सगरमाथा आरोहणमा ४२ आरोही समूहले लिए अनुमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सगरमाथा आरोहणमा ४२ आरोही समूहले लिए अनुमति


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ। सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४२ आरोही समूहका ३९४ जनाले आरोहण अनुमति लिएका छन् । यो सङ्ख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका पर्यटन विभागले हालसम्म जारी गरेको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४२ आरोही समूह छन् । अझै केही दिन आरोही आउने भएकाले यो सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

विभागका अनुसार सगरमाथाका लागि ४२ सहित ८२ आरोही समूहका ७२३ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १३ आरोही समूह छन् । धौलागिरिमा पाँच र अन्नपूर्ण हिमालमा आठ आरोही समूहले आरोहणको अनुमति पाएका छन् ।

कोभिड–१९ महामारीकाबीच सञ्चालन भइरहेको पर्वतारोहणका लागि ७०० भन्दा बढी विदेशीको आगमनले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ । विभागका निर्देशक मीरा आचार्यले अहिलेको असहज परिस्थितिमा पनि उल्लेख्य सङ्ख्यामा विदेशी हिमाल आरोहणमा आउनुले विश्व पर्यटन बजारमा सकारात्मक सन्देश गएको बताइन् ।

उनले नेपालका आठ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै सङ्ख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाएको उल्लेख गरिन्।

वसन्त यामको आरोहणमा अझै आरोही बढ्ने विभागको अनुमान छ । अप्रिल महिनाभर आरोही आउने भएकाले विभागले धमाधम पर्मिट जारी गरिरहेको छ । नेपाल सरकारले हिमाल आरोहणका लागि ३६५ दिननै आरोहण खुला राखेकाले पर्वतारोहणमा उत्साहका साथ आरोहीको आकर्षण बढ्ने जनाइएको छ ।

मे पहिलो सातादेखि सगरमाथा आरोहण

सगरमाथाको चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा पुगिसकेका छन् । मौसमले साथ दिएमा सगरमाथा आरोहण आगामी मे पहिलो साताबाट शुरु हुने विभागको अनुमान छ । ‘डोरी टाँग्ने टोली अहिले सगरमाथाको क्याम्प चारमा पुगेको छ । मौसमले साथ दिए सगरमाथा आरोहण यसै हप्ताबाट हुन्छ । सकेसम्म मे पहिलो सातामा सगरमाथाको चुचुरोमा डोरी टाँगेर आरोहण शुरु गर्ने योजनामा छ’, विभागका निर्देशक आचार्यले भनिन् ।

कोभिड महामारीका कारण सन् २०२० को वसन्त ऋतुको आरोहण स्थगित भएको थियो । सन् २०१९ को वसन्त ऋतुको आरोहण वैशाख ३१ गतेदेखि शुरु भएको थियो । त्यस्तै सन् २०१८ को वसन्त आरोहणमा पनि वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो ।

वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ५३ करोडभन्दा बढी रोयल्टी सङ्कलन भएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । रोयल्टी जम्मा भएका हिसाबले पनि सन् २०२१ को वसन्त आरोहण उत्साहवद्र्धक देखिएको छ । सन् २०१९ मा वसन्त यामको आरोहणबाट ५१ करोड रोयल्टी जम्मा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस