बालाजु २२ धारा मेला स्थगित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बालाजु २२ धारा मेला स्थगित


१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यस वर्ष पनि स्थगन गरिएको छ । नयाँ स्वरूपसहितको कोरोना तीव्र रुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

प्रत्येक वर्ष चैत शुक्ल चतुर्दशीको बेलुकी पितृको सद्‍गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका विशेषगरी तामाङ समुदायका भक्तजनले सो धारामा स्नान गर्न जाने परम्परा छ ।

बौद्ध चैत्यमा बत्ती बालेका तामाङ समुदायका भक्तजन पूर्णिमाका दिन बिहानै बालाजु बाइसधारा स्नान गर्छन् । सक्नेले नागार्जुनस्थित जामाचोमा दर्शन गरी त्यसैदिन स्वयम्भू चैत्यमा पूजा गर्नुपर्ने चलन छ । नसक्नेले बालाजु बाइसधारापछि सीधै स्वयम्भूमा पूजा गरेपछि तेमाल जात्रा समापन हुन्छ । हाल जामाचो जान चैत्र शुक्ल पूर्णिमाका दिन मात्र रानीवनस्थित नेपाली सेनाको चेकपोष्ट खुल्ने गरेको छ ।

घना जंगल भएकाले यो बाटो जामाचो जाँदा समूहमा जानुपर्ने हुन्छ । जामाचोको ३५ मिटर तलको गुफामा बुद्ध ध्यान गरेर बसेको मूर्ति पनि यहाँ जाने दर्शनार्थीका साथै स्वदेशी एवं विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ । जामाचो जान हाल जीपलगायत सवारी जान सक्ने मोटरबाटो भए पनि बाइसधाराबाट छोटो बाटो हिँडेर समेत जान सकिन्छ ।

सत्ययुगमा विपश्वी बुद्धले उपत्यकाको दहमा कमलको फूल रोपेपछि त्यहीँबाट स्वयम्भू ज्योतिको उत्पत्ति भएको बौद्ध धार्मिक मत छ । त्यही बेलादेखि चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दिवंगत पितृका नाममा बत्ती बाल्ने परम्परा सुरु भएको मानिन्छ । राजा रिञ्जिन दोर्जे बलका पालामा यसलाई तेमाल जात्रा नामकरण गरियो ।

हाल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानुपर, ललितपुरलगायत उपत्यकाका विभिन्न स्थानका तामाङ समुदायको यो जात्रामा भीड लाग्ने गर्छ । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवंगत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा तीन लाखभन्दा बढी भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बालेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ ।

तेमालका अन्तिम राजा रिञ्जिन दोर्जेले विक्रम संवत् १८१९ मा तेमाल जात्रालाई राजकीय मान्यता दिई मनाउन प्रजालाई बौद्ध क्षेत्रमा पठाएपछि यसको नाम तेमाल रहन गएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए । कात्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्ध, मार्गशीर्ष शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोककै धनेश्वर र चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा लाग्ने तेमाल जात्राका बीचमा सम्बन्ध रहने गरेको समितिका कार्यकारी निर्देशक वसन्त लामा बताउँछन् ।

कोरोनाबाट बच्न गत वर्ष पनि बन्दाबन्दीका कारण जात्रा स्थगन गरिएको थियो । यस वर्ष पनि नयाँ स्वरूपसहितको कोरोना तीव्र हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशानुसार जात्रा, मेला स्थगन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस