मनमोहन अस्पताललाई रोटरीबाट डायलायसिस मेसिन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मनमोहन अस्पताललाई रोटरीबाट डायलायसिस मेसिन


१७ बैशाख २०७८, शुक्रबार


झापा । मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले रु एक करोड २० लाख मूल्य बराबरको सात थान किडनी डायलायसिस मेसिन प्रदान गरेको छ ।

मानवीय सेवामा समर्पित क्लबले गत वर्ष कोभिड– १९ को कहर शुरु भएलगत्तै डाइलायसिस गर्नुपर्ने बिरामीलाई परेको कठिनाइ ध्यानमा राखी बिर्तामोडमा डायलायसिस सेन्टर स्थापनाको पहल गरेको थियो ।

अस्पतालले सो डायलायसिस सेन्टर हालै सञ्चालनमा ल्याएको छ । त्यहाँ जापानबाट आयातित अत्याधुनिक सात थान डायलायसिस मेसिन, एक थान डाइलाइजर रि–प्रोसेसिङ मेसिन, एक थान वाटर प्युरिफायर र सात थान इलेक्ट्रिक बेड छन् ।

झापामा मिर्गौला रोगी बढिरहेका अवस्थामा रोटरीले जिल्लामा सबैभन्दा बढी क्षमताको डायलायसिस सेन्टर स्थापना गरिदिएको क्लबका अध्यक्ष प्रशान्त भण्डारीले बताए ।

अस्पतालले रोटरीसँगको सम्झौताबमोजिम भौतिक तथा आर्थिक व्यवस्थापन आफै गरी डायलायसिस सेन्टर सञ्चालन गरेको हो । सङ्घीय सरकारले तोकेको दुई हजार पाँच सय शुल्कमा बिरामीले यहाँबाट सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश खरेलले बताए । आउँदो साउनदेखि सरकारी सुविधा पाएपछि डायलायसिस सेवा निःशुल्क हुने जनाइएको छ ।

हाल झापाका भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पाँच र ॐसाई पाथीभरा हस्पिटलमा पाँच शय्याको डायलायसिस मेसिन सञ्चालनमा छन् । बिर्तामोडको बिर्तासिटी हस्पिटलमा चार र बिएन्डसी हस्पिटलमा चार शय्याको डायलायसिस मेसिन छन् । दमकको लाइफलाइन हस्पिटलमा समेत पाँच शय्याको मेसिन सञ्चालनमा छ ।

मनमोहन अस्पतालको सो डायलायसिस सेन्टरमा १० नर्सिङ स्टाफ रहेको र २४ घण्टै सेवा चालु भइरहेको नर्सिङ इञ्चार्ज सुमन सेढाईँले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस