आमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आमा


२९ बैशाख २०७८, बुधबार


आमा शब्द आफैमा कति वजनदार छ । मृत्यु त हरेक प्रकारले हुन सक्छ तर जन्म एउटै प्रकारले हुन्छ । देव, राजा वा अन्य जुनसुकै प्राणीलाई जन्म दिने त्यही आमा हो । आमाको काखले स्वर्गको अनुभूत गर्ने, आमाको गुन्युले छहारीकोरूप पाउने, काखले शक्ति दिने दूधले फुर्ती दिने । पहाड घोप्टिएर आउँदा पनि आमाको अँगालो कति बलवान छ । त्यसैले त आमा देवताको पनि देवता मातृ देवो भवः ।

एउटा डिम्बाशयमा सल्किएको शुक्रकिटलाई हुर्काउँदै बढाउँदै ९ महिनासम्म बढाइरहँदा आमा कति प्रफुल्लित हुन्छिन् । भैँसीलाई सिङको भारी नभए जस्तै आमालाई पेटको बच्चा कहिले भारी नहुने आमा तिमीमा कत्रो साहसिक मन छ । तीन किलोको ढुङ्गा पिठयुमा बोकेर हिँड्दा कति भारी हुन्छ । तर, आमा जसले तीन किलो भन्दा माथिको बच्चा पेटमा बोकेर महिनौँ महिनौँ दिनसम्म हिँडदा पनि कहिल्यै झिँजो मान्दिनन् । आमालाई कहाँ दुःख्छ ?, कति बेला भोक लाग्छ ?, आमाको विश्राम समय के हो ? सुत्ने समय कति बेला हो  ? उनलाई मिठो लाग्ने वस्तु के हो ? बच्चोलाई थाहै छैन तर त्यही बच्चोलाई कति वेला भोक लाग्यो ? कहाँ चोट लाग्यो ? कति चाँडै थाहा पाउने । हेर त आमा कस्तो अद्भूत हो ।त्यसैले त आमा पृथ्वी हो ।

आमा कस्ती छन् भुँडीमा नाक दलेर हाँस्न सिकाउँछिन् । पिठ्युँमा बोकेर गाना सिकाउँछिन् । आफैले लगाएको धोती च्यातेर बिछौना बनाउँछिन् । हातमा जीउमा दिशापिसाव गर्दा छि छि पनि भन्दिनन् । नाकको सिँगान हातैले पुच्छिन् त्यही हातले आफैले खान्छिन् । छोरा छोरीको गन्ध पनि उनलाई प्यारो लाग्ने, स्वर मिठो लाग्ने, अरूको बच्चा भन्दा आफ्नै बच्चा प्यारो मान्ने कति ठुलो हृदयीकी हुन् आमा । पहिलो वाक्य आमा भन्न सिकाउँछिन् । कोखाइ कोखाइ भन्दै खान सिकाउँछिन् । ताते ताते भन्दै हिँडन सिकाउँछिन् । बोल्न सिकाउने, खान सिकाउने, हिँडन सिकाउने पहिलो ब्रह्माण्डको पहिलो पाठशाला हुन् आमा । खेल्न सिकाउने नाच्न सिकाउने पढ्न सिकाउने केही नभए झिँजो र थाल कचौरामा टिन टिन पारेर सङ्गीत भर्न सिकाउने आमा कति महान् छिन् ।

धोबिनी पनि आमा, सुँडेनी पनि आमा, भान्सेनी पनि आमा हरेक प्रकारका अपराध गरे पनि माफ गरिदिने आमा । आमा बैङ्क पनि हो चाहिएको बेला पैसा दिने । आमा व्युटीसियन पनि हो सिंगार पटार गरी दिने, आमा कति विद्वान छन् बोल्दै नबोल्ने बच्चाको पनि भाषा बुझिदिने । बच्चाको भाषा बुझ्नलाई उनलाई कुनै विश्वविद्यालयको उपाधि चाहिँदैन कसैको तालिमको सहारा चाहिँदैन । काखमा रहँदा होस वा १५/१६ को उमेर होस् वा गधा पच्चिसे नाघेको अवस्था होस प्रत्येक समय र पलको मूल्याङ्कन गर्ने र इच्छा आकंक्षा पुरा गरिदिने आमा कति महान् छन् । देवता खोज्दै मन्दिर मन्दिर किन हिँड्दा हुन् ? देवता सबै ठाउँमा पुग्न सक्दैनन् भनेर नै आमा भनेर घर घरमा आएका हुन् । आमा त त्यस्ती देवता हुन् जसले मागेका सबै कुरा पुरा गरिदिएकी छिन् । अर्को अर्थमा भन्दा आमा मानव जगतकी भगवान् हुन् ।

घाँस काट्न गएको बेला जन्मिएको पछाडि घाँसको भारी अगाडि बच्चा रगत चुहाउँदै चुहाउँदै हिँडेकी आमा, टाइफाइड हुँदा पनि बच्चा जन्माएकी आमा, क्रियामा बस्दा बस्दै पनि बच्चा जन्माएकी आमा, कोरोना वा अन्य यस्तै कहरमा पर्दा पर्दै पनि बच्चा जन्माएकी आमा, युद्धमा सामेल हुँदा हुँदै पनि बच्चा जन्माएकी आमा । आमा गोठको छेउमा पनि जन्माऊ, जङ्गलको एउटा कुनामा पनि जन्मायौ, आफू छटपटिदैं मर्दै पनि जन्मायौ । आफू मरेर संसार देखायौ । बच्चाको अगाडि तिमीलाई टाउको दुखेन, तिम्रो पेट दुखेन, बच्चाको पेट नभरिँदा तिम्रो तिमीलाई भोक प्यास पनि लागेन आमा तिमी कति महान् बन्यौ । तिम्रो महिमा वर्णन कसले गरिदिने भनी त्यसको मतलब पनि गरेनौँ । बच्चाले तिम्रो प्रशंसा गरोस् भनेर कहिल्यै सोंचीनौँ । तिमीले त बच्चाकै प्रशंसा पो गरिरहन्छौ । बच्चा जन्मायौ सन्सार बिर्सियौ अब त बच्चाकै संसारको लागि मदनमस्त छौ । अब त तिम्रा इच्छा आकंक्षा भनेको त आफ्नो बच्चाको इच्छा आकंक्षालाई पो सम्झियौ । बच्चाको अगाडि तिम्रा स्वार्थहरूलाई बच्चाका रहरमा विलीन गरायौ ।

दाँत फेर्नेबेला हुन्छ आमाले बेस्सरी हल्लाउन सक्दिनन् । जिउमा पिलो उठ्छ बेस्सरी निचोरेर खिल फाल्न सक्दिनन् । खुट्टामा काँडो बिझ्छ काँडा निकालिदिन पनि डर लाग्छ भन्छिन् । यस्तो सुन्दा त आमा डरपोक हुन् र भन्न मन लाग्ला तर त्यस्तो होइन आमाले आफ्नो सन्तानको पीडा कत्ति पनि हेर्न सक्दिनन् । त्यसैले त आमा माया की खानी हुन् दया की खानी हुन् । आमा परिवारको मेरुदण्ड हुन् । नैतिक मूल्य मान्यता र संस्कार सिकाउने, आर्थिक मितव्ययिता सिकाउने संस्कारी पनि हुन् । बच्चाको आँखा फुट्दा आमाले आफ्नो आँखा निकालेर दिएकी छिन् । बच्चाको किड्नी फेल हुँदा किड्नी दिएकी छिन् । फोक्सो र कलेजो चाहिएमा पनि काटेर दिन मन्जुर गरेकी छिन त्यसैले बच्चालाई सबै सन्सार देख्ने नै आमा हुन् । त्यसैले त आमाले भन्छिन् मेरो आँखाको नानी मुटु कलेजोको टुक्रा त्यसै भनेकी हुन र !

आमा बच्चाको भावनामा खेल्छिन् । काखमा बच्चा नहुँदा छिन छिनमा झस्किन्छिन् । बच्चाका इच्छा आकंक्षाहरुलाई सानैदेखि पूर्ति गर्ने तर्फ लाग्छिन् । सानोमा खेलौनाहरूको थुप्रो लगाइदिन्छिन् समय क्रमसँगै मोबाइल,टयावलेट आइफोन ल्यापटप, साइकल, मोटरसाइकल, गाडी किनी दिन्छिन् किनकि बच्चाको इच्छा कतैबाट पनि नमरोस् ।

आमा यस्ती हुन भन्ने सबैलाई थाहा छ नि तर पनि राज्यको नीति निर्माण गर्दा आमालाई वंशज नमान्ने, आमाका नाममा सम्पत्तिको मालिक नबनाउने, घरको मुख्य मालिक आमा नबन्ने उनका बोलीलाई सदैव दबाइ राख्ने कस्तो विडम्बना !

विडम्बना त्यसमा मात्र हो र अब त कतिले आमा बुढी भएन भने कुप्री बुढी भन्ने रोग र बलले क्षीण हुँदै गयो भने उनलाई हेला होचो गर्ने, घरको कर करको कारणले घर भाँडियो भन्दै घरबाट निकाला गरिदिने वा घरमा एकलै छाडी आफू घरबाट निस्कीदिने अझ वृद्धाश्रममा राखेर आफूले संसार सयर गर्ने पनि छन् । आमा नचिन्ने मूर्खहरूको लागी यो भन्दा विडम्बना के हुन सक्छ ?

आज माता तीर्थ औँसी जीवित आमाहरूको लागी चिच्याएर आमा भनौँ साष्टाङ्ग दण्डवत् गरौँ । जीवित नहुनेहरूले अनुलोम प्रतिलोम गर्दा पनि आमा सम्झेर गरौँ । कपाल भाँती गर्दा पनि आमाको चित्कारमा गरौँ । संसारमा सबै भेटिएला तर फेरी आमा कहिल्यै भेटिँदैन त्यसैले आमाको सधैँ पूजा गरौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस