कर्णाली सरकारले छुट्यायो कोरोना रोकथाम र उपचारमा १ अर्ब बजेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णाली सरकारले छुट्यायो कोरोना रोकथाम र उपचारमा १ अर्ब बजेट


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

उक्त रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली सरकारले जानकारी दिएको छ । त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट दिइएको छ । चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाइएको छ ।

कर्णाली प्रदेश सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रदेश भित्रिने ४ वटा नाकाहरुमा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाएको बताइएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सर्वदलीय संयन्त्र निर्माण गरी कोभिड नियन्त्रणमा लाग्ने प्रस्ताव प्रदेशसभामा लैजान लागेको भन्दै सरकारले उक्त प्रयासलाई प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको आरोप लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस