काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउने बताएका छन् ।
प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै ओलीले कोरोना नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘कोरोना महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु ।’
ओलीले महामारीको अहिलेको समयमा सेवा भावका साथ सहयोग गर्न आग्रहसमेत गरेका छन् । ओलीले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि आग्रह गरेका छन् । अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै ओलीले आवश्यकता र बिरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्नेसमेत बताएका छन् ।
महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमिता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने ओलीले बताए । ओलीले यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशनसमेत दिएका छन् ।
ओलीले सबै नेपालीलाई यथाशीघ्र कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने र उद्योग व्यवसायमा कोरोनाको प्रभाव न्युनीकरणका लागि सहयोग गर्ने समेत बताएका छन् ।