काठमाडौँ । सरकारले कर्मचारीको तलब बढाएको छ ।
शनिवार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजारले बढाइएको घोषणा गरेका हुन् ।
यससँगै मुख्यसचिवको ६७ हजार एक ३६ पुगेको छ भने खरिदारको २८ हजार ६ सय ४ रुपैयाँ कायम भएको छ ।
यसैगरी निजामती कर्मचारीलाई १० लाख दुर्घटना बिमा र एक लाखको स्वास्थ्य बिमा गरिने भएको छ । स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्ने छ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले जानकारी गराए ।
महंगी भत्तालाई निरन्तरता दिने अर्थमन्त्री पौडेलले बताएका छन् ।
सरकारले यसअघि २०७६-०७७ कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकको सुरुको तलबमानमा राजपत्र अनङ्कित श्रेणीका लागि २० प्रतिशत र राजपत्राङ्कित श्रेणीका लागि १८ प्रतिशतले तलब वृद्धि गरेको थियो ।
गत आर्थिक वर्षमा सरकारले भत्ता नबढाई कर्मचारीका सन्तानको उच्च शिक्षा र तथा आवास निर्माणका लागि कर्मचारीलाई सहुलियतपूर्ण ऋणको घोषणा गरेको थियो ।