झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट राखिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट राखिँदै


११ बैशाख २०७८, शनिबार


झापा । कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् ।

मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि ७५ शैय्याको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा रहेको छ । विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बीएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् ।

मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको जनाएको छ । झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ वटा सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताए ।

चार महिनाअघि शुभारम्भ कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरिएको र उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने झन्झटबाट अस्पतालमुक्त भएको उनले बताए ।

उनका अनुसार अस्पतालले प्रतिमहिना एक लाख ९५ हजारका दरले कम्पनीलाई रकम बुझाएपछि पाँच वर्षपछि मात्र प्लान्ट अस्पतालको स्वामित्वमा आउने शर्त रहेको छ । आवश्यक अक्सिजनका सिलिन्डर निजी सप्लायर्सबाट खरिद गर्दै आएका अस्पतालले आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्ति व्यवस्था भरपर्दो हुने विश्वास लिएका छन् ।

मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको छ । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिण्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको छ । कोभिडका बिरामी बढ्दै जाँदा अक्सिजनको माग अरु बढ्ने उनले बताए । बीएण्डसी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ ।

आफ्नै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दै आएको बीएन्डसी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिण्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । ‘सबै बिरामीलाई अक्सिजन चाहिँदैन,’ उनले भने, ‘आइसीयू र जटिल समस्या भएका बिरामीलाई चाहिने हुँदा अहिले यतिले पुग्दैछ ।’ हस्पिटलले हरेक शैय्या र इमर्जेन्सी कक्षमा अक्सिजनको पाइपलाइन पुर्‍याएको छ ।

बीएन्डसी हस्पिटलले प्लान्ट निर्माणमा पाँच करोड रुपैयाँ लगानी भइसकेको जनाएको छ । हाल अस्पतालले सुनसरीको इटहरीस्थित निजी सप्लायर्सबाट अक्सिजन खरिद गर्दै आएको छ ।

भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले आगामी असार मसान्तभित्रै अक्सिजनको आफ्नै प्लान्ट सञ्चालनमा ल्याउने जनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले हाल प्लान्टको पाइपलाइन जडान कार्य भइरहेको जनाउँदै ६० लाखको लागतमा अक्सिजनको प्लान्ट जडान गरिने बतए । विर्तामोडको विर्तासिटी अस्पतालले नयाँ भवन निर्माणाधीन रहेको हुँदा सोही भवनमा अक्सिजनको प्लान्ट राखिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस