काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड-१९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र सङ्घलाई अनुरोध गरेका छन् ।
नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीलाई शुक्रवार टेलिफोन गरेर पोखरेलले यस्तो आग्रह गरेका हुन् ।
उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य सङ्गठनबाट पाउने कोभ्याक्स अन्तर्गतको खोप तथा भेन्टिलेटर, पिपिई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि उपलब्ध गराइदिन सहजीकरणको लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चीनबाट प्राप्त हुने अक्सिजन सिलिन्डरको पहिलो लट लिन नेपाल वायुसेवा निगमको मेडिकल कार्गो उडान आरए ४२५१ बाट आगामी साता काठमाडौँ आइपुग्ने छ । १० मे मा जहाज चीन गएर ११ मेमा फर्किनेछ । चीनमा अवतरण अनुमति तथा बङ्गलादेश र भारतसँग ओभरफ्लाइएका लागि पनि प्रक्रिया अघि बढाइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार छिमेकी मित्रराष्ट्र चीनबाट सहयोग स्वरूप प्राप्त हुने स्वास्थ्य सामाग्रीहरू(भेन्टिलेटर–४०, अटोमेटेड एनालाइजर–२०, डिआर मेसिन–१०, पोर्टेवल अल्ट्रासाउन्ड–२०, एनेस्थेसिया मेसिन–३०) एक हप्ता भित्र तातोपानी नाकामा आइपुग्ने भएको छ । चीन सरकारबाट सहायतास्वरुप प्राप्त हुने स्वास्थ्य सामग्री मध्ये ४०० थान सिलिन्डर र १० थान भेन्टिलेटर नेपाल पठाउनका लागि ९ मे, २०२१ सम्म बेइजिङ क्यापिटल एयरपोर्टमा तयारी अवस्थामा रहने पनि मन्त्रालयले जनाएको छ ।
अमेरिकी सरकारबाट केही परिमाणमा पिपिई, एन्टिजेन टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर यथाशीघ्र पठाइने जानकारी प्राप्त भएको छ । एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौंस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता किरणराज शर्माका अनुसार स्वास्थ्य मन्त्रालयको सूची बमोजिमका सहायता सामग्री बेलायत, जर्मनी, फ्रान्स, क्यानडा लगायतका मुलुकहरूबाट सहयोग स्वरूप प्राप्त गर्न पत्राचार भएको छ । एक डोज मात्र लगाउँदा पुग्ने र करिब ९० प्रतिशत प्रभावकारिता रहेको स्पुतनिक लाइट भ्याक्सिनको विस्तृत जानकारी मस्कोस्थित नेपाली राजदूतावास मार्फत रसियाको सम्बन्धित निकायसँग माग गरिएको छ ।
दक्षिण कोरियाबाट सहायतास्वरुप स्वास्थ्य सामग्रीहरू जीटुजी पद्धतिबाट प्राप्त गर्नका लागि स्थानीय कोरियाली दूतावास र स्वास्थ्य मन्त्रालयबिच समन्वय भएको छ । बङ्गलादेश सरकारबाट सहायता स्वरूप आवश्यक औषधीजन्य स्वास्थ्य सामग्रीहरू प्राप्त हुने भएको छ। यसैगरि बङ्गलादेशको ढाकास्थित वेक्सिम्को फार्मा मार्फत रेम्डेसिभिर १० मेमा र बङ्गलादेश सरकारबाट थप पाँच हजार भाएल्स रेम्डेसिभिर ११ मे नेपाललाई उपलब्ध गराउने भएको छ । यसको ढुवानी नेपालले नै गर्ने छ ।
मुख्यसचिव शंकरदाश वैरागीको अध्यक्षतामा बसेको कोभिड-१९ सहजीकरण समितिको बैठकले विभिन्न निर्णयहरू गरेको छ । बैठकमा देशभरका अक्सिजन उद्योगहरूको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने/गराउने, अक्सिजन उद्योगहरूमा विद्युत् तथा खानेपानीको नियमित आपूर्ति गर्ने, उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने, कोभिड अस्पतालहरूमा भएको कुल शय्या(भरिएका र खाली) को वास्तविक विवरण तत्काल उपलब्ध हुने गरी केन्द्रीय सूचना प्रणाली स्थापना गर्ने सम्बन्धमा छलफल भएको प्रवक्ता शर्माले बताएका छन् । उनका अनुसार यसमा वास्तविक समयको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो वेबसाइटमा राखी सर्वसाधारणले कुन अस्पतालमा कुन समयमा कति शय्या उपलब्ध छन् तत्काल हेर्ने र आवश्यक पर्दा बिरामी लैजान सक्ने व्यवस्था गर्ने सम्बन्धमा विस्तृत छलफल भएको छ।
यस्तै अक्सिजन सुविधासहितको बेड सङ्ख्या थप गर्ने, कालो बजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने र स्टक राख्ने तथा लुकाउने उपर कानुनी कारबाही गर्नेरगराउने र अक्सिजन प्रयोगको मापदण्ड यथाशीघ्र टुङ्गाउने लगायतका विषयमा समेत छलफल भएको प्रवक्ता शर्माको भनाई छ ।