प्युठान र वालिङ नगरपालिकाले मितेरी लगाए ! « प्रशासन
Logo ११ आश्विन २०७८, सोमबार
   

प्युठान र वालिङ नगरपालिकाले मितेरी लगाए !


११ बैशाख २०७८, शनिबार


२०७८ सालको शुभकामना के लेखौँ के लेखौँ भइरहेको थियो । ल्यापटप खोल्दै थिएँ प्युठान नगरपालिकाका उपमेयर शान्ता आचार्यले फोन गर्नुभयो । यसपालि नगरपालिकाको न्यायिक समितिको अगुवाइमा गण्डकी प्रदेशको वालिङ नगरपालिकाबीच समन्वयात्मक अन्तरक्रियात्मक कार्यक्रम राखेकोले सो अन्तरक्रियात्मक कार्यमा प्युठान नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरू पनि जाने भएकोले सबै कार्य थाती राखी जानको लागि आग्रह गर्नुभयो । नगरपालिका भित्र सूचीकृत मेलमिलापकर्ताहरू पनि विभिन्न सामाजिक कार्यमा संलग्न व्यक्तित्वहरू नै हुनुहुन्थ्यो । यसरी सबै मेलमिलापकर्ता र न्यायिक समितिका सदस्यहरू पनि जाने भन्ने भएकोले मैले उहाँको आग्रहलाई नकार्न सकिन । उहाँ राजनीतिक व्यक्तित्व भए पनि उहाँको ध्येय सामाजिक व्यक्तित्वहरूलाई साथमा लिई भविष्यमा नगरको समृद्धि गर्न के कस्ता कदमहरू चाल्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन अवलोकन भ्रमणले नगरको दिगो विकासमा टेवा पुग्न सक्छ भन्ने उहाँको उत्सुकता रहेको पाएँ । न्यायिक समितिको अध्यक्ष पनि रहेकोले समाजमा द्वन्द्व निरूपण गर्ने कार्यको लागि मेलमिलापकर्ताको अहम् भूमिका रहन्छ भन्ने कोणबाट पनि उहाँले हेर्नु भएकोले पनि उहाँको आग्रहलाई स्वीकार गर्न पुगेको हुँ । २०७८ साल वैशाख २ गते चालकसहित २८ जनाको टिमलाई नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले आफू पनि सँगै जाने इच्छा हुँदा हुँदै कार्य व्यस्तताका कारण जान नपाए पनि भ्रमणबाट नगरपालिकालाई फलदायी उपलब्धिको आशा राख्दै टिका लगाई दिउँसो १ बजे बिदाइ गर्नु भएको थियो ।

पहिलो दिन हाम्रो टोली तानसेनको पाल्पालाई वासस्थान रोज्दै अगाडि बढ्यो । कहाँ बस्ने र कुन ठाउँमा खाना खाने भन्ने सम्बन्धमा भ्रमण टोलीका आयोजक मध्येका न्यायिक समितिका सदस्य लिलाप जङ्ग केसीको सक्रियता निकै महत्त्वपूर्ण रह्यो । बुटवलबाट तानसेन तिर लाग्दै गर्दा र बर्तुङबाट हेर्दा तानसेन विवाह घर झैँ सिँगारिएको मण्डप जस्तै झिलिमिली देखिन्थ्यो । बुटवलमा तुवाँलोले ढाकेको जस्तो वातावरण रहेको र गर्मीले अत्त्याउने खालको अवस्थामा तानसेनको चिसो चिसो र मनमोहक वातावरणले सबैमा मनमोहकता प्रदान गरेको थियो । बेलुका झण्डै ९ बजे तानसेनको पाल्पा दरबार भित्र गाडी पार्किङ गर्दै भगवती मन्दिरलाई साक्षी राखेर मोनिका गेस्टहाउसमा पहिलो दिनको वासस्थान रोजिएको थियो । बिहान ६ बजे होटेल छाडनै पर्ने संयुक्त वाचा गर्दै खाना खाई आ आफ्नो कोठातिर लागेका थियौँ ।

पाल्पा दरबार र ऐतिहासिक सहर तानसेन
पाल्पा दरबार ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण दरबारको रूपमा लिइन्छ । यो दरबार बेलायती शैलीमा १९६९ मा प्रताप शम्सेरले बनाएको उक्त भवन आकर्षक देखिन्छ । उक्त दरबारमा संग्राहलय पनि राखिएको रहेछ । बिहान अलि चाँडै भएकोले उक्त दरबारको संग्राहलय हेर्ने मौका मिलेन । झण्डै ८ रोपनी जग्गा भित्र रहेको दरबारसँगै भगवतीको मन्दिर पनि ठडिएको छ । मन्दिरको अग्रभागमा नेपालकै सबै भन्दा ठुलो काठको ढोका रहेछ । माओवादी जनयुद्धको समयमा पाल्पा दरबारमाथि आक्रमण गर्दा ढोकामा क्षती पुगेको कारण ढोका खोल्न र बन्द गर्न नसकिने रहेछ । पश्चिम कमाण्डर प्रताप शमशेरले बनाएको उक्त भवनले तानसेनलाई आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण बनाउन सक्ने कुरामा कुनै दुबिधा रहेन । साथै पाल्पामा रहेका पुराना शैली र कलात्मक घरहरूको कारणले पनि तानसेन ऐतिहासिक सहरको रूपमा रहेको अवस्थालाई स्वीकार गरियो ।

कालीगण्डकीमा तोरण तार्ने
कुनै पनि शुभ कार्यको लागि तोरण टाँग्ने प्रचलन सानैदेखि अनुभूत गरेको थिएँ तर पाल्पाबाट जाँदा कालीगण्डकी पुलको ठिक पारीको होटेलमा चिया खाजा खाने व्यवस्था गरियो । त्यसको वरपर र काली गण्डकीको वारिपारि तोरण बाँधेको देखियो । मलार्इ कौतूहल लागेर होटेलवालालाई सोधे उनलाई त्यसबारेमा खासै जानकारी रहेनछ । पछि बुटवल नगरपालिकाका कानुन अधिकृत ध्रुव भट्टराईलाई सो बारेमा केही जानकारी छ कि भनेर फोन लगाएँ । उहाँ त्यतैतिरको हुनुहुन्छ । उहाँले कुनै पनि शुभ कार्य गर्दा होस वा मुक्तिनाथ पुग्न नसकेका व्यक्तिहरू पितृतार्नको लागि बाजागाजा सहित तोरन तार्ने गर्दारहेछन् । काली नदीमा तोरन बाँध्नाले पारलौकिक अवस्थामा कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने धार्मिक विश्वास रहेको बताउनुभयो । पितृहरूले स्वर्ग जाने बाटो खोजिरहेको र तोरन बाँधिदिनाले तोरनको सहायता जसलाई गाईको पुच्छरको रूपमा लिई स्वर्ग जाने भन्ने हिन्दुहरूको धार्मिक विश्वास पनि रहेको देखियो । हिन्दु धर्ममा पाँच पल्लभहरु जडान गरी बाँधिने तोरनलाई विभिन्न तरिकाले व्याख्या गरिए पनि नदीको वारिपारि तोरन तारेको सम्बन्धमा मेरा लागि नौलो अनुभूति भएको हो । कसैले तोरन तार्ने कुरालाई स्वर्ग जाने बाटो कोरेको पनि भन्दा रहेछन् भने तोरन बाँध्नु शत्रु बैरीले आक्रमण नगरुन् भन्ने पनि रहेछ ।

वालिङ नगरपालिकासँग मितेरी
गण्डकी प्रदेशको उत्कृष्ट नगरपालिका घोषित भएसँगै वालिङ नगरपालिकासँग विकास निर्माण लगायत न्यायिक समितिको काम कारबाही र सूचीकृत मेलमिलापकर्ताहरूले न्यायिक निरूपण गर्दाको अवस्थामा गरिने कामकारबाहीहरूको सम्बन्धमा जानकारी लिने र आफूले गरिआएका कामकारबाही बारे पनि जानकारी गराउने नै न्यायिक समिति समेत भ्रमण टोलीको मुख्य उद्देश्य थियो । नगरपालिकाको गुरुयोजना, सेवाग्राहीको लागि छिटो छरितो र प्रभावकारी सेवा प्रदान, आर्थिक आयस्रोत, सूचना प्रविधि मार्फत गरिने सेवा प्रवाहको बारेमा पनि जानकारी हासिल गर्ने मुख्य उद्देश्य रहेको थियो । न्यायिक निरूपण गर्ने सवालमा २०७५ सालमा २० वटा, २०७६ सालमा ६५ वटा र २०७७ सालमा ४४ वटा विवादहरू न्यायिक समिति समक्ष आएका रहेछन् सो मध्ये २ वटा जिल्ला अदालतमा पेश भएको र बाँकी रहेका मध्ये केही विवादहरूको सम्बन्धमा विवादका पक्षहरू फेरी सम्पर्कमा पनि नआएका र अन्य सबैजसो सुचीकृत मेलमिलापको माध्यमबाट विवाद निरूपण भएको कानुन इकाइका संयोजक अधिवक्ता नरबहादुर पौडेलले बताउनुभयो ।

अदालती प्रक्रिया बमोजिम विवाद दर्ता गर्ने, तारेख तोक्ने र सुनुवाइको लागि सोमबार र बिहीबार पेशी तोक्ने व्यवस्था गरिएको छ । सबै १४ वडामा मेलमिलाप केन्द्र राखिएको र मेलमिलाप केन्द्रको संयोजक तोक्ने साथै ६/६ महिनामा महिला भए पुरुष र पुरुष भए महिला संयोजक फेरिने अवस्था रहेको भन्ने भनाई उपप्रमुख कल्पना तिवारीले जानकारी गराउनु भयो । संयोजकलाई रु २५००/- सम्म सञ्चार खर्च मासिक रूपमा उपलब्ध गराउने व्यवस्था पनि भएको सम्बन्धमा उप प्रमुख तिवारीले जानकारी गराउनुभयो । १४ वडामा ११७ जना मेलमिलापकर्ता सूचीकृत भैसकेका र सो कार्यको लागि एसिया फाउन्डेसन र अस्ट्रेलियन एड मार्फत सहयोग उपलब्ध गराइएको रहेछ । विवादको सम्बन्धमा निश्चित ढाँचा मार्फत दिनको लागि फिराद पत्रको ढाँचामा निवेदन गर्ने सो बापत रु १०० रुपैयाँ शुल्क लिने, निस्सा दिने, पहिलो १५ दिनको तारेख तोक्ने, दोस्रोमा ७ दिनको म्याद तोकिने व्यवस्था पनि रहेछ । २०५३ सालमा नगरपालिका घोषणा भएको उक्त नगरपालिकामा २५ जातजातिहरू बस्दा रहेछन् । करिब ५२००० जनसङ्ख्या भएको उक्त नगरपालिकामा १३ कि.मि. सिद्धार्थ राजमार्ग भित्र पर्ने कुरा नगरप्रमुख दिलीप प्रताप खाँडले बताउनुभयो । उहाँले विवाहलाई सम्झौता हो भन्नेहरूका लागि मेलमिलाप गराउन नसकिने र विवाह धारणा हो भन्नेहरूकाबीचमा मेलमिलाप गराउन सकिने भन्नु हुन्छ । उहाँका अनुसार न्याय अदालत हो भने न्यायिक कारबाही स्थानीय तह भित्र न्यायिक समिति र मेलमिलापकर्ताले गर्ने कार्य हो भन्नु हुन्छ ।

स्थानीय तहमा आएका विवादहरूलाई वडा समिति नगर समिति र न्यायिक समितिले गर्ने गरी ३ तहको अवस्था निर्धारण गरिएको रहेछ । नगरपालिकामा गर्भपतन गर्नको निमित्त ९९ जना स्वास्थ्य स्वयंसेविका रहेका र सिङ्गो नगरपालिकामा गर्भपरीक्षण र भ्याक्सिन लगाउने सम्बन्धमा यिनीहरूले नै पिछा गर्ने गर्दछन् । यिनीहरूले नसके स्वास्थ्य उपचौकी, नगर समिति र नगर स्वास्थ्य संयोजकले फलो अप गर्ने गरिन्छ । यसरी फलो अप गर्दा पनि भ्याक्सिन लगाउन नआएमा नगरपालिका टिम नै पुगेर भ्याक्सिन लगाउने गर्दछन् । स्वास्थ्यको सम्बन्धमा मिर्गौला परीक्षणको लागि किटहरूको व्यवस्था गरिएको रहेछ । यस्तो किटको माध्यमबाट कुनै पनि व्यक्तिको मिर्गौलाको अवस्था कस्तो छ भन्ने जानकारी हुन आउँदछ । यदि मिर्गौला खराब हुने चरण दोस्रो चरणमा पुगेको छ भने त्यस्ता व्यक्तिहरूको उपचार सहज हुने डायलिसिसको लागि लाखौँ रुपैयाँ खर्च नहुने अवस्थाहरूको सम्बन्धमा व्यवस्था गरिएको रहेछ । त्यस्तै स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट बचाउन पनि परीक्षणको दायरा बढाइएको रहेछ । यसरी परीक्षण गर्नको लागिसबै नागरिकहरूको वीमाको व्यवस्था गरिएको रहेछ । सक्नेहरूले रु ३५०० को बीमा आफै गर्दछन् भने नसक्नेहरूको मात्र नगरपालिकाले लिएको तथ्याङ्क बमोजिम अति गरिबहरूको लागि आफैले बीमा गरिदिने व्यवस्था रहेछ ।

नेपाल सरकारको नीति बमोजिम क्यान्सर पीडित र मिर्गौला पीडितहरूको लागि बीमाबाट एक लाख र नगरपालिकाको सहयोगमा एक लाखसमेत गरी दुई लाख रुपैयाँ पाउन सक्दछन् साथै त्यस्ता पीडितहरूका लागि रु १०,००० बाटा खर्चको रूपमा नगरपालिकाले उपलब्ध गराउँदो रहेछ । यस्तै ज्येष्ठ नागरिकहरूको हकमा पनि सामाजिक सुरक्षाका धेरै कार्यहरू अगाडि बढाइएको बारे जानकारी भयो । नगरपालिकाले २० वर्षे आवधिक योजना बनाएको रहेछ जुन योजना मार्फत् नगरको वास्तविकता कस्तो हुने भन्ने बारेमा उल्लेख छ । यस्तो योजना बनाउँदा २०७४ को चुनावमा जित्ने सबै प्रतिनिधिहरू, प्रत्यासी सबै प्रतिनिधिहरू, समाजसेवी, लव्धप्रतिष्ठित, बौद्धिक व्यक्तिहरूको उपस्थितिमा गुरु योजना बनाउन पहल गरिएको रहेछ । यस गुरु योजनाले नगरपालिकाको लागि वास्तविक नक्सा बनाउन सफल रह्यो जसका कारण अब आउने प्रतिनिधि जुनसुकै राजनैतिक साेच राख्ने भए पनि त्यसै गुरुयोजना मुताबिक कार्य गर्न उपयुक्त मानिएको देखिन्छ ।

गुरुयोजनाले मुख्य रूपमा ४ वटा पिलर खडा गरेको पाइयो । स्मार्ट सिटी, स्मार्ट भौतिक पूर्वाधार, स्मार्ट आर्थिक वृद्धि र स्मार्ट सुशासन । नगरपालिकाको काम भए नभएको सम्बन्धमा उपभोक्ता, ठेकेदार र सम्बन्धित इन्जिनीयरले नै जबाफदेहिता हुनु पर्ने रहेछ । प्रत्येक वडामा आइटिको लागि बिसिए पास गरेका कर्मचारीको व्यवस्थापन भएसँगै सबै वडा अध्यक्षहरूको साथमा एक एक वटा ल्यापटप र सो ल्यापटपबाट डिजिटल सिग्नेचर, पेपरलेस कार्य गर्नको लागि आवश्यक व्यवस्था गरिएको रहेछ । वडाको सिफारिसदेखि नगरपालिकाबाट दिइने सुविधासम्मका कुराहरूलाई एप्सकै माध्यमबाट अमेरिका युरोपबाट पनि आफ्नो काम सम्पन्न गर्न सक्ने प्रविधि जडान गरिएको रहेछ । घरको सुरक्षातर्फ हेर्दा कुनै नचिनेको व्यक्ति घरमा पुगे बत्ती नबल्ने र एप्सको माध्यमबाट उसको मोबाइलमा घण्टी बज्ने, कुन मान्छे उभिएको छ सो को फोटोसमेत सम्बन्धित व्यक्तिसामु पुगेपछि त्यस्ता व्यक्तिसँग सम्पर्क गर्न सकिने साथै अपराधिक मनोवृत्ति भएका व्यक्तिहरूको पहिचान खुल्न सक्ने भएकोले सुरक्षाकोसमेत प्रविधि जडान भएको अवस्था चित्रण गरियो ।

यस नगरपालिकाले फोहरलाई मोहर बनाउने व्यवस्थाको बारेमा पनि चर्चा रह्यो । वार्षिक ८० लाख भन्दा बढी फोहर वस्तुको प्रशोधनबाटै नगर पालिकाले आम्दानी गर्न सक्ने अवस्था पाइयो । फोहरलाई श्रोतमै छुटयाउन लगाई प्लाष्टिक जस्ता फोहरबाट पुनः प्रयोग गर्ने र सबै भन्दा कमजोर प्लाष्टिकलाई अलकत्रा बनाउन प्रयोग गरी सडक पिच गर्ने कार्यको लागि व्यवस्थापन गरिँदो रहेछ । घरको सेफ्टीटया‌कको फोहरलाई एकीकृत गरी बायो ग्यास निकाल्ने कार्यको लागि व्यवस्था गरिएको बारेमा पनि जानकारी भयो ।

प्युठानमा जस्तै बाँदरले वालिङमा पनि दुःख दिँदो रहेछ तर बाँदरलाई पनि काममा लगाउनको लागि २० वटा बाँदरलाई तालिम दिई कुनै पनि बोट बिरुवाको मुनिरहेको झार उखेल्न लगाउने, फलफूल विशेष गरी सुन्तला टिपी झोलामा राख्ने र बजार क्षेत्रमा रहेको प्लाष्टिक टिप्ने कार्यको लागि प्रयोग गर्ने सोंच रहेछ । यसो गर्दा बाँदरलाई प्रत्येक घण्टामा एक दुई वटा केरा खान दिने । यसो गर्दा एउटा बाँदरको दैनिक खर्च वर्तमान मूल्यको ९० रुपैयाँसम्म पर्दो रहेछ । ज्यामी खर्चमा लाग्ने ठुलो खर्च यस किसिमको कार्यले नगरपालिकालाई बचत गर्न सक्ने व्यवस्था देखियो भने बाँदर लखेट्न पाइप बम र क्रोमोजोम यन्त्र निर्माण गरी बाँदर लखेट्ने व्यवस्था पनि प्रयोग गरिएको पाइयो । नगरपालिकाकै प्राङ्गणमा तीन आयामिक नक्सा राखिएको छ जहाँ नगरपालिका भित्रका सबै टोल, गाउँ, घर, उचाइ, भौतिक सुविधा आदि सबैको बारेमा थाहा पाउन सकिन्छ । वार्षिक बजेट छुट्याउँदा सोही नक्सालाई आधार मानी जुन ठाउँमा जेवस्यक्ता छ सोही आधारमा नै बजेट विनियोजन गर्ने व्यवस्था गर्ने र कसलाई बढी र कसलाई घटी दिने भन्ने सम्बन्धमा कुनै प्रकारको खिचातानी नहुने देखिन्छ।

राजनीति विश्वास हो । विकास जनाधार हो । राजनीतिलाई विकाससँग जोड्यो भने मात्रै त्यसले सार्थकता पाउने हो । कोरा सिद्धान्तको घोकाइले राजनीतिले फड्को मार्न सक्दैन त्यसको प्रयोग नै राजनीतिक सफलता हो । नेपालका धेरै पालिकाहरू मध्ये नयाँ दृष्टीकोणका साथ अगाडि बढेको नगरपालिका मध्ये वालिङ पनि भएकोले उक्त नगरपालिकालाई रोज्न पुगेको भन्दै उपमेयर शान्ता आचार्यले न्यायिक निरूपणको सम्बन्धमा संविधानको अनुसूची ९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भावना र मर्मलाई अनुभव सिकाइका सम्बन्धमा समन्वयात्मक अन्तरक्रियात्मक कार्यक्रम उपलब्धि मूलक हुने भएकोले यस नगरपालिका प्युठान नगरपालिकाको रोजाइमा परेको र प्युठान नगरपालिकाको प्रमुखको निमन्त्रणा समेत उपमेयर आचार्य मार्फत गर्नुभयो । साथै प्युठानको मायाको चिनोको रूपमा मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण पश्चात् मेयर दिलीप प्रताप खाँडले प्युठान नगरपालिकासँग बाइसे राज्यको सिमाना रहेको झिमरुक नदी भएकोले प्युठान नगरपालिकासँग मितेरी साइनो नै उपयुक्त हुने भनी मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।

यो मितेरीले प्रविधि हस्तान्तरणको ढोका खोलेको छ भने दुई नगरपालिकाको मितेरीसँगै मेरो नयाँ वर्षको शुभकामना आम समुदायलाई दिने मौका मिलेको छ ।

अन्त्यमा,
उक्त दिन अन्य गाउँपालिका र नगर पालिकासमेत गरी जम्मा ६ वटा पालिकाहरूले अवलोकन भ्रमण राखेकोले पनि सो नगरपालिकाको कार्य सह्रानीय रहेको देखियो । भ्रमण टोलीमा रहेका सामाजिक अभियन्ताहरू निर्मला पोखरेल, सुन्दरा केसी, इन्द्रमणी पोखरेल, दीपक पौडेल, रामबहादुर पुलामी, आकाश भण्डारी, भगवती खडका, शान्ति पण्डित, विमला घिमिरे, महेश्वरी, रिता, बसन्ती, राधिका, बाबुराम लगायतहरुको सहृदयताका कारण पनि भ्रमण फलदायी रहन पुग्यो । पर्यटकीय सहर पोखरालाई फन्को मार्दै फेवाताल र डेभिजफल्सको जानकारीयुक्त भ्रमण र मनकामनाले जोडेको धार्मिक पर्यटनसमेतलाई जोडाउन सक्नु भएकोमा प्युठान नगरपालिका, न्यायिक समिति र त्यसको नेतृत्व गर्ने शान्ता आचार्य प्रति कृतज्ञ छौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस