‘महाभारत युद्ध’ र कोरोना महामारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘महाभारत युद्ध’ र कोरोना महामारी


१५ जेष्ठ २०७८, शनिबार


युद्धको युग पनि भनेर चिनिने द्वापरयुगको सबैभन्दा त्रासदीपूर्ण र भयङ्कर युद्ध हो महाभारत युद्ध । जुन युद्ध धर्म अर्थात् सत्य र अधर्म अर्थात् असत्यका बीच भएको थियो ।

संसारमा अधर्मले डेरा जमाउँदै गरेका बेला यस किसिमका महाविनासकारी घटनाहरू हुने गरेको हाम्रा पौराणिक धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ ।

भगवान् श्रीकृष्णले महाभारत युद्ध रोक्न धेरै प्रयत्न गर्नु भएको थियो । आखिरमा युद्ध हुने नै भएपछि धर्मको पक्षबाट युद्ध गर्न आफ्ना प्रिय भक्त अर्जुनलाई आग्रह गर्नुभएको थियो । सो क्रममा उहाँले दिनुभएको दिव्य सन्देश आजसम्म पनि सम्पूर्ण मानव जगतका लागि मार्गदर्शकका रूपमा रहेका छन् ।

आज कलियुगमा पनि हामी महाभारत युद्धजस्तै युद्धरूपी महाव्याधिको सामना गरिरहेका छौँ । कोरोना महामारी१ यो महामारी पनि महाभारत युद्ध भन्दा कम खतरनाक र क्षतियुक्त छैन । अठार अक्षौहिणी सेना नष्ट भएको महाभारत युद्धमा जस्तै कोरोना महामारीले पनि त्यत्तिकै हाराहारीमा मानिसहरूको संहार गरिसकेको अवस्था छ । लाखौँ परिवारको सहारा खोसिएको छ।कतिको साथ छुटेको छ त कति एक्लै हुन पुगेका छन् ।

महाभारत युद्ध मानव समुदायले सुनेको हालसम्मकै सबैभन्दा भयङ्कर युद्ध हो । यो युद्ध धर्मको रक्षार्थ लडिएको थियो । पौराणिक कथनअनुसार यस युद्धमा पाण्डवको पक्षबाट ७ तथा कौरवको पक्षबाट ११ गरी कुल १८ अक्षौहिणी सेनाद्वारा लडिएको थियो । र लगभग सबैको विनाश भएको थियो । दुवै तर्फका गरी कुल १८ अक्षौहिणी सेना नष्ट हुँदा हात्ती, रथ र घोडाको सङ्ख्या बाहेक करिब ८२ लाख ६७ हजार मानव सेना नष्ट भएका वेदव्यासद्वारा रचित महाभारत महाकाव्यमा उल्लेख छ ।

यसरी हेर्दा वर्तमान विश्वले सामना गरिरहेको कोरोना महामारी महाभारत युद्धको बराबर हुन लागिसकेको अवस्था छ ।

कोरोना महामारीले यति धेरै सङ्ख्यामा मानिसको क्षति गरिसकेको छ भने अर्कोतिर लामो समयसम्म जारी रहेको निषेधाज्ञाका कारण रोजगारी कटौती, व्यापार-व्यवसायमा गिरावट एवम् महामारी नियन्त्रणका लागि स्वास्थ्य र सुरक्षा सामग्रीमा गरिएको खर्चलाई जोड्दा ठूलोरकम धनको समेत क्षति गराइसकेको छ । महाभारत युद्धमा जस्तै कोरोना महामारीले पनि ठुलो मात्रामा धन–जनको क्षति गरेको र अझै गर्न सक्ने तथ्यलाई नकार्न सकिन्न ।

कोरोना महामारी नियन्त्रणका लागि राज्यहरूले आफ्नो क्षमताअनुसार स्वास्थ्य र सुरक्षाका मापदण्डहरू अवलम्बन गरिरहेका छन् । डाक्टर नर्स लगायत स्वास्थ्यकर्मीहरू दैनिकजसो जनतालाई यस महामारीले पार्ने दुष्प्रभावका बारेमा जानकारी गराइरहेका छन् ।

लाग्छ,उनीहरू यस महामारीले निम्त्याउने महासङ्कटको बारेमा पूर्व जानकार छन् र सो कुरा आम सर्वसाधारण समक्ष शेयर गरिरहेका छन् ।

जसरी भगवान् श्रीकृष्णलाई महा विनाशकारी महाभारत युद्धका कारणले निम्तिने महाविनाशको परिणामबारे पहिले नै अवगत थियो त्यसरी नै हाम्रा स्वास्थ्यकर्मीहरूलाई पनि यस महामारीले निम्त्याउने दुःखद परिणामका बारेमा राम्रो ज्ञान छ । त्यसैले त उनीहरू यसको प्रभावका बारेमा सर्वसाधारण नागरिकहरूलाई निरन्तर जानकारी दिइरहेका छन् । उनीहरू हरेक क्षण यस रोगको लक्षणका बारेमा, बच्ने उपायका बारेमा, रोग लागिहालेमा कस्तो उपचारको विधि अवलम्बन गर्नेभन्‍ने बारेमा निरन्तर जानकारी दिइरहेका छन् । र नागरिकहरूलाई स्वास्थ्य मापदण्ड पालनाको लागि निरन्तर आग्रह समेत गरिरहेका छन् ।

महाभारत युद्धमा भगवान् श्रीकृष्णको जुन भूमिका थियो त्यस्तै भूमिका हाल कोरोना महामारीमा हाम्रा स्वास्थ्यकर्मीले निभाइरहेकाछन् ।

परन्तु, जसरी श्रीकृष्णले चाहेको भए महाभारत युद्ध हुने थिएन भन्ने कथन पौराणिक ग्रन्थहरूमा पढ्न पाइन्छ।त्यसरी नै डाक्टर नर्स लगायत स्वास्थ्यकर्मीहरुले चाहेमा कोरोना महामारी पनि सजिलैसित परास्त गर्न सकिन्छ भन्ने कथन हाल पनि कतैकतै सुन्नमा आउँछ ।

तर, भगवान् श्रीकृष्णले भनेझैँ मानिसले आफूले निम्त्याएको विपत्तिको परिणाम स्वयं आफैँले भोग्नु पर्दछ । कोरोना भाइरस मानिसको लापरबाही र हेलचेक्र्याइँका कारण निम्तिएको महामारी हो । यसको निराकरण मानिसकै प्रयासले मात्र सम्भव छ ।

महाभारत युद्ध भगवान् श्रीकृष्णले निम्त्याएको युद्ध थिएन । त्यो युद्ध कौरवहरूको अभिमान र घमण्डको परिणाम थियो । युद्धको अन्त्य तब मात्र सम्भव थियो जब कौरवहरूले विवादको समाधानकालागि पाण्डवहरूसँग धर्म अर्थात् शान्तिको मार्ग अवलम्बन गर्दथे ।त्यसैले त्यो युद्ध चर्काउने या बन्द गर्ने कौरवहरूकै हातमा थियो । भगवान् श्रीकृष्ण त माध्यम मात्र हुनुहुन्थ्यो ।

त्यसै गरी कोरोना महामारी पनि डाक्टर नर्सले चाहेर मात्रै रोक्न सक्ने अवस्थामा छैन । यसको नियन्त्रणका लागि हरेक व्यक्तिको उत्तिकै भूमिका रहन्छ। डाक्टर नर्सले दिएका सल्लाह सुझावको अनुशरणगरी स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरे मात्र यसलाई परास्त गर्न सकिने देखिन्छ ।

हामी मानव यति बेला महाभारतको युद्धमा कौरवको जस्तो भूमिकामा छौँ । आफ्नो स्वास्थ्यमा सङ्कट ल्याउन हामी आफू नै तत्पर देखिन्छौँ । डाक्टर नर्सले दिएका जीवन उपयोगी सुझावहरूको महाभारतमा श्रीकृष्णले ल्याएको शान्ति सन्देशको प्रस्तावलाई कौरव पक्षले लत्त्याएझैँ गरी बेवास्ता गरिरहेका छौँ ।

न्यूनतम स्वास्थ्य मापदण्ड (जस्तैः भौतिक दुरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, लकडाउनमा घरबाहिर ननिस्कने) आदिको समेत पालना नगरी कौरव पक्षेझैँ आफ्नो विनाश आफैँ निम्त्याई रहेका छौँ ।

विभिन्न भेरियन्ट मा देखापर्दै गई झनै सङ्क्रामक र खतरनाक हुँदै गएको कोरोना भाइरसलाई नै केही होइन जस्तो ठानेर अनावश्यक जमघट र भिडभाड गरिरहेका छौँ । यो त सरासर आफ्नो विनाश आफैँले निम्त्याएझैँ भएन र ?

अघिल्लो सालको लकडाउनमा कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरू माथि नै दुर्व्यवहारका घटनाहरू भएको सुन्नमा आएका थिए । यस किसिमका अमानवीय घटना सुन्दा महाभारत युद्धमा कौरव पक्षले भगवान् श्रीकृष्णको उपहास गर्दा जसरी महाविनाशको सामना गर्नुपर्‍यो, त्यसरी नै यस कोरोना महामारी विरुद्धको लडाइँमा भगवान् श्रीकृष्णको भूमिकामा रहेका डाक्टर नर्सहरुमाथिको निन्दाले सम्पूर्ण मानव समुदायले नै त्यस्तै किसिमको महाविनाशको सामना गर्नुपर्ने हो कि जस्तो भान हुन्छ।

जुनसुकै युद्धको परिणाम दुःखद त हुन्छ नै । तर यसले राम्रो पाठ समेत सिकाएर गएको हुन्छ ।

हो कोरोना महामारी पछाडि हाम्रा स्वास्थ्य सेवाहरू उन्नत त होलान् ! स्वास्थ्य संरचनाहरू मजबुत त बन्लान् १ र स्वास्थ्यकर्मीहरू प्रति सिङ्गो संसारले हेर्ने दृष्टिकोणमा सकारात्मकता त थपिएला ! तर त्यति बेलासम्म निकै ढिलो भइसकेको हुनेछ ।

हामीले हाम्रा धेरै आफन्त, साथी सङ्गी र अग्रजहरू गुमाइसकेका हुनेछौँ । हामीबाट हाम्रा सहाराहरू छुट्टिई सकेका हुनेछन् । हाम्रा प्रेमका बन्धनहरू खुस्किसकेका हुनेछन् । त्यसैले, महाभारत युद्धलाई नै दृष्टान्त मानी डाक्टरनर्सरुपी श्रीकृष्णले दिएका स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरौँ ।

यति बेला हामी मानव समुदायले दुर्योधन बनेर अहङ्कार देखाउने होइन बरु अर्जुन झैँ बनेर डाक्टर नर्स रुपी श्रीकृष्णले दिएका उपदेशहरूको अनुसरण गर्नु छ । यो महामारीरूपी युद्धको सामना गर्न भौतिक दुरी कायम राखौँ, मास्क लग‌ाऔँ, स्यानिटाइजरको प्रयोग गरौँ र घरभित्रै रहौँ ।सकिन्छ भने गरिब, असहाय र दुखमा परेकाहरूलाई सहयोग गरौँ । सुरक्षित साथ घरभित्रै रहौँ । हामी सबैको भलाइ यसैमा छ ।

 दाहाल हाल लोक सेवा आयोग अनामनगरमा कार्यरत छन् । 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस