प्रकृति पनि किन अँध्यारो छ ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रकृति पनि किन अँध्यारो छ !


१५ जेष्ठ २०७८, शनिबार


(१)
किन हो हिजो आज
दिन पनि अँध्यारो छ
कालो मैलो छ
छैन त्यो खुला निलो आकाश
छैन त्यो बयाली खेल्ने सेतो बादल
छैन कतै हरियाली
छैन त्यो सेताम्मे हिमाली ताँती

(२)
सूर्यनारायण पनि ग्रहण लागेझैँ देख्छु
दिनमा पनि खाली उज्यालो मात्र छ
छैन कतै त्यो सुनौलो किरण
छैन कतै राप र ताप
कालो बादलमा पनि
किन छैन हँ ? चाँदीको घेरा अचेल
आस गर्ने ठाउँ पनि छैन कि ?

(३)
मैँले सोचेको थिएँ
हिजो भन्दा आज र भोलि
आकाश खुल्नेछ, खुल्दै जानेछ
क्षितिजमा लाली पोतिएसँगै
सुनौलो बिहानी मुस्कुराउने छ
प्रत्येक मानिसको ओठ ओठमा खुसी बनेर
ती आशाका किरणहरू खुल्नेछन्
सबै जातका फूलहरू ढकमक्क फुल्नेछन्।
हिमाल, पहाड र तराई सबै तिर
सुनौला वाला झुल्नेछन्।

(४)
तर किन हो!
आज प्रकृति पनि धुम्म छ
अक्सिजन बिनाको हावा गुम्म छ
निसास्सिएको जस्तो भएको छ
कसैको मुहारमा खुसी देख्दिन
जताततै भय र त्रास छ
किन कोही भविष्य प्रति आशावादी छैनन्?

(५)
एकातिर कोरोना को त्रास छ
आफन्त र छिमेकीको बढ्दो लास छ।
मनमा छैन कुनै उत्साह
छैन कुनै जाँगर
बाँच्ने र मर्नेको दोसाँधमा
बाँच्ने आशाको तुलो गह्रुङ्गो पार्दै
आज म आमा खोजी रहेछु।
आमा भनेँ मृत्युसँग कुनै डर नमानी
सहिद भएको छोरोको सन्तान खोज्दै
यताउता भौँतारी रहेको सुन्छु
त्यो मातृवात्सल्य सम्झेर भक्कानिँदै
म त्यो चुच्चे नक्सा छातीमा टाँसेर रुन्छु।

Tags :
प्रतिक्रिया दिनुहोस