झोले ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

झोले !


२७ जेष्ठ २०७८, बिहिबार


मुलुकमा शान्ति पुनः स्थापना भयो भनेर रेडियो जति नै फुके पनि कोटदेउराली गाउँमा पहिलाको रौनक फर्केन । काजी बा, नेत्र हजुरबा, काइँली हजुर आमा, अम्बिका फुपू, मिजार दाइ, सुके काका, उजीर बा…. हरुले मूलबाटो तिर कति आँखा तन्काई हेरे, तर कोही फर्केनन् । सकल हिउँद गयो, केबल चराको चिरबिर चिरबिर मात्रै आयो । असार लाग्यो, तर बाँझिएका खेत उस्तै रहे । जनै पूर्णिमामा ज्वाँई, चेला र भाङ्जाहरूले पनि सम्झिन छाडे गाउँलाई । तीज गयो कुनै चेलीले पत्याएनन् । दसैँ आयो देश विदेशका लाहुरेहरूले बाटोमा बुट पनि बजारेनन् । अनेक थरी पिङ खेल्ने त के पिङ थाप्ने पनि कुनै लाठे देखिएनन् । तिहार आयो तर बली राजाले कसैलाई पठाएनन् ।

मसानघाट जस्तो गाउँघर उस्तै रह्यो, बस्ती धानेर बसेका यी वृद्धहरूले अब आँसु पनि रित्ताइसके । पुराना कुरा सम्झेर, साटेर र हाई काढेर केबल काल पर्खेर बसेका छन् । द्धन्दमा ज्यान जोगाउन सहर पसेका, गाउँको स्कुल भत्के पछि सन्तान पढाउन घर छोडेर डेरामा बस्न गएकाहरू, सत्ता कब्जा गर्न सहर छिरेका क्रान्तिकारी, लोकतन्त्रको विजय जुलुसमा गएका कार्यकर्ताहरू, ज्यान जोगाउन र पैसा कमाउन खाडी गएकाहरू, देश बनाउन जङ्गल पसेकाहरू, केही पढे लेखेर जागिर खान सहर भास्सिएकाहरु, नातिनातिनाको मुख हेरेर फर्कन्छु भनेर गएका दामलीहरू, कोही पनि यो गाउँ फर्केनन् । पोखरीमा ढुङ्गा हाने जस्तो भयो सहरमा मान्छे भासिनु भनेको ।

एकै छिन पछि तरङ्ग पनि हराएर गएजस्तै भयो । डिलमा बसी हेर्नेहरू हेरेको हेर्यै । फर्केका एक दुई परिवार पनि आफ्नै घर आँगनको बिजोग देखेर फेरि पहिला जस्तो गुलजार बनाउन सक्छु भन्ने आँटै गर्न सकेनन्, वर्षौँ देखि बाँझो भएको खेतबारी फेरि उर्वर बनाउने जाँगरै गरेनन् र अनेक बहाना गरेर फेरि फर्केर गए, उही सहरमै भास्सिए । आफ्नो घर सम्पत्ति स्याहार्नु भन्दाअरुको छिँडीमै बस बस्न रुचाए । बाबु बाजेको नामको सम्पत्ति नामसारी गर्नुभन्दा सुकुम्वासीको सुचीमा नाम दर्ता गर्न लाम बस्न रुचाए ।

लाहुरे बा छन् एक जना आफ्नो ठाँटबाट र लाहुर अनि लडाइँका किस्सा सुनाउँदै बेला बेलामा सबेलाई तताउँछन्, पल्टनमा छँदाका जवानीका कुरा गरेर अरूलाई रौस्याउँछन् । कति सालको छुट्टीमा आउँदा कसको कुन खेत कति आईसिमा कसरी किने ? कुन कुन गाउँका तरुनीहरूसँग कहाँकहाँ रोदी गाइयो भन्दै सुनाउँछन् । बुढा जहिले ही लडाइँ र विद्रोहका कुरा मात्र गर्छन् र जोस्याउँछन् अरूलाई । माओवादीसँग पनि बुढा डटेर बसे, गाउँ छाडेर गएनन् । लडाकुहरूलाई भन्थे रे ’केटा हो म लडाइँ लड्नै जन्मेको हुँ, मेरो पुर्खाको नाम लिँदा विश्व थुरुरु काम्छ । म तिमोरलाई देखेर भाग्दिन । लौ आईजो खेलुम’ भन्थे रे । ’बरु खान पाईनस, भोको छस् भने आईजो’ भन्दै डफ्फालाई नै पेटभर खुवाएर पठाउँथे रे । उमेरले ८० लागे पनि एक्लै घर स्यारेर बसेका छन् । १६ वर्षे जोस देखाउँछन् बेला बेलामा ।

परिवारसँग पनि विद्रोह नै गरेर उनीहरूसँग विदेशी मुलुक अनि सहरमा सुखी जीवन त्यागेर ’म मातृभूमि अझ त्यो पनि मेरो सालनाल जहाँ गाडेको छ, त्यहीँ मर्छु, त्यहीँ गाडी दिनु’ भन्दै एक्लै गाउँ बसेका छन् । आफै चुलो चौको र एउटा पुरानो बन्दुक सम्हालेर । वास्तवमा भन्नु पर्दा सबै गाउँलेको एक भरपर्दो खम्बा बनेका छन् लाहुरे बा । सबैले लाहुरे अनि लाहुरे बा नै भन्छन् । परि आएको बेला बिरामी बोकाएर सहर जानेदेखि रकमको सारो गारो पनि यिनैले हेर्छन् । बुढा एउटा कुरामा चाहिँ सारै बिरक्तिन्छन् । आफूले हिन्दुस्थानमा पसिना र रगतसँग साटेर ल्याएको आईसिले किनेको खेतबारी बाँझै राख्नुपर्दा अलि बढी नै भावुक बन्छन् । अनि फेरि सम्हालिन्छन् पनि आफै । ’जे भए नि मैले मेरो रगत पसिना मेरै माटोमा गाडेको छुँ, मलाई पनि यही माटोमा गाडिदिनु’भन्दै ।

यो सुनसानकै बीच अचानक सलह पस्यो गाउँभरि । बूढाबूढीहरू खासखुस गर्न थाले । लाहुरेबाले टाढैबाट देखे अनि सजग भए । बुढा त भित्र पसेर बन्दुकपो मुसार्न थाले र आँखा चम्किला बनाउन थाले । ’शान्ति स्थापना भयो भन्थे फेरि कहाँबाट आए फेरि यी वनमाराहरु’ भन्दै बुढा भुतभुताउन थाले । बाटोको नजिक घर भएकोले होला सबै जना काइँली हजुरआमाको आँगनमा पसारो परेका रहेछन् । लाहुरेबाले पुरानो चुस्ता टकटकाउँदै कम्मरमा खुर्पेटो भिरेर काइँली हजुरआमाको आँगन तिरै सोझिए । कसैसँग र कुनै परिस्थितिको पनि सामुन्ने पर्न नडराउने उनको लाहुरे बानी छ । पछाडि हात लगेर औलाले मनमनै गन्ती गरे, १४ जना रहेछन् । सबे सुकिला मुकिलै देखिन्थे, ४ जना केटी र १० जना केटा, उमेरमा २० देखि २५ बीचका ।

सबैले एकै खाले ठुलो झोला बोकेका, अनि सुत्ने थैलोको पोको पनि, फौजी पाराको । केही छिन औपचारिक कुरा भएपछि उनीहरू ’गाउँ घुम्न र हेर्न’आएको भने । विगतको द्धन्दमा दोहोरो मारमा परेका गाउँका सबै जना त्रसित मुद्रामा जम्मा भैसकेको थिए । गाउँ घुम्न र हेर्न आएको भन्ने उनीहरूको कुरामा कसैले विश्वास पनि गरेनन् । तर प्रतिवाद पनि गरेनन् । दिनको २ बजेको थियो । उनीहरूले दुईचार दिन बस्नको लागि कुनै खाली घर भए आफूहरूलाई दिन भने । खाली घर मागेकोले गाउँलेहरू मनमनै खुसी त भए तर दिने पो कसको त । अन्तिममा लाहुरेबाले नै आफ्नो खाली धनसार दिने भए र भने ठिकै छ बस, तर त्यहाँ ओढ्ने ओच्छाउने केही छैन, म केही गुन्द्रीहरू दिउँला । यत्रो जना छौ, आफै पकाएर खान्छौँ भने खाने कुरा र भाँडा पनि दिउँला । दाउराको त के दुःख छ र, गाउँघर हो । लौ जाँगर गर्छौ भने गर केटा केटी हो । सबै जना मुखामुख गरे र सहमतिमा टाउको हल्लाए । अनि लाहुरेबाले ’लौ आओ’ भन्दै आफू अघि अघि हिँडे ।

टोली सारै अनुशासित रहेछ । लाहुरेबाले फौजकै याद गरे । धनसारमा पुगी सके पछि सबैले एक अर्काको मुख हेरे र ठिकै छ भन्ने भावभङ्गी देखाए । लिडर चाहिँले खै के इसारा गर्‍यो कुन्नि । सबै जनाले एकै ठाउँमा झोला बिसाए, लामो सास ताने जस्तो गरे । पहिरन सक्दो हलुका गरेर सबै जनाले लाहुरे बाको वर्षौँदेखि खाली भएर खण्डहर हुन लागेको धनसारलाई भित्रबाहिर सबैतिरबाट ’आक्रमण’ गरे । लाहुरेबागुन्द्री र भाँडाकुँडा जोहो गर्न हिँडे । साँझ ५ बजेतिर लाहुरे बा धनसार फर्किँदा, आफैँ दङ्ग परे । धनसार त पुरै ’रिनोभेट’भएको रहेछ । यिनको अनुशासन, नेतृत्व, काम गराई, लवाइ र फुर्ती देखेर मनमनै सशङ्कित हुँदै उनले गम खाए कि यी पक्कै फौजकै मान्छे हुनुपर्छ । अरू कुनै सोधखोज गर्नतिर लागेनन् ।

उनीहरूको लागि खाना पकाउने व्यवस्था गर्न थाले लाहुरेबाले । कसैले धारोबाट पानी ल्याए, कसैले दाउराको जोहो गरे, कसैले भित्र चुलो बनाए, कसैले लिपपोत गर्न थाले । फोहोर जम्मा गर्ने व्यवस्थासमेत गरे । गुन्द्रीमा बसेर उनीहरू आफैले ल्याएको दालमोठ चिउरा मिठो मानी मानी खाए पानीसँगै । गाउँमा भएका जम्माजम्मी ४ जना जति भुराहरू जम्मा भएर हेर्न थाले । जो आफैमा टुहुरा र साधारण अपाङ्ग थिए । अरू कोही आएनन्, मुखामुख गर्दै घरै बसे । खै के सोचे कुन्नि लाहुरे बा रातभर निदाउन सकेनन् । मध्यरात सम्म आँगनको वरिपरि एक्लै ओहोरदोहोर गरिरहे।

बिहान पख मात्रै हल्का निदाएछन् । बिहान उठे पछि के हुँदै रहेछ त हेर्न पर्‍यो भन्दै धनसार तिर गए । सजिवनको डाँठले दाँत कोट्याउँदै । सबै जना भित्र पो छन्, कोही बाहिर ननिस्केका । बिरालो चालमा गएर सुन्दै गरेका त एउटाले क्लास पो लिँदै रहेछ अरूले पलेटी कसेर सुनेका, दङ्ग परे बुढा त । अनि बाहिरबाटै चिल्लाए : ’ओइ केटाकेटी हो उठ हो अब त उज्यालो भयो गाममा त । ’उही अग्लो अग्लो केटो एक्लै बाहिर आयो र भन्यो : ’बुबा शुभ बिहानी, हामी उठेर यस्सो सल्लाह गर्दै छौँ आज के काम गर्ने होला भनेर । ’लाहुरेबाले जवाफ फर्काए : ’गुडमनिंग गुडमर्निंग, के काम गर्छौ त ? यहाँ गामका मान्छे यहाँ काम नदेखेर सहर हिँडे, तिमोरु सहरबाट आका जस्ता छौ । यो मसानघाटमा के काम गर्छौ ? उही मान्छे मरे भने पोल्ने काम गरे मात्रै हो’ भन्दै भुईँमा पिच्च थुके । यस पछि दुवै पक्ष मौन भए । बुढा घरतिर लम्के भनी ठिटो भित्र पसेर फेरि क्लास लिन सुरु गर्‍यो ।

यस पछिको एक महिनाकोबीचमा उनीहरूले गरेका केही गतिविधिहरू काजी बाको बारी खनजोत गरिदिए । बदलामा बुढाले काम गरुन्जेल खानपिनको व्यवस्था गरिदिए जस्तो सके । यस बाहेक उनीहरूले केही मागेनन् पनि ।

नेत्र हजुरबाको घर भत्किनै लागेको थियो । स्याहार नपाएर त्यसको पुरै सरसफाइ र लिपपोत अनि सामान्य मर्मत गरिदिए । हजुरबाको घर उज्यालो भयो । त्यो भन्दा पनि उज्यालो भयो हजुरबाको मुहार । बदलामा उनीहरूले केही लिन मानेनन् ।
काइँली हजुरआमाको लागि वर्ष दिनलाई पुग्ने दाउराको व्यवस्था गरिदिए । बदलामा आमाले भुटेको मकै खाजा खुवाउनुभयो । आर्सीवाद दिनुभयो ।

अम्बिका फुपूको सानैमा बिहे भएको तर १८ वर्ष पुगे पछि श्रीमानको देहान्त भए पछि लखेटिएर माइती बस्न आएकी, र माइती पनि सबै सहर झरे पछि एक्लै बुढ्यौली काट्दै गरेकी, कुप्री परेकी छन् । उनको लागि चाहिने सरसामान र खाद्यान्न तल बेसीको पसलबाट किनेर ल्याइदिए । पैसा उनले नै दिइन् ।

मिजार दाइ सिपालु सिकर्मी थिए । उनको सहयोग लिएर नजिकको प्राथमिक विद्यालयको मर्मत गरिदिए । विद्यालयको शिक्षकलाई खोजेर ल्याए र ती चार जना विद्यार्थीको पढाई सुरु गराइदिए । विद्यार्थी पढ्नै आउँदैनन् भन्दै घरमै बसेर नपढाईकन तलब खाँदा रहेछन् ती शिक्षक । मिजार दाइलाई केही खाद्यान्नको व्यवस्था गरिदिए ।

सुके बाका बारीमा सुन्तला राम्रो फलेका थिए । ती सुन्तला तल बेसीको बजारसम्म लैजान सहयोग गरे । यसैगरी उजीरबाको केरा घारीलाई गोडेर चिटिक्क बनाइदिए । तरकारी बारी तयार गरिदिए । बदलामा उजीरबाले दुई घरी पाकेका केरा टोलीलाई जिम्मा लगाए ।

यसै गरेर हरेक परिवारलाई कुनै न कुनै सहयोग गरे । बदलामा कुनै कुरा मागेनन् । जे दिए त्यो खाए । सार्वजनिक स्थलहरू जस्तै पोखरी, चौतारी, पानी पँधेरा, धारा, स्कुल, बाटो सरसफाइ र मर्मत गरे। खेतीपाती र तरकारीका बारेमा जानेका कुरा सिकाए । पुराना कुरा सिके बुढापाकासँग सोधखोज गरेर । गाउँलेहरूले छाडेर गएका र खण्डहर भएका पुराना घरहरू मर्मत गरे । बस्तीको मुहार फेरियो । आफ्ना सन्तान टाढा गए पनि टाढाका यी जाँगरिला युवाहरू आएर बस्ती गुलजार बनाएका थिए ।

उनीहरू आफूलाई चाहिने खाद्यान्न र अरू सामाग्री तल बेसीबाट आफै ल्याउँथे । आफैँ पकाउँथे । पुरै अनुशासनमा बस्थे । कसैले दिएको खानेकुरा बाँडेर खान्थे । देख्दै रहर लाग्दा र खाइलाग्दा थिए सबै । बानी व्यवहार झन् त्यो भन्दा धेरै राम्रो । एक महिनाको बसाइपछि ’मकै छर्ने बेलामा आउँछौँ । बिउ जोगाई राख्नुहोला नि’ भन्दै टोलीले बिदा मागेर हिँड्यो गाउँबाट । गाउँमा फेरि सन्नाटा छायो । उनीहरू गाउँ छिर्दा त्रसित उनीहरूका आँखा अहिले उनीहरू फर्किँदा पुरै स्नेहले भरिएका थिए ।

आफ्नै सन्तान बिदाइ गरे जस्तो गह्रौँ मन गरेर बिदाइ गरे, भञ्ज्यांगको चौतारी नाघुन्जेल हेरे सबैले । फौजीको जस्तो उनीहरूको एउटै पोसाक त थिएन । तर झोला चाहिँ सबैको एकै नासको थियो । सेतो र कालो रङ्ग मिसिएको ।

जहाँ जाँदा पनि त्यो झोलासँगै लिएर जान्थे । जाँदाजाँदै उनीहरू जिस्किने शैलीमा भने ’हामीलाई बिर्से पनि हाम्रो यो झोलालाई चाहिँ कसैले नबिर्सनुहोला है !’ यो सपना हो कि बिपना हो, गाउँलेहरू सबैले आफैलाई चिमोटे।

बुझ्दै जाँदा त कोटदेउरालीमा मात्र हैन । सबैतिर यस्तो सानो सानो टोली गाउँ पसेको रहेछ । दुखी गरिबलाई सहयोग गर्ने । परित्यक्त घरहरू मर्मत सुधार र सरसफाइ गरी उपयोग गर्ने । खेतीपातीको लागि उत्प्रेरित गर्ने । आफै पनि गरिलाउने । सीप भएकालाई सीप अनुसारको काम गर्न प्रेरित गर्ने । आफूमा भएका सीप पनि प्रयोग गर्ने, सरकारी विद्यालयहरूको अवस्था सुधार्ने जस्ता काम गर्दा रहेछन् । कसैले खाजा वा खाना दिए खाने नत्र आफै व्यवस्था गर्ने, सेवा बापत कसैले केही रकम दिए, त्यो रकम एउटा झोलामा सङ्कलन गर्ने अनि पुरै अनुशासनमा बस्ने यिनको विशेषता रहेछ।

हरेक बस्तीमा पुगेपछि त्यहाँका युवाहरू पनि यो समूहमा आकर्षित हुँदै गए र यो समूह ठुलो बन्दै जान थाल्यो । समूहमा लाग्ने युवाहरू पुरै स्वयंसेवी भावनाले प्रेरित र परिचालित रहेछन् । उनीहरूलाई स्थानीयले जे दिन्छन्, जस्तो खान्छन् उही खाने गर्दा रहेछन् । नपुग श्रोत कहाँबाट जुटाएका छन् कसैलाई थाहा भएन । तर कसैबाट चन्दा लिएको वा आर्थिक र भौतिक दबाब दिने काम गरेको कहीँ कतै सुनिएन अनि कहिकतै आफै लगानी गरेको पनि सुनिएन । ६ महिनामा त यो झोले समूह देशव्यापी विस्तार भएछ अनि लोकप्रिय पनि ।

झोले समूहको बारेमा धेरै सामाजिक कार्यकर्ता जो समाज सेवाको नाममा व्यावसायिक भएका थिए । जनताको लागि राजनीति गरेको भन्ने समूहका कार्यकर्ता, विकासे कार्यकर्ता, ठग कर्मचारी अनि दलाली गर्नेहरूको टाउको दुखाइको विषय भयो । कसैले यो राजनीतिक षडयन्त्र भन्थे । कसैले विदेशी चलखेल र घुसपैठ हो भन्थे । कसैले छापामार युद्धको तयारी हो भन्थे कसैले कुनै ठग समूह हो भन्थे । कतिपय ठाउँमा उनीहरू विरुद्ध उजुरी पनि पर्‍यो । तर प्रहरी, प्रशासन र कानुनले कसुर ठहराउन मिल्ने कुनै पनि गतिविधि उनीहरूले गरेकै थिएनन् । उनीहरू त पुरै समाजसेवी, राज्यको सहयोगी अनि स्वयंसेवक दस्ता थियो । उनीहरूलाई सामान्य सोधपुछ गरिसके पछि प्रहरी र प्रशासनले सजग भएर काम गर्न सल्लाह दिँदै उल्टो धन्यवाद दिएर पठाउँथ्यो ।

उनीहरू स्थानीय स्तरमा जान्थे, राज्यबाट परिचालन भएको श्रोतको रखवारी गर्थे, विकासको काममा सहजीकरण गर्थे, आफै पनि काम गर्न अघि सर्थे । सरकारी विद्यालय, स्वास्थ्य संस्था, कृषि सम्बन्धी कार्यालयहरूको प्रभावकारी परिचालनमा विशेष चासो राख्थे । कुन विकासे काम कहिले सक्नुपर्ने हो ? कति रकममा बन्दै छ, कसले बनाउँदै छ, यी आदि विषयमा जानकारी लिएर सहजीकरण गर्थे । काम नगर्ने ठेकदारलाई सम्झाउँथे । ढिलासुस्ती र अनियमितता विरुद्ध भद्र तरिकाले प्रस्तुत हुन्थे । स्थानीय प्राकृतिक श्रोतको महत्त्व, संरक्षण, मूल्य र परिचालनबारे सबैलाई जानकारी गराउँथे । उनीहरू मध्ये कतिपय सदस्यहरू प्राविधिक सीपका पनि हुने रहेछन् ।

जानेको सीपअनुसार समुदायमा काम पनि गर्दै गए । धेरै रोगी, बिमारीको सामान्य उपचार पनि आफै गरे । बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउँथे पनि । वन उपभोक्ता समूह, विद्यालय व्यवस्थापन समिति, सहकारी सबैसँग समन्वय र सहयोग गर्थे । उनीहरूले गरेको कामको लागि कुनै थप श्रोतको आवश्यकता नै पर्दैनथ्यो । केबल समय, रुचि र निरन्तर एवं ईमान्दार प्रयत्न काफी थियो ।

यही काम गरेको थियो यो समूहले । स्थानीय तहका पदाधिकारीले परिचय विहीन उनीहरूको कुरामा पटक्कै चासो दिएनन् । कतिपयले त पार्टीको लडाकु दस्ता नै परिचालन गर्‍यो । तिनलाई ठेगान लाउन । तर यो झोले समूह भौतिक रूपमा पनि ’आइलाग्नेमाथि जाई लाग्ने’ रणनीतिमा भएको अनि स्थानीय जनताको पुरै साथ र सहानुभूति भएकोले स्थानीय तहहरूले पनि उनीहरूको सहयोग लिन थाल्यो । जसले गर्दा स्थानीय तहहरूबाट परिचालित श्रोतको पनि अधिकतम र प्रभावकारी परिचालन भयो । उनीहरू पुगेको गाउँहरूमा विकासले थप गति लिँदै गयो । कुनै थप श्रोत र प्रविधिको आयात गरिएको वा झोलेहरूले कुनै ठुलो पराक्रम वा जादु पनि गरेका होइनन्, सधैँ झैँ उपलब्ध श्रोत र प्रविधिकै सदुपयोग गर्दा परिणाम राम्रो निस्केको हो ।

समय यसरी अगाडि बढ्यो कि सहरमा पनि यो झोल समूह टोल टोलमा पुग्न थाल्यो । समुदायको फोहोर मैला व्यवस्थापन, ढल तथा पानी व्यवस्थापन, विद्युत् चोरी सम्बन्धी सूचना सङ्कलन, सवारी अनुशासन कायम गर्न सवारी प्रहरीसँगै मिलेर काम गर्न थाल्यो चोक चोकमा । सवारी साधन र पसलमा मूल्य सूची टाँस्न र सोही अनुसार कार्यान्वयन गर्न सेवा ग्राही र सेवा प्रवाहीलाई विनम्रका साथ अनुरोध गर्‍यो र कार्यान्वयनमा सघायो पनि । अस्पतालहरूमा स्वास्थ्यकर्मीहरुले के कस्तो सेवा दिएका छन्, तोकिएको अवधिसम्म बसेर सेवा दिएका छन् कि छैनन् ? त्यसको सूक्ष्म अनुगमन गर्न थाल्यो अत्यन्त भद्र शैलीमा। सुरुमा सम्झाई बुझाइ र नमान्नेलाई दबाब दिएर पनि राज्यले प्रत्याभूत गरेका सेवाहरू आम नागरिकहरु समक्ष पुर्‍याउन मद्दत गर्‍यो यो झोले समूहले । अस्पतालहरूमा असहाय, गरिब र दीन दुःखीहरूको लागि स्वयंसेवी भएर काम गरे ।

सरकारी कार्यालय, अड्डा, अदालतहरूमा नागरिक बडापत्र अनुसारको सेवा लिने दिने काममा सघाए । लेखनदासहरूले रकम लिएर जे काम गर्थे, उनीहरूले त्यहीँ काम निःशुल्क गरिदिए । टाढा टाढाबाट आएका सेवाग्राही जनताले जय जय भन्दै खुसी प्रकट गरे । कसैले धन्यवाद स्वरूप रकम दिन चाहे भने हात थापेनन् । त्यही झोला थापे। त्यसरी जम्मा भएको रकम उनीहरूले सामूहिक रूपमा मात्र उपयोग गर्थे । सरकारी कार्यालयहरूबाट सेवाग्राही नागरिकहरूले ठुलो राहत महसुस गरे। कतिपयले सुशासन भनेकै यही हो भनेर पनि भन्न थाले । सहरले सास फेर्न थाल्यो । जनताले धेरै राहत महसुस गर्न थाले । यो समूह सहर छिरे पनि मिडियाले कभरेज गर्न थाले । तर उनीहरू मिडिया र प्रचार भन्दा सधैँ परै रहे, अलग्गै रहे । जति पछ्याए पनि मिडियालाई बाल दिएन झोले समूहले ।

यो समूहले प्रचारप्रसार, नारा जुलुस केही गरेन । कहीँ झन्डा गाडेको वा कार्यालय स्थापना गरेको, सहयोगको लागि रोइकराई गरेको, आफूले गरेको काम बढाइचढाइ गरेको पनि देखिएन । अझ अचम्म त यो थियो कि उनीहरूको नेताको हो ?, कस्तो छ ? भन्ने कसैले भेउ नै पाएनन्। सबैले समान तरिकाले परिचालित हुने र जिम्मेवारी बहन गरेको देखिन्थ्यो ।

कर्मी माहुरी अनि कमिलाको जस्तै कार्यशैली । साँझमा आन्तरिक प्रशिक्षण मात्र गर्थे । तर, पनि हरेक दिन जसो युवाहरू थपिँदै गएका थिए । सहरी सरकारी कार्यालयहरूमा बिचौलियाहरूको दुकान सुक्यो । यी बिचौलिया र खराब प्रवृत्तिका कर्मचारीले झोले समूहलाई छिन्न भिन्न पार्न चाहेर पनि गर्न सकेन । किनकि अरूले नदेख्ने गरी यो समूह आफै ठुलो सङ्गठन र शक्ति भइसकेको थियो । केही राजनीतिक दलले यसलाई आफूमा समाहित गर्न पनि प्रयत्न गरेका थिए । तर, राजनीतिक गतिविधि र संलग्नताबाट परै बस्न चाह्यो यो समूह । सलहसरि देश भर, टोल, गाउँ र बस्ती फैलिएको यो समूह एकै स्थानमा बस्दैनथ्यो । खास स्थानमा खास काम गरिसके पछि गतिशील भएर अर्को ठाउँ सरेर काम गर्थे।

खेतीको सिजनअनुसार ठाउँहरूमा परिचालन हुने गर्थ्यो । कतिपय स्थानमा शिक्षक हुँदैनथ्यो । आफै शिक्षक भएर पनि पढाउँथे । स्वास्थ्यकर्मी नहुँदाआफूले पनि उपचार गर्थे । समूहमा स्वास्थ्यकर्मी पनि संलग्न हुँदा रहेछन् । देश विदेशबाट सहयोग आउन थाल्यो । देश फर्केर यो झोले समूहमा रहेर देश र समाजको लागि स्वयंसेवा गर्ने स्वघोषणाहरू भटाभट आउन थाले ।
पछिल्लो समयमा मानिसहरू सहर पसेका रहेछन् । विकास, अवसर र पूर्वाधार गाउँ पसेको रहेछ ।

यो वास्तविकताको उजागर पनि यो समूहले गरिदियो र रित्तिएका धेरै बस्तीहरू गुलजार बन्न लागे । दुई दशक अघि देखि गाउँ बस्तीबाट सहर झरेका मानिसहरूले गाउँको अवसर र प्रगति बल्ल अनुभव गर्न पाए । शिक्षा, स्वास्थ्य, विकासको अवसर गाउँ वस्तिमा बढेर गएको रहेछ । साँच्चिकै स्थानीय तहमा सिंहदरबारको धेरै अधिकार पुगिसकेको कुरा यही समूहले मात्र अनुभव गरायो आम मानिसलाई । दलका कार्यकर्ताले त केबल नारामा मात्र फलाक्थे । सुन्न त पाएका थिए जनताले अनुभव गर्न पाएका थिएनन् । जनताको अधिकार र क्षमता।

कोभिड महामारीमा गाउँ बस्ती फर्केको ठुलो समूह फेरि सहर फर्केन, उसले आफ्नै गाउँमा अवसर देख्यो, भविष्य देख्यो । झोले समूह आफ्नो काममा निरन्तर लागिरह्यो ।

कोटदेउरालीका जनताले पत्याई नपत्याई मकैको बिउको जोहो गर्‍यो । साँच्चिकै मकै छर्ने बेलामा झोलेको समूह गाउँ आयो । तर, पहिलाका ठिटाहरू थिएनन् समूहमा । अरू नै थिए । गज्जबको कुरा त के थियो भने गाउँ आएको यो नयाँ समूहमा यही गाउँका छ जना युवा पनि झोले समूहकै सदस्य भएर आएका थिए । लाहुरेबाले धनसार स्याहार गरी राखेको थिए । त्यही धनसारमा फेरि मुकाम बनायो झोलेको समूहले ।

फेरि कस कसको के के काम गर्नु छ ? सो सबै सहयोग गरी सम्पन्न गरिदिए । गाउँलेहरु पहिला भन्दा बढी सुखी देखिन्थे । खुसी देखिन्थे । उत्साहित देखिन्थे। आफ्नै छोराछोरी घर फर्के जस्तो खुशीभए । बस्तीमा जनसङ्ख्या बढेको थियो । बन्द भएका धेरै ढोकाहरू खुला थिए । धेरै घरका आँगनमा उम्रिएको दुबो सफा भएको थियो । गोठहरूमा गाईबस्तुहरू कराउन थालेका थिए । यसपालि दालमोठ र चिउरा पानीसँग खानु परेन । मिठो मोहीसँग खान पाए नंँया झोलेहरूले ।

यस्तै चलिरहँदा देशमा चुनावको घोषणा भयो । भोजभतेर, नाराजुलुश, प्रचारप्रसार सुरु भयो, राजनीतिक दलहरुबीच प्रतिस्पर्धा, तछाड मछाड गाली गलौच सबै सुरु भयो । सहर र गाउँ बस्ती एकैचोटी चलायमान भए फेरि । झोले समूहको जनताको हितमा गर्दै आएको निस्स्वार्थ र स्वयंसेवी कामलाई ’कसैले राजनीतिकरुपमा दुरुपयोग गर्न सक्छ’भनेर प्रतिबन्ध लगाउन सर्वदलीय सहमति भयो र समूहको त्यो काम बन्द भयो । त्यसपछि पनि झोला बोकेर त्यो समूह बिना काम देश भरी परिचालित भयो ।

समूहका सदस्यले सेवा गरेका हरेक घर घरमा पुग्यो र विनम्रताका साथ हात जोडेर भन्दै हिँड्यो- ’अब हाम्रो काम चुनाव पछि मात्र सुरु गर्छौँ । अहिले हामीलाई भोट हाल्नुहोला । हामी पनि चुनावमा उठेका छौँ । हाम्रा साथीहरू उठेका छन् । हाम्रो चुनाव चिन्ह झोला हो’ भन्दै बोकेको झोला देखाउँदै र झोलामा छाप स्वस्तिक छाप हानेको नमुना मतपत्र बाँड्दै हिँडे । घर घर पुगे गाउँ गाउँ पुगे यही काम मात्र गरे । यो बेला अरू कुनै गतिविधि गरेनन् झोलेहरूले । झोलेहरू पनि चुनावमा उठेछन् भन्दै अरूले खुब उडाउनु उडाए । देशभरिका सबै क्षेत्रमा कहिलेही नाम नसुनेका, नचिनिएका साधारण मानिसहरू जो झोलाबाेकेर गाउँ गाउँमा स्वयंसेवी बनेर काम गर्दै हिँडेका थिए । तिनीहरू मध्येबाटै चुनावमा उम्मेदवार बनेका रहेछन् झोले पाटीबाट ।

गाउँ वस्तिहरूमा आम मानिसहरूले खासखुस गर्न थाले । तोकिएको मितिमा चुनाव पनि भयो । परिणाम चाहिँ कसैले नसोचेको आयो । जनताहरूले के सोचेछन् कुन्नि झ्याप्प कि झ्याप्प झोलामा पो छाप हानेछन् । झोले पाटीले सबै भन्दा धेरै ५६ प्रतिशत सिट (स्पष्ट बहुमत)जितेछ अनि ४३ प्रतिशत पपुलर मत पाएछ । परम्परागत शक्ति र दलहरू चकित भए, गलित भए, उठ्नै नसक्ने गरी जहाँ थिए त्यहीँ लम्पसार भए ।

आम नागरिकहरू भन्न थाले’ हामीलाई स्विटजरल्याण्ड, सिंगापुर चाहिएको होइन, केबल मौलिक नेपाल चाहिएको हो । हामीलाई ठुला ठुला सिद्धान्त र कुनै वाद चाहिएको होइन, केबल नेपाल र नेपालीको भलो हुने सीप र जाँगर चाहेका हौँ । क्रान्ति गरेर विश्व चकित पार्नु परेको होइन, हामीले गरेका काम देखेर हाम्रा सन्तति मात्रै चकित भए पुग्ने हो । हामीलाई चाहिएको कुरा गर्नेको सरकार हैन, काम गर्नेको सरकार हो।

ठुला काम गर्ने होइन सानातिना हाम्रा काम गरिदिने सरकार चाहिएको हो । हाम्रा सन्तान विदेश पठाउने सरकार होइन, मातृभूमिमा हाम्रै काखमा फर्काउने सरकार चाहिएको हो, विदेशी साहुको ऋण काढेर चाउचाउ खुवाउने सरकार होइन, आफ्नै पौरखको मकै भटमास ख्वाउने सरकार चाहिएको हो । गाउँ बस्तीका मानिस सहर लगेर थुपार्ने सरकार होइन, हाम्रा यी गाउँ वस्तिलाई नै सहर भन्दा आकर्षक बनाउने सरकार चाहिएको हो । हाम्रो आशा, रगत र आँसुको व्यापार गर्ने शक्ति होइन, हामीसँगै रगत र पसिना बगाएर आउने पुस्तालाई आशा जगाउन सक्ने सरकार चाहिएको हो ।

हामीले नबुझ्ने भाषण सुनाउने नेता हैन, हाम्रो कुरा सुन्ने केटा चाहिएको हो, हामीले हात जोड्ने होइन हामीलाई हात जोड्ने सरकार चाहिएको हो । हामी भन्दा धेरै माथि र मिठो मिठो खाने सुकिला मुकिला नेता हैन, हामीसँगै बस्ने, हामीसँगै खाने र हामी जस्तै मैला धैला नेता चाहिएको हो । हामीले चाकडी गर्ने नेता होइन, हाम्रो चाकडी गर्ने नेता चाहिएको हो । गाडी चढ्ने नेता होइन, हामीसँगै हलो कोदालो गर्ने नेता चाहिएको हो । र वास्तवमा नेता चाहिँ नभए पनि नहोस् तर काम गर्ने यस्तै झोलेहरू चाहिँ नभई नभएको हो । हामीलाई चाहिएको यिनै र यस्तै झोलेहरूको सरकार हो ।’

कहिकतै सङ्गठित रूपमा विजयी जुलुस पनि भएन। रेडियो र टेलिभिजनबाट झोले नेताहरूले आम नागरिकलाई धन्यवाद दिए र उनीहरूले जनता समक्ष स्वयं शपथ लिए । चुनावको अन्तिम परिणाम निर्वाचन आयोगबाट प्राप्त भए पछि केन्द्रमा झोलेको एकल बहुमतको सरकार गठन भयो । झोलेहरू झोलाबाेकेर फेरि गाउँ वस्तिमा पसे, पहिला जस्तै । कोटदेउरालीमा धान रोप्ने बेला भएको छ, झोलेको नयाँ समूह गाउँमा भित्रियो । आज लाहुरेबाले सबै गाउँले बोलाएर भव्य भोजको आयोजना गरेका छन् झोलेहरूको स्वागतमा । तीन महिनाको पेन्सनको पैसो भोजमा खर्चँदा पनि सारै खुसी छन् लाहुरे बा । उनका छोराबुहारी पनि हिजै घर आइपुगेका छन् ।

लाहुरेबाले रगत र पसिनासँग साटेको खेतमा यसपालि लहलह धान फलाउने आस र जाँगर पलाएको छ । आँगनमा उभिएर घरको मुलढोकामा उभिएका छोराबुहारीलाई हेर्दे लाहुरेबाले छाती पिट्दै भने ’वैंशमाअरुको लागि लडाइँ लडेको यो गोर्खालीले बुढेश कालमा आज आफ्नो माटोको लागि, आफ्नो सन्तानको सुरक्षित भविष्यको लागि झोलाबाेकेर लडाइँ लडेर जितेको यो झोलेहरूलाई सलाम गर्दछ ।’ यति भनेर बुढाले बुट बजार्दै आकाशतिर फर्काएर बन्दुकले हवाई फायर गरे र भने – ’अब चाहिँ कसैले कुनै लडाइँ लड्नु पर्दैन नेपालमा ।’

जम्मा भएका सबैले एक मिनेटसम्म ताली बजाइरहे । कर्तलध्वनीले आकाश गुञ्जायमान भयो । पुरै नेपाल यसरी नै गुञ्जायमान भएको छ । झोलेहरूको उदय भएको छ। पुरै जमिनमा लहलह खेती झुलेको छ । सहर भन्दा गाउँ वस्तिहरू गुलजार छन् । कोही बिदेसिनु परेको छैन । सबै जना आफ्नै परिवारसँग रमाएका छन् । बस्तीमा चाडबाडहरू फर्केर आएका छन् । सेवाले राजनीतिलाई विस्थापन गरेको छ । पसिनाले जमिन सिञ्चित छ । खुसीले मनहरू चङ्गा भएको छन् । मेहनत र श्रम आम बानी भएको छ । आज पुरै देश र समाज रोग, भोक, असन्तोष र अशान्तिबाट मुक्त छ ।

Tags :
प्रतिक्रिया दिनुहोस