कोभिडले छाएको सन्नाटा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोभिडले छाएको सन्नाटा


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ सहरहरूको पनि सहर, विविधतायुक्त जीवन र जगतको अलौकिक खानी, प्रत्येकको जीवनको एक बाजीको यात्राको रहर र आकर्षण केन्द्रको जनजीवनमा यतिबेला विश्वव्यापी महामारी कोभिड–१९ ले ऐँठन गराएको छ। समयक्रम सँगै पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानव जाति अनुशासनको कडा साङ्लोमा बाँधिएर बस्न बाध्य छन् भने प्रकृतिका अवयवहरुः जनावर, चराचुरुङ्गी, रुख बिरुवा, जमिन भने खुला स्वच्छ वातावरणमा अझै स्वच्छन्द बनेका छन्। यतिबेला अँध्यारा साँघुरा गल्लीहरू प्राचीन माटाका कुटीदेखि चौडा ठुला आकाशे पूल जडित सडक र अग्ला अग्ला व्यावसायिक अपार्टमेन्ट लगायतका गगनचुम्बी महलले खचाखच रहेको काठमाडौँ सहरिया जीवनमा सन्नाटा छाएको छ। स–साना डब्बा जस्ता कोठाहरू जसलाई फ्ल्याटको संज्ञा दिइएको छ। एउटै घरमा असङ्ख्य डब्बाहरू र त्यसमा पनि ठुलो सङ्ख्याको हिस्सेदारीले जीवन आक्रान्त बनेको छ।

हुर्कँदै गरेका कलिला सन्तानहरू, जीवनवृतिको विश्राम पर्खिरहेका रोगले ग्रसित बनेका अनुभवका पुञ्ज आमा बाहरू महामारीको विपतमा साँघुरा अँध्यारा डब्बाहरू तर महँगा सहजै अप्राप्य डब्बाहरूमा थुनिएका छन्। जहाँ जीवन, सामाजिक सहसम्बन्ध, संस्कार, सहयोगको शून्यता रहेको छ। मात्र झ्याल र बरन्डाका प्वालबाट खुइया काढ्दै बढो फर्सादको जेलमय जीवन बिताउन बाध्य छन्। ढुङ्गो साह्रो ढुङ्गो भन्दानि अभाव झन् साह्रो भने झैँ अभाव र समृद्ध भविष्यको दबाबसँगै पिल्सिएका कयौँ सम्भावनायुक्त बौद्धिक युवायुवतीहरूको दिनचर्या स्खलित भएका छन्।

गन्तव्य निश्चित गरेर बाजी मार्ने गौँडोमा बसिरहेका लाखौँ युवायुवतीहरू एउटा अध्यायपछि दोस्रो अध्याय, दोस्रो अध्याय पछि तेस्रो अध्याय, विद्यालयपछि कलेज, कलेजपछि जागिर व्यापार ब्यावसायलगायत सामाजिक सांस्कृतिक रूपान्तरित हुँदै विवाह, सन्तान उत्पादन, घर ब्याबसाय बढोत्तरी, मातृ पितृ सेवा, समाज सेवा, राष्ट्रसेवक लगायतका कर्महरूमा टक्क बिराम लागेको छ। मानव जीवनरूपी साइकलमा अवरोध आएको छ। शैक्षिक सत्रहरू क्षति हुँदै छन्। बढ्दो उमेरमा वर्षको ठुलो महत्त्व रहन्छ। स्कुल कलेजका वर्षहरू यतिकै लम्बिँदै छन्।

जीवनरूपी कर्महरूलाई उमेरका हदहरू अझ तन्किएका छन्।युवायुवतीहरू बन्द कोठाभित्र खुम्चिएर सामाजिक सञ्जालका अनेकन् पोष्टलाई आफ्नो साथी र दिनचर्या मानी सृजनशील मानसपटललाई उजाड बनाउँदै छन्। महामारीमा हतासिएर के पो गर्नु ? कुदिरहेको गाडी भित्र यात्रु पनि त्यसैभित्र कुदे जस्तो मात्र हुनेछ। निश्चित समय लिएर आएको नाशवान् भौतिक शरीरको आफ्नो सामाजिक तथा सांस्कृतिक कर्मलीलाहरु सम्पूर्ण चुनौतीपूर्ण बनेका छन्। फूलबारीरूपी जीवनका अनेकन् चाहना, उमङ्ग, रहरहरू अब कुण्ठामा परिणत भएका छन्। अध्ययन किन ? विवाह किन ? सन्तान किन ? धनसम्पति किन ? भन्ने नैराश्यका प्रश्न पुञ्ज उब्जिएका छन्। अनिश्चित गन्तव्यले कहीँकतै पुर्‍याउँदैन। घडी र कम्प्युटरले निर्देशित अस्तव्यस्त सहरिया जीवनबाट विश्राम त मिलेको होला तर त्यो आराम बेचैनले भरिएको अनिश्चितता उन्मुख भएकाले दिन र रातको सुताइले पनि थकान मेट्न सकेको छैन । बरु अस्वास्थ्यकर जीवनशैली र जीवनप्रतिको विरक्तताले गम्भीर थकान पैदा गरेको छ।

पहिलो चरणको महामारीले जीवनको सिकाइ सुरु गर्न नसकेका बालबालिकाको विद्यालयको अध्ययन पूर्णविराम लागेको छ। खेलकुद, बालमैत्री वातावरणबाट वञ्चित बनेका मोबाइल र कम्प्युटरमा शिक्षालयको झारा टार्ने सिकाइमा अडिन बाध्य छन्। उपलब्धि शून्य प्रायः छ। समय सिकाइविहीन हुँदै छ। तथापि उनीहरूकै जीवनसँग समाज, सभ्यता र राष्ट्रको मुहार झल्कन्छ। सहरमा यतिबेला आपसी सहयोग, सद्भाव, भाइचारा, नैतिकता, मानवता सङ्कीर्ण बनेका छन्। कालोबजारी, मूल्यवृद्धि, कृत्रिम अभावले सहरमा गाँजेको छ। सरकार अमूर्त छ, गैह्रजिम्मेवारिताको पराकाष्ठा नाघिसकेको छ। सर्वसाधारण अभिभावकबिनाका टुहुरा बनेका छन्। अस्पतालमा शय्या छैन, भेन्टिलेटर छैन, अक्सिजन (प्राण वायु) छैन, स्वास्थ्यकर्मी छैनन्, सङ्क्रमित भएमा आइसोलेसन वार्ड छैनन्। अखबारमा सङ्क्रमित र मृतकको सङ्ख्या प्रत्येक दिन बढ्दै गइरहेको समाचार छ। जनता सङ्क्रमण, भोक, शोकबाट ग्रसित हुँदै अन्ततः मरेपछि पनि जलाउने दाउरा र ठाउँ पाइरहेका छैनन्।यति नै बेला बिचरा ! जनताले बनाएका ठेकेदारहरू (राजनीतिक दलेहरु) नेता किन्न डाक बढाबढ र गुटबन्दी विकृत संसदीय व्यवस्थामा अत्यन्तै व्यस्त छन्। विश्वव्यापीकरणले गर्दा अधिकांश परिवारका सदस्यहरू डेढ सयभन्दा बढी देशमा कामकाजी र अध्ययनमा सङ्घर्षरत भएकाले आफ्ना परिवारलाई दैनिक फोन सम्पर्कबाट सन्चो–बिसन्चो सोधनी हुँदा त्यहाँको विदेशी जीवनशैलीको झल्को यता पनि क्षणिक महसुस गरेता पनि यथार्थतामा नेपाली जीवन सिँढी बिनाको भर्‍याङ चढ्नुपर्ने अफ्ठेरोमा छ। अरूबाट भागे पनि आफूबाट भाग्न भने सकिँदैन भन्ने यथार्थताले सहरियाको मन पिरोलिरहन्छ।

विडम्बना छ, कैयौँ राष्ट्रिय व्यक्तित्वहरू हामीबाट टाढा भई मृत्युको महाप्रस्थान गरेका छन्। असाध्यै क्रान्तिकारी मानिएका योद्धाहरू पनि यतिबेला संवेदनशील र सशङ्कित बन्न पुगेका छन्। भविष्यलाई उज्यालो बनाउन सफलताका सिँढीहरू कोरेर सपना सिउँदै बसेका अद्भुत कलाप्रेमी, साहित्यकार, राजनीतिज्ञ, प्रशासक दिनदिनै महाप्रस्थान लिँदै छन्। अमर आत्माहरूमा हार्दिक श्रद्धाञ्जली ! यसै मृत्युको मेला चलैकै बेला एक साहसिक हिमाल आरोही कामिरिता शेर्पाले भने विश्वकिर्तिमान तोडी २५औँ पटक विश्व चुचुरो सगरमाथा आरोहण गरेर यस्तो बेलामा पनि थप कर्मशील हुने सकारात्मक सन्देश छरिदिएका छन्। बधाई नै बधाई छ उहाँलाई !

प्रत्येक ५ घरमा ३ होस्टेलको बास रहेको अनौठो जीवनशैली जहाँ विविध वर्ण, जात, संस्कार, भूगोलको जबरजस्त घुलन रहेको सहरिया जीवन जसलाई होस्टलिया परिवार भन्न सकिन्छ।हजारौँ युवायुवती पढाइ, वृत्ति विकासका लागि तालिम, वैदेशिक अध्ययन, कामको खातिर सहरका होस्टेलिया परिवारको घनचक्करमा समाहित हुन बाध्य छन्।

उपत्यकाको फस्टाउँदो व्याबसायको रूपमा विकाश हुँदै गएको र मोफसलका मानिसको लागि यो एक निर्विकल्प सर्त बनेको छ। एउटै कोठामा ४÷५ जना खचाखच बस्ने र मासिक ठुलै रकम बुझाउने प्रवृत्ति हाबी छ। यसरी विकास भएको होस्टेलिया परिवारका सदस्यहरूमा अपेक्षाकृतरुपमा शिक्षा, सीप र संस्कारसँग सङ्गति भने पाउन कठिन छ। काठमाडौँको अरुबेला भिडभाड हुने सडकमा अहिले सुरक्षाकर्मी, पत्रकार केही कार्यालयका जागिरेहरूको मात्र उपस्थिति देखिन्छ। जिन्दगीको अधिकांश समय जागिरसँग साटेका र परिवारबाट टाढा भई जिन्दगीको गह्रौँ भारी बोकेकाहरूको जीवन यतिबेला पुरा दुखेको छ। बेला बेलाको प्रहरीको सूचनामूलक एवं सचेतनामूलक सन्देशका बिगुलहरू फुकिरहेका गाडीहरूले सबैका आँखा खिचेका छन्। तिनै सुरक्षाकर्मीहरू र क्यामेरा भिरेका पत्रकारहरू सशङ्कित मनस्थितिमा जीवन वृत्तिको दौडानमा रित्ता सडकमा दौडिरहेका हुन्छन्।

जीवनको आधा उमेर बिताएका र भर्खर वैश सुरु भएका छिमेकी मुलुकबाट आएर काम गर्ने भारतीय मजदुर दाजुभाइहरू ठेलागाडामा गल्ली गल्लीमा सब्जी, फलफूल, चटपट, पानी पुरी, प्लास्टिक भाडा, कवाडी सामाग्रीहरू जस्ता ब्याबसाय गर्नेहरू स–साना अस्वस्थकर एउटै कोठामा १०÷१२ जना बसेर कोभिडको त्रास भन्दा पनि जीविकोपार्जनको बढी त्रास भएकाले कति त कोठै भित्र मृत्युवरण गरेका खबर छापिएका छन्।

महामारीमा काम, पढाइ ठप्प हुने लकडाउन र निषेधाज्ञाको खबरले धेरै पहिला अवसरको खोजीमा सहर छिरेका र उतै बिराना भएकाको गाउँतिर पुनरागमनले किनारा लागि सकेकाहरूसँग पुरानो गहिरो साइनो गाउँघरले सम्झाइरहेको छ। गाउँ र सहरको लामो सम्बन्ध विच्छेद्यलाई मेलमिलाप गराएको छ। सहरका तथाकथित धनाढ्य उपत्यका बाहिरबाट कुनै समयमा अवसरले तानेका, आयातित मानिने उपत्यकाको भाषामा ४ आने, ५ आने भनेर ट्याग भिराइएका विद्वत वर्गको जीवनशैली भने फरक रहेको छ। भूमिगत अर्थतन्त्रमा लगानी भएका, भौतिक सुविधाले सम्पन्न वर्गहरू, साधारण जीवनशैलीसँग लामो सम्बन्धबिच्छेद भई मध्यमवर्गका समस्या, अभाव, भोकसँग अज्ञात रहेका विश्व बजारमा आफन्तहरू क्रियाशील रहेकाको दिनचर्या पनि महामारीले अकल्पनीय, अनिच्छित मृत्युले शंखघोष गरिरहेको छ।

सबैको आ–आफ्नो धन्दा हुन्छ । व्यापार ब्याबसायका पारखीहरू लगानी बढाउँदै ज्यामितीय दरमा मुनाफा आर्जन गर्ने हेतुले थालेको व्यापारबाट अघिल्लो चरणको महामारीले निमोठिएका व्यापार घाटा, कोठा भाडा, बैङ्कको कर्जाबाट थिग्रिनै नसकी चौपट बनाएको छ। निश्चित समयमा निश्चित कर्म गरेर जीवनलाई सरल, सहज र समृद्ध बनाउने चाहना हरेकको नभएको हैन। सरकार केबल मुख दर्शक बनेको छ।

बैङ्कको किस्ता, ब्याज, घर भाडा, कर्मचारी व्यवस्थापन, व्यापारिक ख्याति बचाउने जस्ता झमेलाहरू उ स्वम्् एक्लै भोग्न विवश छ। कुन बेला सङ्क्रमण भएर मृत्युको मुखमा परिन्छ भन्ने त्रासले मानसिक दिगोपना एवं सुदृढीकरण गराउँदैन । बरु मनोबल गिराउँछ। शरीरमा आलश्यता पैदा गर्छ। खाद्यान्न सामाग्रीहरूमा समय गुज्रने, बिग्रने, सड्ने निश्चित समयतालिका बिहान १० बजेसम्म बेचेर गुजारा चलाउनु पर्ने, लगाउने सामाग्रीहरूको आइटममा गताबधिक हुने र लगानी डुब्ने काठमाडौँका व्यापारीका कथाः पहिलो कुरा सटर नपाउने र पाए पनि रित्तो ठाउँको र सटरको ख्यातिको लागि ठुलो रकम खर्चनु पर्ने भएकाले यो भयावह छाडेर सामान निकालेर ब्याबसाय बन्द गर्न पनि नसक्ने र घाटाको ब्याबसाय रुग्नु पर्ने दुई वटै सम्भावनाका हातहरू भाचीँएको अवस्था छ।

समय अनुकूल बन्ला र यी सामाग्री बेचौँला अनि ठाउँको र ब्याबसायको बौद्धिक सम्पत्तिको आधारमा ख्यातिको मोल उठाउँला भनेर हात जोडिरहेका छन् मध्यम वर्गीय व्यापारीहरू। आशा गरौँ त्यो दिन चाँडै आओस् !

यतिमात्र कहाँ हो र ? सहरभित्र रहेका लावारिसे जीवनहरू (सडक बालबालिका, मानसिक सन्तुलन गुमाएका) असङ्ख्य जीवनको चित्कार खै कसले सुन्छर ? उनीहरूको पनि आफ्नै कथा व्यथा छन्। मठ, मन्दिर, चैत्य गुम्बामा मानसिक सन्तुलन गुमाएर जीवनको गह्रौँ भारी बोकेका र अरूलाई पनि बोकाएकाहरूलाई मनोपरामर्श सहयोग र रेश्क्यु सेन्टर खडा गरेर कसले व्यवस्थापन गर्ने ? छेउमै जोडिएका कोठा छिमेकीहरू पनि त्यस अवस्थाबाट आक्रान्त बनेका छन्। लकडाउन र निषेधाज्ञा चेतना भएकाका लागि मात्र हो तर त्यस्ता फरक क्षमता भएकालाई भने स्वच्छन्द आकाश जस्तै बनेका छन्।

फोहोरमैला गाडीको घुम्ती सेवामा कार्यरत कर्मचारीहरूप्रति एकै छिन ध्यानाकर्षण हुन पुग्छ। खचाखच फोहोरमैला हालेको गाडीमा फोहोरमैला माथि उनीहरू बसेर दैनिक बिहान सहरका गल्ली गल्लीमा फोहोरमैला सङ्कलन गर्दछन् । न त मास्क छ, न त पञ्जा छ, न स्यानिटाइजर, शरीरै फोहोर मैलामा टासीरहेको छ। शरीर आधा मात्र ढाकेको बीचबीचमा शरीरको छाला देखिएको कपडा छ र त्यसमा झिङगाहरु भुनभुनाइरहेका छन्। फोहोरका डङ्गुर उठाउँदै सडकमा हिँडेका छन् । खैर सङ्क्रमणको जोखिम त तिनीहरूलाई पनि त हुँदो हो। न आधारभूत स्वास्थ्य मापदण्ड पालना, न त स्वास्थ्य बिमा, न परिवारको सुरक्षा, मात्र भगवान् नै रक्षक या भक्षकको प्रतीक्षा । केबल प्रतीक्षा । तिनीहरूका पनि जीवनका सुकिला र रङगिला किताबका पानाहरू हुँदा हुन् खै कहाँ पुगेर ती पानाहरू पल्टन छोड्छन् होला कुन्नि ! प्रत्येक श्वास श्वासमा मृत्युको त्रास उब्जिरहेको हुन्छ।

सहरमा भुसिया, बेवारिसे कुकुरहरूको ठुलै सङ्ख्या महामारीले भोकमरीको चपेटामा पारेको छ। बिहान बिहानै बिस्कुट, खाना, रोटी, पाउरोटी खुलाउने मानिसहरू यतिबेला स्थानान्तरण भएका छन्। मानव अस्तित्व नै सङ्कटमा परेका बेला सहरियाका साथी बनेका कुकुरहरू शून्य गल्लीमा लडिरहेका छन् र प्रश्न गर्दै छन् खै हामीलाई खाना दिने अन्नदाताहरू कता छन् ? भनेर । तर पनि अक्कल झुक्कल सडक सडकका कुकुरलाई खाना बनाएर स्कुटरमा बाल्टिङ राखी बाटा बाटामा प्लास्टिकमा कुकुरलाई खाना बाँड्दै हिँड्ने थोरै उदारआत्माहरु पनि सडकमा देखिन्छन्। भनिन्छ नि, एउटै उचाइमा उडिरहेका चराहरूको दृष्टी गिद्धले कुहिएको सिनो देख्छ भने, कागले जुठेल्नुको जुठो देख्छ, परेवाले आँगनको बिस्कुन देख्छ । मात्र सोच र दृष्टिको फरक हो। पृथ्वीका त्यस्ता प्राणीहरूप्रति सङ्कटमा हामी पनि जिम्मेवार बनौँ।

स्वर्गको एक टुक्रा झैँ सुन्दर नेपाल र त्यसको ठुलो सहर काठमाडौँको प्रत्येक घरका छतहरू साँझ बिहान खुल्ला चौरमा परिणत भएका छन्। योग, ध्यान, शारीरिक व्यायाम र चिया कफी सेन्टर जस्तै बनेका छन् । दिनको समयमा सामाजिक सञ्जालका खबरहरू नियाल्दै र आफन्तसँग श्रब्यदृश्य वार्तालाप गरी भौतिक र संवेगात्मक दुरी घटाउँदै जीवनचर्या सोधनी गरेर बिताएका छन्। त्यो वार्तालापमासबैको एउटै अनिवार्य सुझाव छ–‘बाहिर नजाओ, कोठाभित्रै सुरक्षित बस, साबुन पानीले हात धोइराख, सकारात्मक चिन्तन गर, आफू पनि बाँच, अरूलाई पनि बचाओ !’ मानवता हराउन खोजे पनि हराइसकेको रहेनछ भन्ने झल्को केही अभियन्ताहरू, नागरिक समाज, कलाप्रेमि, पत्रकार, निजी कर्पोरेट क्षेत्रका अगुवाहरू, नेपाली राजदूतहरूले गरेका कामहरू जस्तैः एम्बुलेन्स सेवा, अक्सिजन प्लान्ट, अक्सिजन कन्सनटेटर, रक्तदान, आइसियुयुक्त शय्या थप, आइसोलेसन वार्डहरूको निर्माण,सडक मानवलाई निःशुल्क खाना वितरण, कोभिड खोप खरिदमा योगदान लगायतका आपत्कालीन स्वास्थ्य सेवामा लागि परेको दृश्य र खबरले आम मानिसको हृदयबाट जयजयकारको धुन गुन्जिरहेको छ।

अनन्तः कृतज्ञता प्रदान भइरहने छ । मृत्यु अपरिहार्य, अदृश्य, अप्रिय र जीवनको अन्तिम विश्राम हो । कुनै अमूल्य रत्नसँग जीवनलाई क्रयबिक्रय गर्न सकिँदैन तसर्थ मृत्यु असम्भावी छ।महामारीमा मानवता देखाऔँ सहरको मानवता हराएको बस्तीमा भौतिक दुरी कायम राखेरै भए पनि सङ्क्रमित व्यक्तिलाई आफूले सकेको सहयोग रुपैयाँपैसा, आफूसँग भएको सवारी साधन, खाद्यान्न, रक्तदान, आकस्मिक स्वास्थ्य सेवा, घर तथा व्यवसायको भाडादरमा संयमित एवं सहयोगी बनौँ। सकारात्मक भाव हस्तान्तरण गरौँ । अहिले नगरे कहिले गर्ने सबैले मनन गरौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस