सङ्क्रमितका लागि बेड क्षमता बढाउँदै चितवनका अस्पताल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सङ्क्रमितका लागि बेड क्षमता बढाउँदै चितवनका अस्पताल


१७ बैशाख २०७८, शुक्रबार


भरतपुर अस्पताल

चितवन । जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका अस्पतालले बेड क्षमता बढाउँदै लगेका छन् । सरकारी र दुई मेडिकल कलेजले कोरोना सङ्क्रमितको उपचार गर्न सो सङ्ख्या बढाउँदै लगेका हुन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिडका बिरामी राख्न छुट्टै वार्ड बनाउँदै छ ।

भरतपुर अस्पतालमा विभिन्न वार्डका बिरामीहरु स्थानान्तरण गरेर कोभिड बिरामीका लागि १५० बेड पुर्याइएको छ । अस्पतालमा कोभिडका लागि ११० मात्रै बेड थिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। जगन्नाथ तिवारीका अनुसार हाल अस्पतालमा १० बेडको कोभिड सघन उपचार कक्ष, २५ वटा एचडियु र ७५ वटा अक्सिजनसहितको साधारण बेड छन् ।

मेडिसिन वार्डका बिरामीलाई अन्यत्र सारेर अक्सिजनसहितको कोभिड बिरामीका लागि ४० वटा बेड विस्तार गरिएको छ । यस अघि हाडजोर्नी, न्यूरो, सर्जरी लगायतका विभागका बिरामी सारेर कोभिड उपचार कक्ष स्थापना गरिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बाहिर जिल्लाबाट धेरै बिरामी आएकाले व्यवस्थापन कठिन भएको बताए । हाल अस्पतालमा ८२ जना कोभिडका बिरामी छन् ती मध्ये ५० प्रतिशत जिल्ला बाहिरका हुन् । उनका अनुसार नेपालगञ्जदेखि यहाँ कोभिडका बिरामी आएका छन् । अधिकारीले भने, ‘यस्तै अवस्था रहेमा एक दुई दिनमा अस्पतालले कोभिडलाई छुट्टयाएका बेड भरिने छन् ।’

अस्पतालमा हाल विशेषज्ञसहितका २० चिकित्सक र ३० नर्सिङ कर्मचारी कोभिड उपचारमा जुटेका छन् । अन्य अत्यावश्यक वार्डहरु खाली गर्न नसकिने भएकाले थप व्यवस्थापन गर्न कठिन हुने अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजमा ११३ बेड कोभिडका लागि छुट्टयाइएको छ जसमा ३४ जना बिरामी हाल उपचाररत छन् । अस्पतालका अप्रेशन म्यानेजर पारस अधिकारीका अनुसार अस्पतालमा ३३ शय्याको कोभिड उपचार कक्ष छ जहाँ ३० वटा भेन्टिलेटर समेत छन् । अधिकारीको भनाइमा प्रसुति विभाग, आकस्मिक सघन उपचार कक्ष, हाडजोर्नी लगायतका विभागलाई अन्यत्र सारेर कोभिडका लागि व्यवस्थापन गरिएको छ ।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ७० बेड कोभिडका लागि छुट्ट्याइएको छ । अस्पतालका निमित्त निर्देशक डा। मनोहर प्रधानका अनुसार कोभिडलाई भनिएकामध्ये ३० सघन उपचार कक्ष र ४० एचडियु हुन् जहाँ ६ वटा भेन्टिलेटर छन् ।

यस अघि साधारण बिरामी राख्ने ठाउँलाई खाली गरेर कोभिड बिरामी राख्न थालिएको हो । उनका अनुसार हाल अस्पतालमा कोभिडका ४१ जना बिरामी छन् । बिरामी थपिंदै गएमा अन्य विभागलाई गाभेर क्षमता विस्तार गर्ने गरी तयारी गरिएको छ । अस्पतालमा हाल २१ विशेषज्ञ सहितका चिकित्सक र ५० नर्स कोभिड उपचारमा जुटेको उनले जानकारी दिए ।

क्यान्सर रोगको मात्रै उपचार गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले पनि कोभिड बिरामीका लागि छुट्टै वार्ड बनाउने तयारी गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा .देज गौतमका अनुसार १५ बेडको वार्ड बनाउन लागिएको हो जहाँ पाँच वटा थप्न सकिने छ । कोभिड भएका क्यान्सरका बिरामीलाई उपचार गर्न वार्ड तयार गर्न लागिएको हो । एक दुई दिनमै वार्ड तयार हुने छ ।

अन्य केही निजी अस्पतालले पनि अस्पतालमा आएका बिरामीमध्ये कोभिड देखिएमा राख्ने तयारी गरेका छन् । पुष्पाञ्जलि अस्पताल भरतपुरका व्यवस्थापक सुजन अधिकारीले हालसम्म आएका कोभिडका बिरामीलाई नफर्काएको भए पनि अस्पताल बिरामीले भरिएकाले राख्ने अवस्था नरहेको जानकारी दिए । स्थानीय प्रशासनले सरकारी र निजी अस्पतालका सञ्चालकलाई कोभिड बिरामी बढ्न सक्ने भएकाले तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

बिहीबारसम्म जिल्लाका मात्रै ७२४ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य जिल्लाबाट यहाँ उपचारका लागि आउनेको तथ्याङ्क कार्यालयले राख्ने गरेको छैन । अस्पतालहरुमा ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाबाट आएका सङ्क्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस