ नेताहरूको पहुँचमा सजिलै पुग्न सक्दैन । पार्टी मिल्नुहुँदैन भन्ने तपाईँको वरिपरि घुम्ने सानो झुन्ड अहिले हाबी भइरहेको छ । त्यो झुन्ड भन्दा बाहिर पार्टी मिल्नुपर्छ भन्ने ठुलो जमात छ, ठुलो पार्टी पङ्क्ति छ, शुभचिन्तकको ठुलो पङ्क्ति छ, नेकपा एमालेलाई एकढिक्का भएको देख्न चाहानेहरुको ठूलो सङ्ख्या छ भन्ने सोच्नुहोस् र यसैमा एमालेजनहरुको भलाई हुने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस