परिबन्द « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

परिबन्द


३ जेष्ठ २०७८, सोमबार


आमा
अब म सग्लो मान्छे रहिँन,
कि त कम्युनिस्ट रहेँ, कि त काङ्ग्रेस रहेँ ।
जन्म त दियौँ तिमीले
तर मेरो तकदिर लेख्ने गुरुत्व नाभि
अरू कोही, अन्त कतै रहेछ, आमा !
मलाई माफ गर ।

आमा
अब म तपाईँको इमान छोरा रहिँन
नक्कली “बा” को अक्कली छोरा रहेँ ।
हाम्रो सक्कली बा ले के नै गर्न सके र आमा ?
न त लुट्न सके,
न त झूटको व्यापार गर्न सके
न त राजनीति गर्न सके
न त कूटनीति गर्न सके
न त विद्रोह गर्न सके
न त क्रान्ति गर्न सके, न त भ्रान्ति गर्न सके
न त अधर्मको मार्गमा हिँड्न नै सके
यो बिना जिउँदो रहन
मुस्किल मात्र होइन असम्भव रहेछ, आमा ।
त्यसैले,
मलाई माफ गर आमा
अब म सग्लो मान्छे रहिँन,
कि त कम्युनिस्ट रहेँ, कि त काङ्ग्रेस रहेँ ।

ती नक्कली “बा”को अक्कली छोरा भएपछि
मैले सब थोक पाए आमा, सब थोक !
मान पाए, शान पाए, पद पाए, प्रतिष्ठा पाए
…धन पाए, दौलत पाए ।
अझ मेरो अपरम्पार भक्ति
ईन्द्रजाली शक्ति र असुरी आशक्तिले
“बा” यसरी नै प्रफुल्ल/मोहित हुँदै जानू भयो भने
ठुलो मान्छे बन्छु अरे
राज्यको उपल्लो तहमा पुग्छु अरे
शासक बन्छु अरे, प्रशासक बन्छु अरे
न्यायाधीश बन्छु अरे, गणधीस बन्छु अरे
नायक बन्छु अरे, सेना नायक बन्छु अरे
राजदूत बन्छु अरे, …मन्त्री बन्छु अरे
उहाँ “बा” जस्तै
भोलि म पनि त्रिभुवनको
प्रचण्ड~ प्रतापी~भूपति बन्छु अरे ।
म दिक्कालजयी भए आमा, दिक्कालजयी !
मलाई माफ गर, आमा
अब म सग्लो मान्छे रहिँन,
कि त कम्युनिस्ट रहेँ, कि त काङ्ग्रेस रहेँ ।
सबैभन्दा बढी, सबैभन्दा कृतज्ञ
नक्कली “बा” को सौम्यवान अंशुधर रहेँ ।

मेरो यत्रो दिग्विजय देख्दा पनि
अहँ! तिमी शेषभर पनि खुसी छैनौँ ।
मलाई थाह छ आमा
एकान्तबास भित्रको कुनै शुन्यवृत्तमा
आज तिमी एक्लो छौ, कमजोर छौ, दुर्बल छौ, विवश छौ
र, सन्नाटाको कहर भित्र बेस्सरी निसास्सिएकी छौ ।
म महसुस गर्न सक्छु आमा
तिम्रा ती निश्चल नयन, अविरल बगिरहेछन् सागरसरी
तिम्रो पवित्र मन फाटेको छ, मरुभूमिमा चल्ने तुफानसरी
तिम्रो स्नेही मुटु पोलेको छ, महोदधिय ज्वारभाटासरी !
तरपनि,
मलाई माफ गर, आमा
म पनि त प्रारब्धको परिबन्धमा छु
लोभी छु, पापी छु
भोको छु, नाङ्गो छु
मूर्ख छु, मोहित छु
विवश छु, लाचार छु ।
त्यसैले आमा,
अब म तपाईँको असल छोरा रहिँन
अब म सग्लो मान्छे रहिँन,
कि त कम्युनिस्ट रहेँ, कि त काङ्ग्रेस रहेँ ।

प्रतिक्रिया दिनुहोस